• बिहीबार-माघ-२४-२०८१

आहा ! रारा पोखरा गोल्डकप : मच्छिन्द्र क्वाटरफाइनलमा प्रवेश


कास्की, २३ माघ : मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

 

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न खेलमा विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलले मच्छिन्द्रले निराश बनाएको हो । पहिलो हाफको खेल गोलरहित टुङ्गिएकामा खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका शाक्यले फरवार्ड आयुष घलानको पास सदुपयोग गर्दै गोल गरे । 

 

मच्छिन्द्रले खेलको ८१औँ मिनेटमा अग्रता दोब्बर बनायो । विदेशी खेलाडी स्टेफन कामाहाले रक्षक देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिक बललाई हेड गर्दै गोल गरेका हुन् । खेलमा एपिएफ क्लबले पनि गोलका केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । खेलपछि एपिएफका प्रशिक्षक जिवेश पाण्डेले खेलाडीले मौकाको सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । 

 

यसैगरी विजेता टोली मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफ्नो रणनीतिअनुसार नै खेलाडीले खेलेको बताउँदै प्रदर्शनप्रति खुसी व्यक्त गरे । चौबिसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । 

 

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेका रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिए ।
–––

 

 

प्रतिकृया दिनुहोस