• शुक्रबार-माघ-१८-२०८१

आधा दर्जन सचिवहरूको अवकाशको दिन गन्ती

 

काठमाडौं । २०८१ माघ महिनाको २९ गते उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव दिनेश भट्टराई पाँचवर्षे सचिवको कार्याकाल पूरा गरेर सेवा निवृत्त हुने तयारीमा छन् । २०८१ फागुन १२ गते नक्कली भुटानी शरणार्थी काण्डमा दोषी ठहर भएपछि हाल केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेका सचिव टेकनारायण पाण्डे अवकाशमा जाने सूचीमा परेका छन् । त्यसपछि भने स्वास्थ्य सचिव डा. रोशन कुमार पोखरेल अवकाशमा जाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । उनीसँगै सोही मन्त्रालयमा कार्यरत १२औं तहका स्वास्थ्य विज्ञ अतिरिक्त सचिव दीपेन्द्र रमण सिंह पनि अवकाश हुने बताइन्छ ।


स्रोतका अनुसार, २०८१ चैत्र १६ गते सचिव मधुकुमार मरासिनी अवकाशमा जानेछन् । आगामी ०८२ साल बैशाख २ गते हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत सचिव अर्जुन प्रसाद पोखरेल पनि अवकाश हुनेछन् । २०८२ वैशाख २५ गते हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सचिव बिनोद प्रकाश सिंह र वैशाख ३० गते महालेखा नियन्त्रक कार्यालयमा कार्यरत नियन्त्रक सचिव डा.गणेश प्रसाद पाण्डेय अवकाशमा जानेछन् । जेठ २४ गते हाल गण्डकी प्रदेशमा कार्यरत प्रमुख सचिव रघुराम विष्ट र जल तथा शक्ति आयोगका सचिव मधुप्रसाद भेटवाल अवकास हुँदैछन् ।


रिक्त हुने सचिवमा वरिष्ठता मिचेर सचिवमा बढुवा हुन सिनियर सहसचिवहरूले चलखेल तीव्र पार्न थालेको बताइएको छ । तर, यस अगाडि लोक सेवा आयोगले सचिव बढुवामा धर्म नछाडेर वरिष्ठ सहसचिवहरू मध्येबाटै सचिवमा तीन जनाको नाम सिफारिस गर्दै आएको छ । बरू सरकारले चाहिं त्यसरी सिफारिस गरिएका नाममा वरिष्ठता मिचेर कम सेवा  अवधि रहेका जुनियर सहसचिवहरूलाई सचिवमा बढुवा गरेर सिनियर सहसचिवलाई अन्याय गरेको बताइन्छ ।


यस आर्थिक वर्ष अर्थात २०८२ असार मसान्तभित्र प्रशासन समूह अन्तर्गत आधा दर्जन, स्वास्थ्य समूह अन्तर्गत दुई र प्राविधिक हाइड्रो इन्जिनियरतर्फ एक जना सचिवको पद रिक्त हुने भएको छ । प्रशासन समूहतर्फ २०८१ माघ र फागुनमा रिक्त हुने दुई स्थानमा सचिवको बढुवाको लाइनमा लुम्बिनी प्रदेशका कामु प्रमुख सचिव बाबुराम अधिकारी र मधेस प्रदेशका कामु प्रमुख सचिव मदन भुजेलको बढुवा हुने संभावना निश्चित जस्तै रहेको छ । त्यसपछि चैत्र, वैशाख र जेठमा  रिक्त हुने सचिव पदमा बढुवा हुने लाईनमा वरिष्ठ सहसचिवहरुले चलखेल सुरु गर्न थालेको स्रोतले दावी गरेको छ ।


सचिव बढुवाको अग्रपक्तिमा हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेकी चन्द्रकला पौडेल, राजस्व व्यवस्थापन तालिम केन्द्रका प्रमुख शोभाकान्त पौडेल, हाल वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका भुपाल बराल रहेका छन् । तर, चालु आर्थिक वर्षभित्र रिक्त हुने सचिव पदमा बढुवा हुन अहिले देखि नै श्रम मन्त्रालयमा कार्यरत सहसचिव डण्डुराज घिमिरे, खगेन्द्रप्रसाद सुवेदी, शिक्षा मन्त्रालयका सहसचिवहरू कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल, इमानारायण श्रेष्ठले पनि जोडबल गरिरहेको चर्चा छ ।


सहसचिवहरु राजेन्द्रप्रसाद पौडेल, कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, नारायणप्रसाद भट्ट, श्रीकृष्ण नेपाल, प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवर, अर्थ मन्त्रालयमा कार्यरत उत्तरकुमार खत्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव कालिप्रसाद पराजुली, रुद्र सिंह तामाङ, राष्ट्रिय योजना आयोगकी सहसचिव आभा श्रेष्ठ, चक्रबहादुर बुढा, गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य पनि मनसाय राख्दै भनसुनमा लागेको उच्च प्रशासनिक स्रोतले बताएको छ ।


यता, स्वास्थ्य सचिवमा भने १२औं तहकी संगिता कौशल मिश्र, विकास देवकोटा र टंक बराकोटी बढुवा हुने लाइनमा रहेका छन् । आगामी २०८२ जेठमा उर्जा तथा जलस्रोत आयोगका प्राविधिक सचिव मधु प्रसाद भेटवाल अवकासमा जाने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तर्फका सहसचिवहरु दिनानाथ मिश्र, चिरञ्जीवी चटौत र तेस्रो नम्बरमा शहरी विकास मन्त्रालयमा कार्यरत पदम कुमार मैनाली बढुवा हुने सम्भावित सूचीमा रहेका छन । (साँघु साप्ताहिक, २०८१ माघ १४)
 

प्रतिकृया दिनुहोस