• बिहीबार-माघ-१७-२०८१

बुद्ध एयरको घरझगडा राष्ट्र बैंकमा किन छिर्‍यो ? 

 

काठमाडौं । नेपालकै प्रतिष्ठित हवाई कम्पनी बुद्ध एयरमा आन्तरिक किचलो भुसको आगोजस्तै सल्किन थालेको छ । बुद्ध एयरका लगानीकर्ता दाजुभाईवीच सम्पत्ति विवाद बढ्दै गएको छ । अंशबण्डा भइसकेका अमेरिकी नागरिक भाई शिबेन्द्रबहादुर बस्नेत जसको पक्षमा ४० प्रतिशत शेयर रहेको दावी गरिएको छ, उनलाई बुद्ध एयरको सम्पत्तिको हिसाबकिताब नदिएको  भन्दै विवाद बढ्दै गएको छ । विगत ०७५ सालदेखिको हिसाबकिताब नदेखाएर ४० प्रतिशत सेयर सदस्यलाई समस्यामा पारेको दाबी गरिएको छ । अहिले बुद्ध एयरमा ६० प्रतिशत सेयर भने कार्यकारी अध्यक्ष तथा दाजु वीरेन्द्रबहादुर बस्नेतको पक्षमा रहेको छ ।

 

कार्यकारी अध्यक्ष रहेका दाजु वीरेन्द्रबहादुर बस्नेतले बुबा सुरेन्द्रबहादुर बस्नेतको शेषपछिको हिसाबकिताब नै नदिएको भाई पक्षको दाबी रहेको छ । हुन त, भाई शिवेन्द्रबहादुर बस्नेतको पक्षमा पनि बाबुले आफ्नो नामको सेयर दाजुभाईलाई बाँडिदिएका थिए । त्यही सेयर पाएपछि भाई शिवेन्द्रले हिसाबकिताब खोजेका हुन् । तर, दाजु समस्या बढ्दै गएको छ । भाई शिबेन्द्रले पनि पुरानोभन्दा पनि आपूmले सेयर पाएपछिको हिसाब खोजेका हुन् । तर, वीरेन्द्रबहादुर बस्नेत उक्त हिसाबकिताब दिन चाहिररहेका छैनन् । कतिसम्म भने पछिल्ला दिनमा वीरेन्द्रबहादुर बस्नेतले ४० प्रतिशत सेयर सदस्य रहेका समूहलाई हवाई टिकट समेत दिन छोडेका छन् । केही समयअघि ४० प्रतिशत सेयर रहेको समूहमध्ये भाइकी छोरी अर्चना बस्नेतलाई विराटनगर जाने बेलामा टिकट नदिएको खुलेको थियो । 


अहिले उनीहरुको विवाद दाजुभाईको घरभित्रमात्रै सीमित भएको छैन । भाई शिवेन्द्रले न्यायका लागि अदालतको ढोका पनि चहारिरहेका छन । अदालतलले पनि शिवेन्द्रकै पक्षमा फैसलाहरु गरिरहेको छ । तर, ती फैसला कार्यान्वयवन गर्न पनि वीरेन्द्रले अटेरी गरिरहेका छन् । पछिल्ला दिनमा भने शिवेन्द्रले हिमालयन बैंकसहित विभिन्न बैंकबाट लिएको साढे ५ अर्ब रुपैयाँको हिसाबकिताब मागेका छन् । बुद्ध एयरको जहाज खरिद गर्न भनेर लिएको उक्त ऋणमा आफू ४० प्रतिशत सेयरधनीलाई जानकारी नै नभएको र पर्सनल ग्यारेन्टी पनि नभएको भन्दै बैंकमा निवेदन दिएका थिए । बैंक निवेदन दिएर उनले जोखिममा रहेको रकम फिर्ता लिन पनि आग्रह गरेका थिए । यो विवाद बढ्दै गएपछि अहिले नेपाल राष्ट्र बैंकमा पुगेको छ । 


२०८१ पुसको अन्तिम साता शिवेन्द्रले उक्त ऋणको बारेमा छानबिन गर्न नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन् । उक्त निवेदन अहिले डेपुटी गर्भनर निलम ढुंगानाको शाखाले अध्ययन गरिरहेको स्रोत बताउछ । उक्त ऋण रकमबारे राष्ट्रबैंकले अध्ययन थाले पछि वीरेन्द्रले शिवेन्द्रको प्रयासलाई निस्तेज पार्न खोजिरहेका छन् । 


केही साताअघि सम्पन्न साधारणसभामा शिवेन्द्र समूहले सञ्चालक समितिमा शिवानी बस्नेतलाई मनोनित गर्न कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतलाई आग्रह गरेका थिए । तर, वीरेन्द्रले शिवानीको सट्टा उनकै बहिनी देवयानी बस्नेतलाई नियुक्त गरेका छन् । देवयानी बस्नेत चाहिँ शिवेन्द्रकी कान्छी छोरी हुन् तर समूहको निर्णयविपरीत वीरेन्द्र बस्नेतले सञ्चालक समिति बनाएपछि शिवेन्द्रको घरझगडा गराउने प्रयासका रुपमा हेरिएको छ । देवयानीको नाममा ५ प्रतिशत सेयर रहेको छ । (साँघु साप्ताहिक, २०८१ माघ १४) 
 

प्रतिकृया दिनुहोस