• बिहीबार-माघ-१७-२०८१

सांसदको भूमिका खोसेर अध्यादेशबाट मुलुक चलाउन पाइँदैन : पार्टीमा, भ्रष्टाचारी, ठग, बिचौलिया हावी भए...

 

(०३६ सालमा भएको जनमत संग्रहसँगै आफू बामपन्थी आन्दोलनमा जोडिएको दावी उनले गरेका छन् । ०४६ सालमा नेपाली काँग्रेस र बामपन्थी मिलेर गरिएको जनआन्दोलनकै कारण मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएको थियो । त्यसपछि तत्कालीन अन्तरिम सरकारले ०४८ मा पहिलो पटक संसदीय निर्वाचन गरेको थियो । त्यसपछि निर्वाचित नेपाली काँग्रेस नेतृत्वको सरकारले ०४९ सालमा स्थानीय निर्वाचन सम्पन्न गरेको थियो । सो निर्वाचनमा मानन्धर तत्कालीन काठमाडौं नगरपालिकाको १६ नम्बर वडाको अध्यक्ष निर्वाचित भएका थिए । ०५२ सालमा महानगरपालिका घोषणा भएको र ०५४ सालमा सम्पन्न दोश्रो स्थानीय निर्वाचनमा पनि उनी सोही वडाबाट पुन वडा अध्यक्ष निर्वाचित हुन सफल भए । १० वर्ष निरन्तर वडा अध्यक्षको भूमिकामा रहेर उत्कृष्ट कार्य गरेकै कारण मानन्धरलाई नेकपा एमालले ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर ७ बाट टिकट दिएको थियो । उक्त निर्वाचनमा उनले तत्कालीन माओवादीकी नेतृ हिसिला यमीलाई सानदार ढंगले पराजित गर्दै संविधानसभाको यात्रा तय गर्दै संविधान बनाउन प्रभावकारी भूमिका खेलेको उनी दावी गर्छन् । ०७४ मा सम्पन्न आम निर्वाचनमा  पनि उनलाई पार्टीले पुन टिकट दिएको र जनताको मन जितेर दोश्रो पटक उनी संसदीय यात्रा गर्न सफल भएका थिए । यो पटक भने १८ महिना जति उनलाई शहरी विकास राज्यमन्त्री भएर काम गर्ने अवसर मिलेको थियो । प्रतिनिधिसभाका प्रमुख दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर वर्तमान सरकार गठन गरिएको छ । यो सात महिना अवधिको सरकारको काम कारवाही, २०८१ माघ १८ गते शुक्रवारबाट सुरु हुन गइरहेको संसदको हिउँदे अधिवेशनमा सांसदहरुले खेल्नुपर्ने भूमिका, मुलुकको आगामी राजनीतिलगायत विविध विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौंलागाईंले मानन्धरसँग गरेको कुराकानीको सम्पादित अंश : सम्पादक)


० तपाईं लामो समयदेखि राजनीतिमा संलग्न भएकै कारण दुईपटक सांसद र एकपटक राज्यमन्त्री भएर काम गर्ने अवसर प्राप्त गरिसक्नुभएको छ, वर्तमान सरकारको काम कारबाहीलाई कसरी मूल्याङ्कन गर्दै हुनुहुन्छ ?
वर्तमान सरकार कुन अवस्थामा गठन भयो भन्ने कुरा तपाईं हामी सबैले देखिरहेका छौं । राजनीतिक स्थिरता र सुशासनका लागि भनिएता पनि यसमा धेरै उतारचढाव जोडिएको छ नै । राजनीति सम्बन्धी थोरै ज्ञान भएकाहरुलाई यो बारेमा धेरै कुरा बताइरहनु पर्दैन । प्रतिनिधिसभाका सबैभन्दा ठूला दुई राजनीतिक दलहरू यतिखेर मुलुक ठिक ढंगले संचालन भइरहेको दावी गरिरहेका छन् । तर, गठन भएको यो सात महिनाको परिणाम हेर्ने भने सबैभन्दा बढी विकृति विसंगतिमा सरकार जोडिएको प्रष्ट देखिन्छ ।


० त्यस्तो भए, माघ १८ गतेदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ, उक्त अधिवेशनमा सांसदहरूले सरकारका कमी कमजोरीविरुद्ध खबरदारी गर्नका लागि निर्वाह गर्नुपर्ने भूमिकाहरू के के हुन सक्छन् ?
२०७२ साल असोज ३ गतेको वर्तमान संविधान बनेको हो । संविधानलाई कार्यान्वयन र व्यवस्थित गर्नलाई नै ०७४ सालमा आम निर्वाचन सम्पन्न गरियो । सो निर्वाचनपछि नै संसदलाई हामीले हिउँदे अधवेशनमा कानून निर्माण गर्ने र सरकारले बिजनेश दिन थालेको हो । यो अधिवेशनमा २० वटा भन्दा विधेयक संसदमा दर्ता हुँदैछ । त्यसकारण पनि सांसदहरूले भन्दा पनि राजनीतिक पार्टीले यो विषयमा विवेक पु¥याउनुपर्छ भन्ने मलाई लाग्छ । यतिखेर यी विधेयकहरू आवश्यकता हो कि होइन, के कस्ता छन भन्ने बारेमा अध्ययन गर्नको राष्ट्रिय पार्टीहरुले आफ्ना सांसदहरुका लागि प्रशिक्षण दिनुपर्छ । अनि संसदमा उपस्थित दलका जनप्रतिनिधिहरूले यसमा विवेक पु¥याउनुपर्छ । 


० सांसदहरुले के कस्तो किसिमको विवेक पु¥याउनुपर्ला  ?
बिधेयक टेबुल ठटाएर पास भयो मात्र भन्ने होइन । सूक्ष्म ढङ्गबाट अध्ययन गर्दै विधेयकका प्रत्येक पन्नाहरू पल्टाएर देश र जनहितमा छन् कि छैनन्  भन्ने विषयमा गम्भीर हुनु पर्छ । कमजोरीहरू छन् भने सच्याउनका लागि खवरदारी गर्नुपर्छ । यतिखेर नेपाली जनताको मनमा सवै राजनीतिक दलहरु खराब भइसके भन्ने म्यासेज प्रवाह भइरहेको छ । राजनीतिमा लाग्ने नेताहरु सवै खराब हुन भन्ने सन्देश गइसक्यो । त्यसैले यी प्रणालीमै धक्का पुग्ने विषयहरूमा उनीहरुले बेलैमा विचार पु¥याउनुपर्छ । 


सरकारले संसद अधिवेशन बोलाउनु अगाडि नै पाँच वटा अध्यादेश जारी गरेको छ । अध्यादेशबाट मुलुक चलाउने परिवेश नै छैन । जनताले चुनेको संसद छ । संसद भनेको सांसदहरुले आफ्नो विचारलाई सुनिश्चित गर्ने सर्वोच्च निकाय हो । संसद र सांसदको भूमिका खोसेर, संकुचित बनाएर मुलुकलाई अध्यादेशबाट चलाउन पाइँदैन । 


० विगत सात महिनादेखि प्रतिनिधिसभाका प्रमुख दुई ठूला दलहरू नेपाली काँग्रेस र नेकपा एमाले सरकारमा रहेका छन, तरपनि नेपाली जनताले आजका दिनसम्म पनि मुलुकमा सरकार भएको अनुभूति गर्न नसकेको गुनासो गरिरहेका छन, तपाईंलाई के लाग्छ ?
मलाई पनि खासै अनुभूति भएको छैन । सरकारले अवसर पाएर पनि राम्रो काम गर्न सकेको छैन । राज्यस्रोतमा भएका कुनै पनि स्रोत साधनलाई मुलुक र जनताको लागि भनेर प्रयोगमा ल्याउ सकिरहेको छैन । यसको उदाहरण  अन्तराष्ट्रिय विमानस्थलमा गएर हेर्नुभयो भनेप्रष्ट हुन्छ । विदेशी मुलुकमा अध्ययन वा रोजगारीका लागि युवा जनशक्तिहरुको लामले सरकारलाई गिज्याईरहेको छ ।


० विदेश जाने युवाहरुको भिडलाई रोक्न के सरकारले के गर्नुप¥यो त ?
यसलाई रोक्नको लागि स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्छ । ‘हरियो वन नेपालको धन’ भनेर नेपाललाई चिनिन्छ । जलश्रोतमा पनि हामी धनी छौं । झण्डै ९७ प्रतिशत नेपाली कृषिमा  निर्भर रहेका छन् । मधेश भन्नुस् वा पहाड गाईगोरु भैंसी पालन हराएका छन् । आज किसानको खोजी हुन छोडेको छ । उत्पादनसँग जोडिदा हिजोका दिनमा विदेशीलाई अन्न सहयोग गर्ने मुलुक आज छिमेकी मुलुकबाट पचासौं अर्ब रुपैयाँको आयात गरेर उपभोग गर्न बाध्य छ । २ घण्टा खाद्यान्न आयात बन्द गर्दियो भने हाहाकार होला जस्तो भइसक्यो । त्यसैले राजनीतिक स्थिरता सबैभन्दा मूल कुरा हो । हामीले राजनीतिलाई कम्युनिस्ट, कांग्रेसका विचार र सिद्धान्तसँग जोड्नुपर्छ भन्यौ । यो नै गलत छ । म शहरी बिकार राज्यमन्त्री हुँदा कोभिडलगायतका बिश्वव्यापी रुपमा नै विभिन्न समस्याहरू रहेका थिए । तर यतिखेर अवस्था फरक छ । तरपनि वर्तमान शक्तिशाली सरकारले जनताको गुनासोहरू संवोधन गर्न सकिरहेको छैन ।


० भनेपछि मुलुकमा राजनीतिक स्थिरता नभएको कारण समस्याहरु घटनुको साटो बढदै गएका हुन त ?
हो, प्रतिनिधिसभाका दुई ठूला दलहरू त राजनीतिक रुपमा पनि प्रतिस्पर्धी हुन् । आज दुबै दल मिलेर राज्य सत्ता सञ्चालन गर्नु भनेको राजनीतिक स्थिरता छैन भन्ने प्रष्ट संकेत पनि हो ।  त्यसकारण दलको नेतृत्व गर्ने प्रमुख नेताहरुले उमेरको पनि ख्याल गर्न सकेको देखिएन । आफूले गरेका संघर्षदेखि  विचार र सिद्धान्तलाई पनि उनीहरुले मिलाउन सकेनन् । यही कारण प्रमुख राजनीतिक पार्टीभित्र अहम्ताको भावना बढ्दै गएको छ । हामीलाई हिजोको इतिहासले पनि धेरै कुरा सिकाउँछ । हामीले हिजोको दिनमा बाउबाजेले गरेको कुरालाई सम्झिएर मात्र पुग्दैन । त्यो शिक्षालाई हामीले प्राप्त गरेर ग्रहण गर्न सक्नुप¥यो ।  हिजो पार्टी निर्माणको लागि कति दुःख थियो, अहिले यी सबै बिर्सेर तिलाञ्जली दिएकाले भर्खर उत्पादन हुन थालेको फललाई सुई हालेर मोटो बनाए झै पार्टीहरु हुन थालेका छन् । यस्तै कारण पार्टीभित्र वितृष्णा बढेको र राजनीतिप्रति जनताको मन कुँडिएको, भाँचिएको छ । राजनीतिक स्थिरता र सुशासन त केवल नारामा मात्र सीमित छ ।


० वर्तमान सरकार झन्डै दुई तिहाई निकटको छ, तरपनि मुलुकको आर्थिक अवस्था झन कमजोर हुँदै गएको बताइन्छ नि ?
मेरो बालाजुमा अष्टनारायण सिनेमा हल रहेको छ । यहाँ यतिखेर सिनेमा हेर्ने दर्शकहरुको उपस्थिति ज्यादै न्यून छ । यो मेरो सवालमा मात्र होइन, व्यापार, व्यवसाय गर्नेहरूको सटर पनि डाउन छ । न्यूरोड, पुतलीसडकलगायत स्थानको हालत पनि उस्तै छ । शुद्ध राजश्व संकलन हुने शेयर बजार पनि उठ्न सकेको छैन । राजनीतिक दल र सरकारलाई यो विषयले अतिकति पनि छोएको देखिंदैन । उनीहरु राजनीतिलाई माध्यम बनाएर सत्तामा रमाइरहेका छन् ।  राजनीतिक गरेपछि लगानी गर्नु पर्दोरहेनछ । सित्तैमा सहकारीमा जोडिन र अर्बौं अर्ब जनताको बचतमा खेलबाड गर्न मिल्दोरहेछ भन्ने कुरा बिभिन्न घटनाले पनि पुष्टि गर्दै आएको छ । उनीहरुले बिना लगानी सहकारीबाट जति करोड पनि निकाल्न मिल्ने रहेछ । कारबाही नहुने भएपछि आर्थिक अवचलन गर्ने निकाय नै सहकारीलाई बनाइएको स्पष्ट भयो । 


० तपाईंको आशय राजनीति बिना लगानीमा नै चल्ने रहेछ भन्ने हो ?
राजनीतिमा लागेर अलि चलाख र बोल्न जानेपछि सहकारी संस्थाले पनि सजिलै विश्वास गर्ने रहेछ । यो विषय सतहमा आएपनि राजनीति नै फोहोरी झै देखियो । फिल्मी क्षेत्रको कुरा गर्दा पनि केही मानिस बिना लगानी गरिबबाट छोटो समयमा धनी भएको देख्यौं । आखिर राजनीति त फिल्म जस्तो होइन नि † तर, त्यस्तै मान्छे सबैभन्दा राजनीतिक दलको अध्यक्ष, उप–प्रधानमन्त्री र गृहमन्त्रीसमेत सहज रुपमा कसरी बन्छ ? जसको चारवटा पासपोर्ट र नागरिकता छ । ऊ नै भगवान बनेर राजनीतिमा उदाउँछ भने राजनीतिमा विकृति कहाँसम्म छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।


० यही कारण नेपालको परराष्ट्र नीति मुलुकको भन्दा पनि छिमेकी मुलुक अनुकूल हुने गरेको सुनिन्छ नि ?
चीन र भारत शक्तिशाली राष्ट्रहरूको बीचमा नेपाल रहेको छ । त्यसैले छिमेकीसँग निहुँ खोजेर हामीले केही प्राप्त गर्न सक्दैनौं । उनीहरुसँग राम्रो र सुमधुर व्यबहार गर्नुपर्छ । राम्रो व्यवहार भएपछि मात्रै नेपाल र नेपाली सुरक्षित र समृद्ध पनि बन्न सक्छौं । हामी विदेशमा अरुको काम गर्नको लागि मात्र जन्मेको त होइन नि ? आखिर हाम्रो देशमा केही नभएको पनि होइन । सगरमाथा र बुद्ध जन्मेको देश भनेर विश्वले चिनेको छ । प्राकृतिक रुपमा पनि सबैभन्दा बढी सौन्दर्यता हामीमा रहेको छ । यस्तो गर्व गर्न लायक मुलुकमा हामी जन्मेका छौं । तरपनि ज्यान हत्केलामा राखेर पराईको देशमा गएर काम गर्न नेपालीहरु बाध्य र बिवश छन् किन ?


० तपाईंको विचारमा युवा जनशक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउन अव के गर्नुपर्ला ?
यसको लागि उत्पादनमा जोड दिनुप¥यो । पर्यटनको पनि त्यत्तिकै संभावना रहेको छ । बुद्ध जन्मेको मुलुक भनेर अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसार गरेर विदेशीलाई नेपाल भित्र्याउने प्रयास गर्नुप¥यो । नेपाल थुप्रै पर्यटकीय सम्भावना रहेका छन् । बगेर खेर गइरहेको हिमाल र तराईको पानीलाई मिनिरल वाटर उत्पादन गर्दै त्यही बराबरको मू्ल्यमा निर्यात गर्नसक्ने क्षमता हामीसँग छैन । अझ सांस्कृतिक र धार्मिक आस्थासँग जोडिएका धेरै विषयहरु छन् । ती कुराहरूलाई पनि जोड दिनुप¥यो । मै हुँ भन्ने राजनीतिक दलहरू पक्ष र विपक्षमा उभिएर कुद्न थालेका छन् । सवै राजनीतिक दल एक ठाउँमा उभिएर, राजनीतिक अस्थिरता हटाएर र छिमेकीहरूसँग हातेमालो गर्दै अगाडि बढेको खण्डमा पनि माथि उल्लेखित समस्याहरु बिस्तारै हल हुँदै जानेछन् ।


० तर, हरेक सरकारले पर्यटकीय गन्तव्यको खोजी र भित्र्याउनका लागि पहल गरेको बताउँदै आएपनि उल्लेखनीय परिणाम देखिएको छैन किन ?
यसमा सत्यता छ । टेक्नोलोजीको जमानामा व्यक्तिको हात हातमा यतिखेर मोबाइल छन् । यसको सदुपयोग गरेर सञ्जालमा जोड्ने हो भने धेरै काम गर्न सकिन्छ । चाइना, थाइल्यान्ड र हङकङलगायत मुलुकले अन्य देशबाट  आएका पर्यटकहरूलाई घुमाएर मात्रै पनि राम्रै आम्दानी गरेका छन् । चाइनाको ग्रेटवालमा चढ्नको लागि थुप्रै रकम खर्च लाग्छ । चीन, भारत आएका पर्यटकलाई नेपालको हिमाल पर्वतलगायत सौन्दर्यहरू भिजिटको लागि ट्रान्जिट पोइन्टको रूपमा प्रयोग गर्न सकियो भने आर्थिक हिसावले ठूलो फड्को मार्न सकिनेछ । कमसेकम दुई दिन उनीहरुलाई नेपालमा राख्न सकियो भने पनि राम्रो आम्दानी गर्न सकिन्छ । अनि मुलुक संचालनको लागि ठूलो सहयोग मिल्न सक्छ । 


० यसतर्फ निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल र काठमाडौँ महानगरपालिकामा ०७९ को स्थानीय तहको निर्वाचनमा चुनाव जितेर बाजी मारेका जनप्रतिनिधिहरुको पनि किन ध्यान नगएको होला ?
उनीहरु जनताको मन जित्ने भन्दा पनि पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णाका कारण उदाएका हुन् । यो विषयलाई संसदका ठूला दलले अझै ख्याल गरेका छैनन् । अवका दिनमा राजनीति गर्नेहरुले सिद्धान्त र विचारसँगै उमेरलाई जोड्न सक्नुपर्छ । यदि उमेर जोडिएन भने सिद्धान्त र विचार  एकातिर हुँदा जनतामा निराशा बढ्दै गएको छ । ठूला नेताहरुलाई मुलुकको राजनीति भन्दा पनि पद नै चाहिएको छ । मुलुकमा लगभग ६५ प्रतिशत वामपन्थी विचार बोकेका मानिसहरू छन् । उनीहरु हिजोका दिनमा गरिब र समानताको कुरा गर्दै समाजवादको व्याख्याकर्ताहरू पनि हुन् । तर, आज उनीहरु नै बढी सुबिधाभोगी भएका छन् । अहिलेको अवस्था हेर्दा लाग्छ धनीहरू कम्युनिष्ट पार्टीमा आवद्ध भएको देखिन्छ ।

 
० तपाईं वडा अध्यक्षदेखि राज्यमन्त्रीसमेत हुनुभयो, त्यसबखत आफूले गरेका कामको मूल्यांकन कसरी गर्नुहुन्छ ?
मेरो बारेमा काठमाडौंको सात नम्वर क्षेत्र र १६ नम्बर वडाको बासिन्दाहरुसँग तपाईंले सोध्न सक्नुहुनेछ । विकास निर्माणका सवालमा म ०४९ देखि ०६० सम्म वडा अध्यक्ष र ०७० देखि ८० को दशकभित्र सांसद र राज्यमन्त्री भएको बखत सडक चौडा गर्नेदेखि लिएर, पानी, बिजुली, स्वास्थ्य र  शिक्षाको क्षेत्रमा धेरै उल्लेख गर्न लायक सुधार गरेको छु । यो मौका मलाई नेकपा एमाले पार्टीले दिएको हो । तर, यतिखेर बिचार र सिद्धान्तको कुरा गर्नेहरू नै अहिलेको परिवेशमा निकै पछाडि पर्दै गएका छन् । सहकारी, पासपोर्ट काण्डमा संलग्नलाई दुई÷दुई पटक जनताले आँखा चिम्लिएर भोट दिए किन ?


० तपाईंको आक्रोश त आम निर्वाचनमा नेकपा एमालले टिकट नदिएकोप्रति झल्किन्छ नि ?
विचार र सिद्धान्तको कुनै लगाव छैन भनेर मैले भनिसकें । राजनीतिक दलले पनि हाम्रो कुरा सुन्न छोड्यो । यदि विचार र सिद्धान्तको कुरा गर्ने हो भने  ०७९ को आम निर्वाचनमा काठमाडौँबाट जित्ने सबैभन्दा अग्रपंक्तिमा मेरो नाम थियो । ७ नम्बर क्षेत्रको जनतालाई सोध्नु भए पनि थाहा हुन्छ । तर, पार्टीको नीति नै हामीलाई माइनस गर्दै नयाँ दललाई कसरी संसदमा पु¥याउने भन्ने खालको व्यवहार देखियो । यसलाई हराएपछि म पार्टीमा ठूलो हुन्छु भन्ने भ्रम पैदा गरियो । ‘बाछो खानेले माउ पनि खान्छ’ भन्ने सिद्धान्त परिमार्जन गरियो । आखिर म त बाछो हुँ, आम निर्वाचनको परिणामले माउ पार्टीलाई कमजोर बनाइदियो । पार्टी नेतृत्वको यस्तै रवैया रहिरहेको खण्डमा आगामी दिन झन कस्तो होला, त्यो समयले नै बताउँला ।


० तपाईंको भनाई पार्टीको बलियो जगलाई नेतृत्वले बुझेर टिकट नदिंदा धुलीसात भयो भन्ने हो ?
हो । आफ्नो पार्टीको बलियो जगलाई भत्किन दिन हुँदैन थियो । राजनीतिमा इमान्दारिता र नैतिकता कायम राख्नुपर्छ । माउलाई सबै चल्ला छोपेको जस्तो लागेको थियो । तर, चिलले उडाएर लगेको पत्तै भएन, गत स्थानीय र आम चुनावी परिणामले काठमाडौं उपत्यकाको हालत त्यही भयो ।  माउले  सँधैंभरी चल्ला छोपेर राख्न पनि सक्दैन । त्यसकारण पार्टीमा इमान्दार, नैतिकवान कार्यकर्ता भन्दा पनि ठग, भ्रष्टाचारी, बिचौलिया, कमिशनखोर र अपहरणकारीहरूलाई  जबसम्म प्रश्रय दिइन्छ, परिणाम राम्रो आउँदैन । उनीहरुलाई जबसम्म पार्टीमा प्रतिबन्ध लगाउन सकिन्न, तबसम्म हामी जस्तो इमान्दार कार्यकर्ताहरु ओझेलमा परिहनुपर्नेछ ।


० एमाले पार्टीले गत निर्वाचनमा गलत निर्णय गरेको कारण कमजोर परिणाम आएकोमा तपाईंको चिन्ता हो ?
विगतमा काठमाडौँ जिल्लाका ११ वटामध्ये सातवटा नगरपालिका एमालेले जितेको थियो । कीर्तिपुर नगरपालिकामा गएको माघ १६ गते सम्पन्न उपनिर्वाचको परिणाम हेर्नुसन् एमाले जिरो छ । कीर्तिपुर भनेको राजनीतिको उद्गमस्थल हो नि । साँखुको अवस्था पनि त्यस्तै देखियो । पार्टीले सिद्धान्त र विचारप्रति इमान्दार कार्यकर्तालाई टिकट नदिएर चाकडीमा रमाउनेलाई टिकट दिनुको परिणाम यस्तो दुर्गति भोग्नु परेको हो ।


० ०७९ मा तपाईंलाई बामदेव गौतम निकट भएकै कारण टिकट नदिइएको भनिन्छ नि ?
मैले टिकट नपाएपछि पार्टीको पोजिसन कमजोर हुँदैछ भनेर धेरै  मिडियामा बोलेको थिएँ । भ्रष्टाचारमा रमाएका र राजनीति नै नबुझेकालाई पार्टीले  टिकट दिएपछि मतदाताले कहाँ जिताउछन् ? खराबलाई टिकट नदिउँ भन्ने मेरो धारणा र मान्यता रहेको थियो । मैले नैतिक रुपमा पार्टीलाई कुनै धोका दिएको छैन । म १० वर्ष वडा अध्यक्ष भएर काम गर्दा अतिरिक्त लाभ र कसैको एक रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको थिइन । आखिर जागिर खाएर रिटायर्ड भएका, वडामासमेत कसैलाई मन नपर्ने र सांसद अपहरण केशमा जोडिएका व्यक्तिलाई टिकट दिएपछि चुनावी परिणाम के आयो ? गत आम निर्वाचनमा काठमाडौंमा कृष्णगोपाल श्रेष्ठ पनि झण्डै हारिसकेक थिए ।


० त्यसोभए काठमाडौं महानगरको चुनावमा लोकप्रिय उम्मेदवार उठाउँदा किन एमालेले हारेको त ?
सिद्धान्त र  विचारसँग नजोडिएको व्यक्तिलाई टिकट दिएकोले गर्दा महानगरपालिकाको मेयरमा हामीले हात धुनुर्‍यो । जिल्ला अधिवेशनको कुरामा मैले अध्यक्षको दावी गरेको थिएँ । जो अहिले अध्यक्ष हुनुहुन्छ,  उहाँको कमजोरी म दैनिक रुपमा एक एक पेज निकाल्दिन सक्छु । उहाँको उद्गमस्थल कहाँ हो, के के गर्नुहुन्थ्यो सबै एकसे एम भन्दिन सक्छु । तर, मेरो विषयमा उनले एउटा कमजोरी देखाउन चुनौती दिन्छु । आखिर मेरो मूल्याङ्कन किन गरिदैन ? अहिले तपाईंसँग अन्तर्वार्ता दिइरहेको छु । यो अन्तर्वार्ता त कमसेकम धेरैले पढ्छन् । तर, केन्द्रीय कमिटीको बैठकले गरेका कतिपय निर्णयहरु नै बाहिर आउँदैनन् ।


० तपाईं १८ महिनाजति राज्यमन्त्री पनि हुनुभयो, मन्त्री हुँदाको अनुभव थोरै बताइदिनुस् न  ?
उपत्यका भित्रका १८ वटा नगरपालिकाको फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको बन्चरे डाँडा हो । म मन्त्री नभएको भए सायद त्यो बन्दैन थियो । मैले त्यो ठाउँको बारेमा निकै अध्ययन गरेको थिएँ । यतिसम्मकि ल्याण्डफिल्ड साइटको लागि आवश्यक उपकरणहरु कोभिड महामारीका कारण उपलब्ध हुन नसक्दा भारतबाट प्लेनचार्टर गरेर ल्याएको थिएँ ।  यदि काठमाडौंको मेयर पदमा टिकट पाएर जित हासिल गरें भने ६ महिना भित्र फोहोर व्यवस्थापन गर्ने मेसिन भित्र्याएर गर्दिन्छु भनेको पनि थिएँ । त्यसपछि रासायानिक मल आयात गर्न नपर्ने अवस्था ल्याउँछु भनेको थिएँ ।  बिहानदेखि बेलुकासम्म घाम लाग्ने स्थानमा सोलार जडान गरी त्रिशुलीको ग्रेडमा जोड्न सकिन्थ्यो ।

 

टोखा–छहरे सुरुङ मार्गको कुरा पनि म मन्त्री भएको बखतमा चलेको हो । टुकुचाको उत्खनन्का लागि २० करोड बजेटको योजना मैले गरेको थिएँ । विकासको नमुना टुकुचालाई बनाउँछु भनेर १२ मिटरको बनाउने लक्ष्य राखेको थिएँ । यीलगायत धेरै योजना तर्जुमा गरेपनि १७ महिनापछि पदबाट हट्नु परेको थियो । जसले गर्दा पूरा हुन सकेन । अझै पनि भन्छु फोहोरमैला व्यवस्थापन गर्ने मेसिन सरकारले किन्न सक्दैन भने  बरु चन्दा उठाएर भएपनि भारतबाट खरिद गरेर ल्याउँछु भन्ने हिम्मत मसँग छ । (साँघु साप्ताहिक, २०८१ माघ १४)
 

प्रतिकृया दिनुहोस