• शुक्रबार-माघ-१८-२०८१

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न

बर्दिबास . महोत्तरी जिल्लाको बर्दिबास र नवलपरासी जिल्लाको हात्तिखोरस्थित राष्ट्रिय सेवा दल (NCC) तालिम शिक्षालयमा २०८१ माघ १८ गते सम्पन्न भएको  छ । सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोह विशेषत: राष्ट्रिय सेवा दलको महत्व र योगदानलाई उजागर गर्दै सम्पन्न भएको हाे ।

बर्दिबासस्थित मध्य पूर्वी तालिम शिक्षालयमा आयोजित समापन समारोहमा  रक्षा मन्त्री मानवीर राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए । समारोहमा उनले सफलतापूर्वक तालिम पूरा गरेका क्याडेट छात्रछात्रालाई बधाई दिँदै भने, "राष्ट्रिय सेवा दल तालिम युवाहरूलाई अनुशासित, नेतृत्ववान, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक बनाउने उद्देश्यले सञ्चालन भइरहेको छ।" उनले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाउने कार्यमा राष्ट्रिय सेवा दल तालिमले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे।

रक्षा मन्त्रीले तालिममा प्राप्त सैद्धान्तिक र व्यवहारिक ज्ञानले क्याडेट छात्रछात्रालाई भविष्यका चुनौतीहरूलाई सहजै सामना गर्ने क्षमता प्राप्त हुने विश्वास व्यक्त गरे। यसरी तालिम प्राप्त क्याडेटहरूले भविष्यमा समाजमा आफ्ना कर्तव्य निभाउन र नेतृत्व प्रदान गर्न सक्षम हुने बताएका थिए ।

त्यसैगरी, नवलपरासी स्थित मध्य तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल प्रमुख अतिथि थिए । उनले युवा क्याडेटहरूलाई राष्ट्रियता र एकतामार्फत मातृभूमिप्रति समर्पित र कर्तव्यनिष्ठ नागरिक बन्न प्रेरित गरे । यस अवसरमा उनले NCC Alumni Association Nepalलाई थप व्यवस्थित र प्रभावकारी बनाउनको लागि सहयोग गर्न प्रतिबद्धता जनाए।

समारोहमा कुल १०८० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् । राष्ट्रिय सेवा दलका निवर्तमान महानिर्देशक सुरेश कुमार कार्कीकाे विशेष याेगदान र सक्रियताले यस वर्षमा कुल ७,७०४ जना क्याडेटहरूले राष्ट्रिय सेवा दलका सिनियर डिभिजन र जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् । २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलले हालसम्म जम्मा ८२,१८४ क्याडेटहरूलाई तालिम प्रदान गरेको छ।

 

समारोहमा राष्ट्रिय सेवा दलका निवर्तमान महानिर्देशक एवं उपरथी(अप्रा)सुरेश कुमार कार्की र  पूर्व कार्यकारी महानिर्देशकहरू, रथीबृन्द, अधिकृतहरू, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय निकायका प्रमुख/प्रतिनिधिहरू, र अभिभावकहरूको उपस्थिति रहेकाे  थियो ।

 

समापन समारोहमा दिइएको सम्मान र समर्पणभावले क्याडेटहरूलाई आगामी दिनमा एक जिम्मेवार र प्रेरणादायक नागरिक बन्न थप उत्साहित बनाउने विश्वास गरिएको छ।

 

 

 

 

प्रतिकृया दिनुहोस