• शुक्रबार-माघ-१८-२०८१

क्रिप्टो करेन्सीको कारोबार गरेर तीन अर्ब ठगी, यी हुन् ‘मास्टर एजेन्ट’

 

काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ । 

 

नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो । 

 

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरा रहेका छन् । कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने डंगौरा गिरोहका ‘मास्टर एजेन्ट’ रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए । पक्राउ पर्ने अन्यमा कैलाली बर्दगोरिया गाउँपालिका-६ कै २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ छन् । 

 

यसैगरी, दोलखा भीमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने १९ वर्षीय आश्विन चौलागाईं, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं-३१ नयाँ बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, बिहार भारत साहेवगञ्ज घर भई काठमाडौं-२५ बस्ने २७ वर्षीय रोशन कुमार र भारत बिहार पूर्वी चम्पास बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् ।

 

यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको बोगटीले बताए । यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको बोगटी बताउँछन् ।

 

पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरिरहेको दुई थान कम्प्युटर, १३ थान मोबाइल प्रहरीले बरामद गरेको छ । यस्तै, नगद पाँच लाख पचास हजार र विभिन्न व्यक्तिको नाममा जारी भएको बैंकको चेक १९ थान बरामद भएको छ । ‘उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको छ,’ बोगटीले भने । 

 

विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो।  प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्‍याउँथ्यो । 

 

यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो । ‘त्यसरी आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाएर साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ,’ बोगटीले भने, ‘उनीहरूको रकम रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ ।’

 

अनलाइन जब भन्दै खोल्न लगाइएका डिजिटल वालेटहरू आफूले प्रयोग गरेर प्रयोग गरेबापत यो समूहले निश्चित रकम नै दिने गरेको अनुसन्धानमा खुलेको छ । ‘यस्ता खाताहरूमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टो करेन्सी खरीद-बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने । 

 

ठगी गर्ने समूहले समानान्तर बैंकिंङ कारोबार गरी मानिसहरूको आवश्यकतानुसार नेपालभित्र र बाहिर डिजिटल/क्रिप्टो करेन्सी, गेम पोइन्ट्स एवम् भौतिक मुद्रासमेत कारोबार गर्ने गरेको खुलेको छ । 

 

यस्तै, विदेशमा रहेका नेपालीहरूले पैसा नेपाल पठाउँदा गैरबैंकिङ माध्यमबाट पठाउँदा कर तथा शुल्क तिर्नु नपर्ने र थप रकम समेत फाइदा हुने प्रलोभनमा पारेर समूहका एजेन्टमार्फत् रकम लिने र नेपालमा रहेका नातेदारहरूको खातामा जम्मा गरिदिने गरेको पाइएको छ। 

 

पक्राउ परेकाहरूलाई ठगी तथा राष्ट्र बैंकको अभौतिक वस्तुको कारोबार गर्न नमिल्ने कसुरमा अनुसन्धान थालिएको छ । छिमेकी मुलुक भारतलगायत अन्य केही देशमा क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ । नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ । पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको वर्षौं भयो तर अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन । 

 

क्रिप्टो अर्थात् गुप्त र करेन्सी अर्थात् मुद्रा हो। शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो । क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ ।

 

क्रिप्टो करेन्सी गैरकानुनी रहेकाले त्यसबाट कसैलाई फाइदा नै भए पनि उपभोक्ता ठगिने सम्भावना अत्यधिक रहेको प्रहरी बताउँछ । ‘एप वा कोइनमार्फत् डलर खरिद गर्न सक्ने र तुरून्तै अर्कोलाई महंगोमा बेच्न सक्ने, कानुनी दायित्व पनि पूरा गर्नु नपर्ने भएकाले धन कमाउने आशमा हिँडेकालाई फाइदा छ,’ बोगटी भन्छन् ।

 

 

प्रतिकृया दिनुहोस