काठमाडौं, ७ माघ : आजबाट एकमहिना लामो स्वास्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म व्रत बस्ने यो पर्वमा महादेव र श्रीस्वस्थानी देवीको पूजा, आराधना र महात्म्य वाचन गर्ने प्रचलन रहँदै आएको छ ।
आजबाट सुरु भएको व्रत एकमहिनासम्म निरन्तर चलिरहन्छ र माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गरिन्छ । महिनाभरि नै विभिन्न पूजासामग्री लगायत विभिन्न प्रकारका फूल, जनै, सुपारी, पान, धूपबत्ती, पक्वान्न नैवेद्य एवम् विभिन्न मौसम अनुकूलका फलफूल चढाएर श्री स्वस्थानीको विशेष पूजा गरिन्छ ।
श्रीस्वस्थानीलाई चढाइएका १ सय ८ रोटी, पान लगायतका प्रसाद मध्ये ८८ वस्तु पति, छोरा, मित छोरा र मित छोरा पनि नभए नदीमा बगाउने किंवदन्ती रहँदै आएको छ ।
यो व्रतको अवधिभर विशेषतः काठमाडौंको साँखुमा रहेको शालीनदीमा विशेष मेला र भीड लाग्ने गर्दछ । विभिन्न पुराणहरुमा स्वस्थानी व्रत र स्नानको महिमालाई दर्शाइएको छ ।



