• बुधबार-माघ-९-२०८१

गोकर्णमणि दुवाडी असफल भएपछि नयाँ गृह सचिवको खोजी ?

 

काठमाडौं । गृह सचिव गोकर्णमणि दुवाडी मन्त्रालय सञ्चालनमा सफल हुँदै गएको गुनासो बाहिर आएको छ । यसैकारण गृहमन्त्री रमेश लेखकले नयाँ सचिवको खोजी गर्न सुरु गरेको जानकारी स्रोतले दिएको छ । डेढ वर्ष लामो समय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव रहेको बखत उनले खरिदार, सुब्बा, अमिन र सर्वेक्षकसँग सानो  तहकोे सरुवामा समेत स्वार्थअनुकूल चासो दिएको भनेर उनी निकै आलोचित हुन पुगेका थिए । यिनै सचिव दुवाडीलाई मन्त्री लेखकको भन्दा पनि बिचौलियाको जोडबलमा गृह मन्त्रालयमा भित्र्याइएको थियो ।


तर, उनले मन्त्री लेखकको स्पिड र लयमा मन्त्रालय सञ्चालन गर्न नसकेको गुनासाहरु बाहिर आएका छन् । तरपनि, मन्त्री लेखकको चाहनाविपरीत प्रधानमन्त्री कार्यालयको अरुचीका कारण दुवाडी हट्ने सूचीमा दर्ज भइसकेका छन् । यही कारण गृहमा अनुभवी र क्षमतावान सचिवको खोजीमा प्रधानमन्त्री कार्यालय लागेको स्रोतले दावी छ ।


सचिव दुवाडीले सामान्य कर्मचारीहरूको सरूवा पनि समयमा गर्न आलटाल गर्ने गरेको गुनासो मन्त्री लेखक हुँदै प्रधानमन्त्री कार्यालयसमक्ष पुगेको स्रोतले बताएको छ । सचिव दुवाडीले मन्त्रालयका महाशाखा प्रमुख र विभागका महानिर्देशकहरूसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासाहरु बाहिर आएका छन् ।

 

शाखा अधिकृतदेखि, सहायक प्रमुख जिल्ला अधिकारी, इलाका प्रशासक, प्रमुख जिल्ला अधिकारी, विभागका निर्देशक, उपमहानिर्देशकको सरूवा व्यवस्थित ढंगले गर्न नसकेको महसुस मन्त्री लेखक स्वयम्ले पनि गर्दै आएको गृह स्रोत बताउछ ।


 मन्त्री लेखकको सल्लाह बमोजिम नै नेपाली कांग्रेस निकट सचिवलाई मन्त्रालयमा भित्र्याउनका लागि गोप्य ढंगले प्रधानमन्त्री कार्यालयले तयारी गरिरहेको बुझिएको छ । आफू अनुकूलको सचिवलाई मन्त्रालयमा भित्र्याएर परिणाम देखिने र नागरिकले अनुभूति गर्नेगरी गतिविधि संचालन गर्ने योजनामा मन्त्री लेखक रहेको स्रोत बताउछ । 


संसदका प्रमुख दुई दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार गठन भएको ६ महिना बित्दा पनि नागरिकले सेवा प्रवाहमा मुलुकमा सरकार भएको अनुभूति गर्न सकिरहेका छैनन् । झण्डै तिहाई निकट सरकारले यो अवधिमा नागरिकलाई राहत पुग्नेगरी खासै उल्लेखनीय सेवा दिन नसकेको भन्दै सत्तारुढ दलका नेताहरुले नै सरकारविरुद्ध खबरदारीका साथै आलोचना गर्न थालेका छन् ।

 

७७ वटै जिल्लामा प्रत्यक्ष रुपमा नेटवर्क रहेको गृह मन्त्रालयको कामले गति नलिएको कारण सरकार सुस्ताएको गुनासो मात्र बढेका छैनन्कि, मुख्य दुई ठूला राजनीतिक दलको नेतृत्व नै आलोचित हुन पुगेको छ । यिनै विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्री र मन्त्री लेखकले दवाडीलाई सरुवा गरेर नयाँ सचिव भित्र्याउने तयारी गरेको जानकार स्रोत बताउँछ ।

 

मन्त्रालयमा भित्रिने संभाबित सचिवको सूचीमा ०८१ पुष २६ गते शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा हुत्याइएका मुकुन्द प्रसाद निरौला पहिलो नम्वरमा चर्चामा छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्यातर्फका सचिव हरिप्रसाद मैनाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजकुमार श्रेष्ठ र हाल उद्योग सचिव रहेका कृष्णबहादुर राउतमध्ये कुनै एक मन्त्रालयमा भित्रिनसक्ने चर्चा छ । माथि उल्लेखितमध्ये पहिलो रोजाइमा सचिव निरौला रहेको स्रोतको दावी रहेको छ ।


तर, प्रशासन सञ्चालनमा काविल र अब्बल भएपनि निरौलाको गृह प्रशासनको अनुभव भने कम रहेको बताइन्छ । छिटो निर्णय गर्ने, निर्णय गरेसँगै पछि नहट्ने र कार्यान्वयन गरी छाड्ने, सबैसँग सहज भेटघाट र गुनासा सुनेर समाधान गर्ने उनका राम्रा गुणहरु रहेको बताइन्छ ।

 

विगतमा बागमती प्रदेशमा डेढ वर्ष प्रमुख सचिव, त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन र श्रम सचिवको जिम्मेवारी उनले संहालीसकेका छन् । नेपाली काँग्रेस निकट रहेका सचिव निरौलालाई मन्त्री लेखकले गृह सचिवको जिम्मेवारीमा भित्र्याउलानकि, अरूलाई नै रोज्छन् त्यो भने समयले नै बताउला । 


यसअघि गृह सचिव भइसकेका र भरखरै महालेखा नियन्त्रकको कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको बिनोदप्रकाश सिंह पनि भेगीय हिसावले पनि मन्त्री लेखकका लागि उपयुक्त रोजाईंमा पर्न सक्छन् । तर, गृहसचिव रहेको बखत नै एकनारायण अर्याललाई मुख्यसचिवमा बढुवा गरेपछि सचिव सिंहको गृहमा भित्रिने चर्चा भने नचलेको होइन ।

(साँघु साप्ताहिक, २०८१ माघ ७) 
 

प्रतिकृया दिनुहोस