• बुधबार-माघ-९-२०८१

'कमजोर विद्यार्थी आन्दोलन सशक्त तुल्याउन मेरो उम्मेदवारी'

 

धनगढी । नेकपा माओवादी केन्द्र निकट अनेरा स्ववियु (क्रान्तिकारी)को २३औं सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

 

निर्वाचन नजिकिएसँगै नेतृत्वका आकांक्षी युवा नेताहरूको दौडधुप तीव्र बढिरहेको छ । क्रान्तिकारीको भावी अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा ६ जना देखिएका छन् । उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल, योगेन्द्र बुढा र विश्वमणि थापाले अध्यक्षको दौडमा देखिएका हुन् ।

 

यहीबीच अन्य पदका प्रत्याशीले पनि आफ्नो दौडधुप बढाएका छन् । डोटीका प्रकाश जैसी सचिव पदका प्रत्याशी हुन् । उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्ना एजेन्डा अगाडि सारेका छन् । यस निर्वाचनबाट शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको हकहितमा थप काम गर्न आफूले सचिवमा उम्मेदवारी दिएको जैसीले बताए ।

 

'विद्यार्थी आन्दोलन पछिल्लो समय कमजोर बन्दै गएको छ । नेताहरू विद्यार्थीका समस्याप्रति त्यति गम्भीर देखिनु हुन्न । विद्यार्थी आन्दोलनलाई पहिलेकै गतिमा उभ्याउनु हाम्रासामू प्रमुख चुनौतीका रूपमा छ । यसलाई ऊर्जाशील तुल्याउन मैले सचिवको दाबी गरेको हुँ । पदाधिकारीमा रहेर देशभरका विद्यार्थीको हितमा काम गर्न सकिने विश्वास ममा छ,' उनले भने ।

 

उनले शिक्षा र स्वास्थ्य सबैका निम्ति निःशुल्क हुनुपर्ने र त्यसलाई विद्यार्थी आन्दोलनका माध्यमबाट सरकारलाई सशक्त दबाब दिइने बताए । 'एक दशकभित्र हामीले स्वास्थ्य र शिक्षालाई पूर्णरूपमा निःशुल्क गर्न सक्नुपर्छ । नत्र शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक रूपान्तरण सम्भव हुँदैन,' उनले भने । उनले अहिले बाहिर जाने युवा जनशक्ति पनि ठूलो रहेकाले त्यसलाई रोक्न सक्नुपर्ने बताएका छन् । आफ्नो देशको दक्ष जनशक्तिको क्षमता देश निर्माणमै खर्चिनुपर्ने उनको धारणा छ ।

 

युवालाई विदेश पठाउने नभई युवाले उत्पादन गरेका बस्तु निर्यात गरेर देशले आम्दानी गर्न सक्नुपर्ने जैसी बताउँछन् । 'म डोटीमा जन्मिएको मान्छे। मैले यहाँ बसेर जतिसुकै कुरा गरेर पनि हुँदैन । परिवर्तनका लागि मूल धारको राजनीतिमा आउनैपर्छ । त्यसैले मेरो उम्मेदवारी सचिवमा हो । अपेक्षा छ, सबैको साथ पाउने छु,' उनले भने । उनले आफूले आफू सधैँ विद्यार्थीको माझमा रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

 

डोटीको केआईसिंह गाउँपालिका-६ फलेडीमा घर भएका जैसी २०६९ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनी अखिल क्रान्तिकारीको २०६९ सालमा गाउँकै देवस्थल माविमा अध्यक्ष भएका थिए ।

 

त्यस यता उनी २०७१ सालमा दिल्पेस्वर उच्च माविमा इकाई कमिटी अध्यक्ष भए। २०७१ सालकै ५औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी निर्वाचित भएका थिए । २०७३ सालमा भएको स्ववियु निर्वाचनमा उनी डोटी बहुमुखी क्याम्पसमा सहसचिवमा विजयी भए ।

 

त्यसपछि एमालेसँग पार्टी एकता विद्यार्थीको डोटी जिल्ला कार्यालय सदस्य भएर उनले काम गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विगठन गरेपछि आन्दोलनलाई गति दिन प्रकाशलाई अखिल डोटीको सहसंयोजकको जिम्मेवारी दिइएको थियो ।

 

२०७७ सालमा उनी अखिलको जिल्ला संयोजक भएका थिए । जिल्लाका सबै क्याम्पस र विद्यालयमा इकाई कमिटी गठन गर्दै उनले संगठनलाई गति दिएका थिए । उनको सक्रियताले ७औं जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत अखिलको जिल्ला अध्यक्षमा चयन भएका थिए। उनकै नेतृत्वमा ८औं जिल्ला सम्मेलन भएकोमा उनी हाल केन्द्रीय सदस्य छन् ।

 

 

प्रतिकृया दिनुहोस