• बुधबार-पौष-२४-२०८१

कांग्रेसका तीन ‘राजकुमार’हरूको रहर...!

 

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनको मिति तय गरेको छैन । केन्द्रीय कार्यसमिति बैठक कहिले बस्छ भन्ने टुंगो छैन । महाधिवेशनको कुरा त अहिले औपचारिक रुपमा छलफलमा आउने कुरा नै भएन । तर, कांग्रेसका नेताहरु भने आन्तरिक सघर्षमा जुटेका छन् । विभिन्न समूह बनेर नेताहरु देश दौडाहामा निस्केका पनि छन् । 


देशदौडाहामा निस्कन नसकेका नेताहरु भने काठमाडौंका कोठाचोटाको छलफलमा जुटेका छन् । संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्ने कसरतमा डा. शेखर कोइराला देश दौडाहमा लागेका छन् । उनलाई काउन्टर गर्नेगरी अर्को नेता देश दौडाहामा निस्केका छैनन् तर काठमाडौंमा छलफलमा भने जुट्न थालेका छन् । त्यही क्रममा कांग्रेसका ‘तीन राजकुमार’हरु भनेर चर्चित भावी सभापतिको सपनासहित लञ्ज बैठक बस्न थालेका छन् ।


  १५औं महाधिवेश लक्षित दुईवटा बैठक उनीहरु बसिकेका छन् । कांग्रेसमा तीन राजकुमारको रुपमा शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई चिनिन्छ । वीपी पुत्रको नाममा ‘राजकुमार’ शशांकले आफ्नो प्रभाव विस्तार गर्न खोजेका छन् । पार्टी संगठनमा खासै मतलब नभएका र कार्यकर्तासँग घुलमिलसमेत नभएका जनसम्पर्कहीन नेताको रुपमा चिनिन्छन् । त्यसैले पनि उनको प्रभाव भने कमजोर रहेको छ । उनको व्यक्तिगत प्रभावभन्दा पनि वीपी पुत्रको प्रभाव भने रहेको छ । त्यही प्रभावको बलमा उनी सभापतिको सपना देखेर रहर गरिरहेका छन् ।

 

यता, गणेशमान सिंहको लिगेसी बोकेर ‘राजकुमार’ प्रकाशमान सिंह पनि सभापतिको सपनामा रहेका छन् । उनको सपना चाहिँ सभापति वा प्रधानमन्त्री बन्ने रहेको छ । सभापतिमा ठूलो सपना नभएपनि प्रधानमन्त्री बन्ने सपना सिंह रहेको चर्चा पनि कांग्रेसमा चलिरहेको छ । यता, महेन्द्रनारायण निधिको विरासतमा रहेका ‘राज कुमार’ विमलेन्द्र भने सभापतिकै आशमा रहेका छन् । यी तिनै जनाको रहर पूरा हुने नहुने निर्णय भने सभापति शेरबहादुर देउवाको चरण–कमलमा रहेको छ ।


कांग्रेस सभापति देउवाको उत्तराधिकारी बन्ने रहर र सपनासहित तीन जनाले पहिलोपटक २०८१ असोज ७ गते छलफल गरेका थिए ।  त्यही छलफलबाट सुरु भएको उनीहरुको १५औं महाधिवेशन लक्षित छलफल अगाडि बढेका हुन् । त्यसपछि २०८१ मंसिरको १६ गते पनि उनीहरुले छलफल गरेका छन् । काठमाडौंमा प्रकाशनमान सिंहको घरमा भएको छलफलको भोलिपल्ट निधि भने मधेशतिर झरेका थिए । 


प्रकाशमान सिंहको काठमाडौंमा केही प्रभाव रहेको छ भने निधिको मधेशमा थोरै प्रभाव रहेको छ । उनीहरुको व्यक्तिगत  प्रभाव केही हदसम्म भएपनि सभापति देउवाको साथ पाए चुनाव जितिने आशमा रहेका छन् । उनीहरु छलफलमा जुटेका भएपनि तीनमध्ये को सभापतिको उम्मेदवार बन्ने भन्ने चाहिँ टुगो लागेको थाहा हुन सकेको छैन । उनीहरु बीचमा एक मत पनि रहेको छैन । पहिलो सभापति देउवाबाट खोस्ने अनि तीनमध्ये एक सभापतिको उम्मेदवार हुने बताइरहेका छन् । (साँघु साप्ताहिक, २०८१ पुस २२) 
 

प्रतिकृया दिनुहोस