• बुधबार-पौष-२४-२०८१

बागलुङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक हस्तान्तरण

बागलुङ, २०८१ पुस २३ – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङ स्थित श्री भीमगिठे माध्यमिक विद्यालय भवनको औपचारिक हस्तान्तरण समारोह सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर बहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले विद्यालय व्यवस्थापन समितिलाई उक्त विद्यालय भवन हस्तान्तरण गर्नुभयो।

समारोहमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा अन्य सहायक संरचनासँगै विद्यालय भवन निर्माण गरिएको हो। यस परियोजना अन्तर्गतका कामहरू जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथिहरूले भारतीय सरकारको निरन्तर सहयोगको सराहना गर्दै शिक्षा र समाजको विकासमा यस भवनले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। विद्यालय भवनको नवनिर्माणले विद्यार्थीहरूको सिकाइका लागि उपयुक्त वातावरण सिर्जना गर्नेछ, जसले यस क्षेत्रको शिक्षा क्षेत्रमा समग्र सुधार र विकासमा योगदान पुर्याउनेछ।

श्री भीमगिठे माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो र सन्  १९६८ मा निम्न माध्यमिक विद्यालयका रूपमा स्तरोन्नत भएको थियो। सन् १९८८ मा यस विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नत गरिएको हो। वर्तमानमा विद्यालयमा कक्षा १ देखि १२ सम्मका लगभग ७०० विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५४% छात्रा विद्यार्थीहरू रहेका छन्।

भारत र नेपालका बीच रहेको नजिकको छिमेकी सम्बन्ध र बहुक्षेत्रीय सहकार्यको परिप्रेक्ष्यमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाल सरकारको प्राथमिकताअनुसार पूर्वाधारको विकासमा भारत सरकारको सुदृढ सहयोगलाई पुनः पुष्टि गरेको छ।

यस परियोजना मार्फत बागलुङको शिक्षा क्षेत्रमा एक महत्वपूर्ण कदम चालेको छ, जसले नेपाली जनताको उत्थान र क्षेत्रीय विकासमा थप मद्दत पुर्याउने छ।

प्रतिकृया दिनुहोस