• बिहीबार-पौष-२५-२०८१

पाँच महिनामा ७ खर्ब ३५ अर्ब वैदेशिक व्यापार : व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड


काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ६ खर्ब ६१ अर्बको आयात, ७३ अर्ब ६५ करोड रूपैयाँको निर्यात भएको भन्सार विभागले जनाएको छ । यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड भन्दा बढीको भएको बताइएको छ । विभागले दिएको जानकारी अनुसार चालु आर्थिक २०८१/८२ साउनदेखि मंसिर महिनाको अवधिमा २८ वटा भन्सार नाकाबाट ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । यो अवधिमा १७ वटा भन्सार नाकाबाट कुल ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको बिभागले दावी गरेको छ ।


जसमा छिमेकी मुलुक भारतको नीतिका कारण भटमास र सोयाविनको तेल निर्यात बढेको छ । तर, यस्तो निर्यात अस्थायी हुने व्यापारीहरूले दावी गरेका छन् । यो अवधिमा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबर पुगको बताइन्छ । २०८१ मंसिर मसान्तसम्म नेपालले १ सय ४९ वटा मुलुकसँग रु. ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । अघिल्ला वर्षहरुमा नेपालमा धेरै आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलाम तथा फलामजन्य पदार्थहरु रहेका थिए । यसका साथै कोइला, स्मार्टफोन, यूरिया मल, इलेक्ट्रिक कार, जीप र भ्यान तथा ल्यापटप र नोटबुक लगायत रहेका वस्तु तथा सामानहरू रहेको थियो । चालु आर्थिक वर्षको गत ५ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयातमा १ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको बताइन्छ । यस अवधिमा ५४ अर्ब ४२ करोड रूपैयाँ बराबरका आइरन तथा स्टील, ४५ अर्ब २५ करोड बराबरको विद्युतीय उपकरण र पार्टपुर्जा, ४१ अर्ब बराबरका सवारीसाधन तथा साढे १९ अर्ब रुपैयाँ बराबरको तरकारी र तरकारीजन्य वस्तु आयात भएको तथ्यांक रहेको छ ।


निर्यात भएका नेपाली बस्तु 
नेपालबाट निर्यात भएका वस्तु तथा सामानहरूमा भटमासको तेल, कार्पेट, अलैंची रहेको छ । यसैगरी, सूर्यमुखी तेल र चियालगायत वस्तुहरू पनि निर्यात भइरहेका छन् । नेपालबाट धेरै निर्यात हुने अन्य वस्तुहरूमा गलैंचा, ऊन, जनावरको रौं, रोल्ड आइरन–स्टील, जुटका सामान, टेक्सटाइल, फाइबरको बुनेको कपडा, धागो, कुकुर वा बिरालोको खाना छुर्पी, सिंथेटिक स्ट्राइका कपडाहरु, फेल्ट, रेजर ब्लेडहरु लगायत रहेको बिभागले जनाएको छ ।


चालु आर्थिक वर्षको यो ५ महिनाको तथ्यांक हेर्दा नेपालले यस अवधिमा १ सय ४९ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमा १ सय २० मुलुकसँग व्यापार घाटा रहेको देखिन्छ । २९ मुलुकसँग मात्र नाफाको व्यापार गरेको बताइन्छ । पाँच महिनाको अवधिमा डेनमार्क, अष्ट्रिया, लाटभिया, माल्दिभ्स, क्रोसिया, न्यु क्यालेडोनिया, रसिया, आइसल्याण्ड, मौरीसस र युगाण्डा लगायतका मुलुकसँगको व्यापार नाफामा रहेको बताइएको छ । मंसिर मसान्तसम्मको तथ्यांक अनुसार नेपालको सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ । यस अवधिमा भारतबाट नेपालले ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको बताइन्छ ।


नेपालबाट भारतमा ५२ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । यसरी विगत पाँच महिनाको अवधिमै भारतसँग ३ खर्ब ५८ अर्ब रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । चीनबाट नेपालमा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । नेपालबाट चीनमा १ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको तथ्यांकमा उल्लेख छ । भारत र चीनपछि नेपालको अर्जेन्टिना, युक्रेन, अष्ट्रेलिया, थाइल्याण्ड, इन्डोनोसिया, मलेसिया र कतारलगायतका मुलुकसँगको व्यापार घाटा उच्च रहेको बताइएको छ । 


११ वटा भन्सारबाट निर्यात शून्य
अन्तर्राष्ट्रिय व्यापारमा प्रयोगमा रहेका नेपालका २८ वटा भन्सार नाकामध्ये ३९ प्रतिशत नाकाको निर्यात शून्य रहेको छ । अन्तर्राष्ट्रिय व्यापारका लागि संचालनमा रहेका अधिकांश नाका आयातका लागि मात्र प्रयोगमा आएको बताइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को साउन देखि मंसिर महिनासम्मको तथ्यांक हेर्दा नेपालका ठुला २८ वटा नाकाहरूबाट वस्तु तथा सामान आयात भएपनि निर्यात भने १७ वटा नाकाहरूबाट मात्र भइरहेको देखिन्छ ।


चालु वर्षको साउनदेखि मंसिर महिनासम्मको अवधिमा ११ वटा भन्सार नाकाको निर्यात शून्य रहेको छ । चोभार सुख्खा बन्दरगाह, गौतमबुद्ध विमानस्थल, जनकपुर, महेशपुर, राजविराज कुनौली, सुनसरी भन्टाबारी, सुथौली, तातोपानी, साटी, टाँडी र त्रिवेणी नाकाबाट शून्य निर्यात देखिएको छ । शून्य निर्यात भएका नाकामध्ये तातोपानी नाकाबाट ५ महिनाको अवधिमा सबैभन्दा धेरै २० अर्ब ८७ करोड ३९ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामानहरू आयात भएको छ । सबैभन्दा कम नवलपरासीको त्रिवेणी नाकाबाट ३ लाख ७९ हजार बराबरको माल बस्तु आयात भएको तथ्यांकले देखाएको छ । 


भन्सार विभागको तथ्यांकअनुसार नेपालको अन्तर्राष्ट्रिय व्यापारमा वीरगन्ज नाकाको आयात र निर्यातमा सबै भन्दा ठुलो हिस्सा ओगटेको छ । चालु आर्थिक वर्षको गत ५ महिनाको तथ्यांक हेर्दा आयात र निर्यात  दुवै व्यापारमा वीरगन्ज नाकाको हिस्सा उच्च रहेको बताइन्छ । कुल अन्तर्राष्ट्रिय व्यापारमा वीरगन्ज नाकाको आयातमा ३३ प्रतिशत तथा निर्यातमा २६.१५ प्रतिशत हिस्सा रहेको छ । मंसिर मसान्तसम्ममा वीरगन्ज नाकाबाट २ खर्ब १८ अर्ब २६ करोड ५६ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । १९ अर्ब २५ करोड ९९ लाख रूपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको बताइएको छ ।


बिराटनगरको योगदान पनि उच्च
वीगंगपछि धेरै वैदेशिक व्यापार हुने नाकामा विराटनगर भन्सार रहेको छ । कुल अन्तर्राष्ट्रिय व्यापारमा विराटनगर भन्सार नाकाको आयातमा १०.५४ प्रतिशत तथा निर्यातमा २०.८५ प्रतिशत योगदान रहेको छ । समीक्षा अवधिमा यो नाकाबाट ६९ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । साथै, १५ अर्ब ३५ करोड ८७ लाख रूपैयाँ  बराबरको वस्तु तथा सामान निर्यात भएको बिभागले जनाएको छ । यस्तै, भैरहवा भन्सार नाकाबाट १ खर्ब ३ अर्ब १९ करोड रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।


निर्यात भने ५६ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु तथा सामान भएको बताइन्छ । कुल अन्तर्राष्ट्रिय व्यापारमा भैरहवा भन्सार नाकाको आयातमा १५.६० प्रतिशत तथा निर्यातमा ७.७४ प्रतिशत हिस्सा रहेको देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५२ अर्ब ४२ करोड १६ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । १५ अर्ब २३ करोड ७१ लाख रूपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । कुल अन्तर्राष्ट्रिय व्यापारमा त्रिभुवन विमानस्थल काठमाडौंकोे आयातमा ७.९२ प्रतिशत तथा निर्यातमा २०.६९ प्रतिशत हिस्सा रहेको बताइन्छ । मेची भन्सार काकरभिट्टाको पनि आयातमा २.७९ प्रतिशत तथा निर्यातमा १५.५८ प्रतिशत योगदान रहेको छ ।


यसबाहेक सुख्खा बन्दरगाह वीरगन्ज, रसुवा, कृष्णनगर, नेपालगञ्ज, सर्लाहीको मलंगवा, कैलालीको धनगढी तथा जलेश्वरको भिट्टामोड भन्सार नाक लगायतका नाकाबाट उच्च आयात हुने गरेको छ । आयात तथा निर्यात दुवै व्यापारमा वीरगन्ज नाका सबैभन्दा अगाडि रहेको छ । विराटनगर, त्रिभुवन विमानस्थल, मेची, भैरहवा, सुख्खा बन्दरगाह, रसुवा, कृष्णनगर, नेपालगञ्ज, मलंगवा, धनगढी र भिट्टामोडलगायतका नाकाबाट धेरै निर्यात हुने गरेको तथ्यांकले देखाएको छ ।


यस्तै, भद्रपुर, पशुपतिनगर, गौरीगन्ज, रंगेली, भन्टाबारी, कुनौली, सिरहा, जनकपुर, गौर, ठोरी, महेशपुर, साटी, टाडी, त्रिवेणी, कन्चनपुर र चोभार सुख्खा बन्दरगाहा लगायतका भन्सार नाकाहरुबाट निर्यात हुने गरेपनि जसको परिमाण अत्यन्त न्यून रहेको छ । गत ५ महिनाको अवधिमा सिराहा नाकाबाट १६ हजार रुपैयाँ बराबरको मात्र वस्तु तथा सामान निर्यात भएको छ । यसै अवधिमा भद्रपुरबाट ५० लाख, गौरबाट ९ लाख ९ हजार र कन्चनपुर भन्सार नाकाबाट २२ लाख ९ हजार रूपैयाँ मुल्य बराबरको मात्र वस्तु तथा सामान निर्यात भएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ पुस २२) 
 

प्रतिकृया दिनुहोस