• बिहीबार-पौष-२५-२०८१

प्रसाईको अस्पताल लिलाम गर्न बैंकहरुको तयारी

 

काठमाडौं । गणतान्त्रिक व्यवस्था पल्टाएर राजतन्त्र फर्काउने योजनामा आफू लागेको दुर्गा प्रसाई बताउछन् । उनले नेताहरुलाई जेलमा कोच्ने र २० लाख सम्मको बैंक ऋण मिनाहा गर्नेलगायतका असम्भव नारासहित केही वर्षदेखि आक्रामक अभियान चलाइरहेका छन् । उनै मेडिकल व्यवसायी प्रसाईले संचालन गरेको पूर्वाञ्चल क्यान्सर हस्पिटललाई कुमारी, प्रभू, ग्लोबल आईएमई बैक र गुडविल फाइनान्सले लिलाम बिक्री गर्ने योजना बनाउन लागेको बुझिएको छ । यो हस्पिटल स्थापनाका लागि यी तीन बैंक र एक फाइनान्सले करिब दुई अर्ब ऋण प्रवाह गरेका थिए । उक्त ऋणको ब्याज र साँवाको किस्ता रकम व्यवसायी प्रसाईले भुक्तानी नगरी उच्च अदालत विराटनगरको इलाम इजलाशमा मुद्दा दायर गरेर प्रभावित पारेका थिए ।


बैंक तथा बित्तीय संस्थबाट साँवा, व्याज असुली प्रकृयालाई रोक्न खोज्दै मुद्दा दायर गरेको भएपनि उच्च अदालतले रिट खारेज गरेको थियो । केही दिन अगाडि सो फैसला गरेसँगै तीन बैंक र एक फाइनान्स कम्पनीले आफ्नो ऋण उठाउने बाटो खुल्ला भएको बताइन्छ । प्रसाईको बि.एण्ड.सी मेडिकल कलेजलाई सर्वाेच्च अदालतले २०८० चैत्रमा कलेज सञ्चालनको सम्बन्धन दिन सरकारलाई आदेश  दिएको थियो । त्यसपछि मेडिकल कलेज सञ्चालनमा आउने भएपनि बैंकको ब्याज र किस्ता नतिरेका कारण पूर्वाञ्चल क्यान्सर हस्पिटललाई भने लिलाम बिक्री गरेर आफ्नो कर्जा असुल्ने तयारीमा बैंक तथा वित्तीय संस्था लागेको खबर छ । योसँगै प्रसाई निकै अत्तालिएको उनी निकट स्रोतले जानकारी दिएको छ ।


पुर्वाञ्चल क्यान्सर हस्पिटल लिलाम भयो भने त्यसको असर बि एण्ड सी मेडिकल कलेजलाई पनि पर्छ नै । यो कलेज सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई सञ्चालन हुने अवस्था छैन । प्रसाईले बैंक तथा वित्तीय संस्थाविरूद्व आन्दोलन गर्दै आएका छन् । त्यसैले उनी आवद्ध कुनै पनि कम्पनी र व्यवसायलाई बैंक तथा वित्तीय संस्थाले ऋण नदिने नीति लिएको बताइन्छ । त्यसैले विगत दुई वर्षदेखि प्रसाईं आर्थिक संकटमा पर्दै आएका छन् । प्रसाईको कम्पनीले लिएको ऋणमा बैंक तथा वित्तीय संस्थाहरूले अधिक ब्याज मिनाहा दिएपनि, ब्याज र साँवा किस्ता तिर्ने म्याद पर सार्दै आएका छन् । 


हिन्दी फिल्मको स्टाइलमा नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई पचास भन्दा बढी पटक भारतबाट टेलिफोन गरी ब्याज मिनाहा गर्न दवाव दिएका थिए । २० लाख भन्दा साना कर्जाको ऋण मिनाहा गर्न उनले पटक पटक धम्की दिन लगाएका थिए । यस प्रकरणमा गभर्नर अधिकारीले प्रहरीलाई खवर गरी अनुसन्धान गर्दा प्रसाईसँग धम्की दिने व्यक्ति भारत असामबाट  घ्यू ल्याएर इलाम, झापा, मोरङ, सुनसरीतिर बिक्री गर्ने सामान्य व्यापारी हरिचन्द्र फुयाल रहेको पुष्टि भएको थियो । उनी सुनसरी र मोरङ जिल्लामा ठगी अभियोगमा कारवाही परिसकेका व्यक्ति भएको स्रोत बताउछ । सो काण्डमा २०८१ मंसिर ४ गते उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिबिआई)ले साइबर अपराधमा कारवाही गरेर थुनामा परेपछि प्रसाईं निकै गलेको स्रोत बताउछ ।


 सर्वाेच्चको आदेशपछि ०८१ पुस ५ गते प्रहरी हिरासतबाट रिहा भएका उनै प्रसाईले समर्थकहरुलाई सम्बोधन गर्दै आफू नडराएको र अभियान अझ सशक्तरुपमा अगाडि बढ्ने घोषणा गरेका थिए । तरपनि त्यसयता उनले आफ्नो शैली अनुसारको एउटा पनि सार्वजनिक टिप्पणी र फेसबुक पोष्ट गरेका पनि छैनन । युट्युवहरुमा अन्तर्वार्ता पनि दिएका छैनन् । 


आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेकाले मुद्दाको किनारा नलाग्दासम्म प्रसाईं दिनदिनै सीआईबीमा हाजिर हुनुपर्ने आदेश दिएको छ । अनुसन्धान चलिरहँदा आवाज परीक्षणको लागि पटक–पटक अनुरोध गर्दा पनि प्रसाईले मानिरहेका छैनन् । व्यवसायीलाई धम्क्याएका र उनीद्वारा परिचालित हरिचन्द्र फुयालसँगका भएका ५ वटा अडिओ कुराकानी प्रहरीले फेला पारेको बताइएको छ । उक्त कुराकानीमा सुनिने आवाज प्रसाईंकै भएपनि त्यसलाई कानुनीरुपमा समेत प्रमाणित गर्न प्रहरीले आवाज परीक्षण गर्न खोजिरहेको छ । तर, प्रसाईं भने कुनै पनि हालतमा नगर्ने अडानमा रहेको बताइन्छ । 


 आवाज परीक्षण गर्न अस्वीकार गर्दै आएका प्रसाईं भने सरकारसँगको लडाईंमा अब आफू थाकिसकेकोले अब अभियानको गतिविधि नै बिसाउन तयारीमा रहेको बताइएको छ । साइबर अपराधको कसुरमा ४० हजार धरौटी बुझाएका प्रसाईंलाई सीआईबीले भारतीय आपराधिक समूह लरेन्स विश्नोइको सदस्य हुँ भन्दै व्यवसायी धम्क्याएको आरोपमा हिरासतमै राखेर अनुसन्धान गरेको थियो । ०८१ मंसिर ४ गते पक्राउ परेका उनी एक महिनापछि २०८१ पुस ५ गते छुटेका थिए । प्रसाईंलाई पक्राउ परेकै मितिबाट गणना हुने गरी संगठित अपराधको कसुरमा हिरासतमा राख्न मिल्ने ६० दिनभित्रै अर्थात् आगामी २०८१ माघ ४ गते भित्रै मुद्दा बुझाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८१ पुस २२) 
 

प्रतिकृया दिनुहोस