• बिहीबार-पौष-२५-२०८१

एसएसपी बढुवामा किन सकस 

 

काठमाडौं । नेपाल प्रहरीमा २८ जना एसएसपीको दरवन्दी रिक्त भएको लामो समय बितिसकेको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बढुवामा ध्यान नदिएको गुनासो संगठनभित्र बढ्दै गएको छ । त्यति मात्र होइन कसको दबाबमा परेर आइजीपी कुँवरले एसएसपी बढुवा प्रकृया अगाडि नबढाएको भन्ने प्रश्नहरु संगठनभित्र उठ्ने गरेका छन् । डिआईजी र एआईजीको बढुवा नियमित गर्ने तर एसएसपीको बढुवा नगरी लामो समय रिक्त राखेको कारण कतिपय डिएसपी र एसपीहरूको करियरमा धक्का पुग्ने भन्दै गुनासो बाहिर आउन थालेका छन । जसले गर्दा तलको पदमा पनि बढुवा जाम हुन पुगेको बताइन्छ ।


यही कारण वरिष्ठ सईहरू इन्स्पेक्टर बढुवा हुन सकेका छैनन् । दस वर्ष भन्दा बढी समयदेखि इन्स्पेक्टर भएकाहरू डिएसपीमा बढुवा हुन नसक्दा अन्यायमा परेको बताइएको छ । भावी आईजीपी हुने क्यारियर बोकेका एसपी, एसएसपी र डिआईजीमै घर जानुपर्ने अवस्था देखेर दिक्क मानिरहेको छन् । रिक्त २८ एसएसपी पदमा बढुवाका लागि संगठनभित्रै रस्साकस्सी चल्ने गरेको छ । बढुवाका लागि नयाँ टोलीका एसपीहरूसमेत शक्तिकेन्द्र धाउन थालेपछि अझै पेचिलो र लम्बिन सक्ने सम्भावना बढेको गृह स्रोतको भनाई रहेको छ । बढुवा जाम हुँदा अवका दिनमा पाँच टोलीबीच प्रतिस्पर्धा हुने स्रोतको भनाई रहेको छ ।


फरक–फरक समयमा बढुवा भएका ६० भन्दा धेरै एसपीहरु यस पटकको एसएसपी बढुवाको प्रतिस्पर्धामा रहेका छन् । गुप्तचरबाट आएर जागिर जोडिएका र लोक सेवा लडेर प्रहरीमा भर्ना भएकाहरु बीचमा द्वन्द्व रहेको छ । एसएसपीहरु बढुवाका दावेदारहरुमा जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुप शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसी र कमल थापा रहेका छन् । पहिलो लटमा बढुवा हुने एसपीहरूमा रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल रहेको बताइन्छ । दोस्रो लटमा बढुवा भएका एसपी होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधि ज्ञवाली, शान्तिराज कोइराला, वेद विष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाही पनि बढुवा हुने प्रतिस्पर्धामा रहेको बताइन्छ ।


सो टोलीका २०७७ को बैशाखमा सुरेशराज काफ्ले, तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल एसपीमा बढुवा भएका थिए । प्रहरीको १ सय १४ औं ब्याचबाट २०७७ को माघमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्र बहादुर शाही १५ जना बढुवा भएका थिए । उनीहरुमध्ये अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, राजकुमार सिलवाल र योगेन्द्र सिंह थापा राजनीतिक पहुँचका आधारमा बढुवामा शक्तिशाली देखिएका छन् ।


२०७८ को मंसिरमा एसपी बढुवा भएकाहरुसमेत आफूहरुको तीन वर्ष अवधि पुगेकाले योग्य भएको भन्दै शक्तिकेन्द्र धाउन थालेको बताइएको छ । त्यसपछि एसएसपी बढुवामा झन् झन् प्रतिस्पर्धा र पेचिलो बन्दै गएको स्रोत बताउँछ । पाँच महिना बढुवामा ढिलाई भएकै कारण अस्वस्थ चलखेल तीव्र रूपमा बढेको बताइएको छ । तीन एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । यसपछि २८ एसपीको एसएसपी पदमा बढुवा हुँदैछ । डिआईजी र एआईजीको बढुवा सिफारिसमा उजुरी परेन भने त्यसपछि मात्र एसएसपीमा बढुवा सिफारिस समितिको बैठक बस्ने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८१ पुस २२) 
 

प्रतिकृया दिनुहोस