• बुधबार-पौष-२४-२०८१

माओवादीमा पुनको इन्ट्रीले खैलाबैला !

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न २०८१ पुस १८ गतेदेखि स्थायी समिति बैठक चलेको थियो । जसमा पूर्व उप–राष्ट्रपति एवं पूर्व जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका थिए । उनको सहभागितासँगै माओवादी केन्द्रको उनी सक्रिय राजनीतिमा फर्किएको आभास मिलेको छ । यसअघि पदाधिकारी बैठकमा मात्रै उपस्थित हुने गरेका पुनले  सातादेखि स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । जसले गर्दा माओवादी केन्द्रका दुई उप–महासचिव वर्षमान पुन र जनार्दन शर्मा नराम्रो गरी झस्किन पुगेको बताइन्छ ।


पुन माओवादी केन्द्रको राजनीतिमा पुन प्रवेश गरेपछि अब सोही तहका उनीसँगै पुन, शर्मा तीन जना नेता हुन पुगेका छन् जसका कारण पार्टीमा आन्तरिक प्रतिस्पर्धा बढेको अर्थमा हेरिएको छ । यतिखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन र शर्मालाई आवश्यकता अनुसार नजिक र टाढा राखेर संगठनभित्र खेल्दै आएको नेताहरु बताउँछन् । पार्टी विभाजन अगाडि अध्यक्ष प्रचण्डले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र राम बहादुर थापालाई यसरी नै नजिक र टाढा राखेर आफू शक्तिशाली हुँदै आएको स्रोतले दावी गरेको छ । ०८१ मंसिर १९ गते गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रममा पुनले आफू सकृय राजनीतिमा आउन लागेको संकेत गरेका थिए ।

 

जनमुक्ति सेनाका डेपुटी कमान्डरसमेत रहेका उनले व्यवस्थाको रक्षाका लागि आफू फेरि रातो मान्छे बनेर उभिन तयार रहेको दावी गरेका थिए । त्यसबखत उनले कसैले प्राप्त उपलब्धि उल्ट्याउन खोजेको खण्डमा भने त्यसको प्रतिरोध गर्न तयार रहेको भन्दै गणतन्त्र, संघीयता, समानुपातिक समावेशी व्यवस्थालगायत उपलब्धी उल्ट्याउने दुस्साहस नगर्न चेतावनीसमेत दिएका थिए । वर्तमान सरकारले संविधान संशोधन गर्ने सहमति गरेपछि प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सिट हटाउने कांग्रेस र एमालेको अभिव्यक्ति पछि माओवादी केन्द्र सो उपलब्धि कुनै हालतमा पनि हटाउन नहुने पक्षमा उभिने बताउँदै आएको छ । सो खेलमा  सरकार लागेको खण्डमा आन्दोलन गर्ने धम्की दिइरहेको छ । 


अहिलेको उपलब्धि कसैले उल्ट्याउन चाहन्छ भने तपाईं हामी सबै आगो बन्न तयार हुनुपर्छ । म यो गणतन्त्रको योद्धा, प्रक्रियावादीहरुले जाल, षड्यन्त्र गरेर प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन खोज्छन्, समानुपातिक, समावेशी र संघीयतालाई फेरि दायाँबायाँ गर्ने खेलमा लागे भने म फेरि रातो मान्छे भएर उभिन तयार उनले भनेका थिए । विगतमा मैले जे–जे गरेँ, त्योभन्दा नयाँ उचाइबाट मैले नेतृत्व गर्न सक्छु र त्यो साहस मसँग छ । सक्रिय राजनीतिमा फर्किन चाहना राख्दै आएका पुनलाई माओवादीले उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ । उनले सो जिम्मेवारी पाएको खण्डमा भने माओवादी केन्द्रमा उ–पमहासचिवद्वय पुन र शर्मा संगठनमा पछाडि पर्ने अड्कलबाजी गरिएको छ ।


पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले पुनलाई सकृय राजनीतिमा ल्याएर उपमहासचिवद्वय  पुन र शर्मालाई साइजमा राख्न खोजेको बताइन्छ । अध्यक्ष  प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीमा भित्र्याउन चाहना राख्दै आएका छन । उनी विप्लवलाई शक्तिशाली महासचिव बनाउने र पार्टीलाई थप गति प्रदान गर्ने तयारीमा लागेका छन् । तर, विप्लवसँग पुन र शर्माको असहयोगको कारण तत्काल एकताको सम्भावना टरेको बताइन्छ । त्यसपछि भने प्रचण्डले अन्ततः पुनलाई पार्टीमा इन्ट्री गराउन लागेको चर्चा चल्दै आएको छ ।


उनलाई उपाध्यक्षको जिम्मेवारी दिएर विप्लवसँग एकता गर्दै महासचिव बनाउने अध्यक्ष दाहालको भित्री योजना रहेको बताइन्छ । त्यसपछि भने वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपमहासचिवद्वय पुन र शर्मालाई तह लगाउने रणनीतिमा प्रचण्ड रहेको बताइएको छ । पुस १८ गतेको स्थायी कमिटी बैठक सुरु हुनुअघि पुनको इन्ट्रीबारे नेताहरुबीच कानेखुसी चलेको स्रोतको भनाइ रहेको छ । पुनलाई दिइने जिम्मेवारीको बिषयलाई लिएर पार्टी संगठनभित्र निकै चासो बढिरहेको छ । उपाध्यक्ष रहेका कृष्णबहादुर महराले पनि सो बैठकमा सहभागिता जनाएका थिए । जसका कारण उनी अहिले थप मानसिक तनावमा पर्न थालेका छन् ।


पार्टीप्रति असन्तुष्टि जनाउँदै महराले यसअघिका केही बैठकहरु बहिष्कार गरेका थिए । पूर्व उपराष्ट्रपति पुन स्थायी कमिटी बैठकमा सहभागी हुँदा धेरै नेताहरुले मुखामुख गरेका थिए । उनलाई पार्टीमा दिइने जिम्मेवारीबारे सबैले चासो व्यक्त गरिरहेका छन् । पुन र शर्मा दुवैले उनलाई उपाध्यक्षको जिम्मेवारी दिन नहुने पक्षमा लबिङ गरिरहेको बताइएको छ । पुन र शर्माका समकालीन पासाङलाई सचिव भन्दा माथि जिम्मेवारी दिनु उचित नहुने उनीहरूको तर्क रहेको स्रोतले दावी गरेको छ । जनमुक्ति सेनामा पुनसँगै पुन र शर्मा पनि डेपुटी कमान्डरको हैसियतमा रहेका थिए । यही कारण पुन र शर्माले उनलाई सचिव वा उपमहासचिव नै बनाउन अध्यक्ष प्रचण्डलाई सुझाव दिंदै आएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ पुस २२) 
 

प्रतिकृया दिनुहोस