• बुधबार-पौष-२४-२०८१

मण्डलामा मुक्कुम्लुङ नाटक मञ्चन हुँदै

मण्डला थिएटरमा २०८१ माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ। युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको यो नाटक मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ मञ्चनको आधिकारिक घोषणा गरेका छन्।

नाटकको कथावस्तु मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेको छ। यस नाटकमा हालैको मुक्कुम्लुङ संरक्षण आन्दोलनसमेतको घटनाक्रम समेटिएको छ, जसका बारेमा निर्माण पक्षले जानकारी दिएको छ।

हालै ताप्लेजुङको मुक्कुम्लुङमा ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ। मुक्कुम्लुङ याक्थुङ (लिम्बु) समुदायको पवित्र स्थल रहेकोले, यहाँ केवलकार स्थापना गर्दा मुक्कुम्लुङ र लिम्बु समुदायको सांस्कृतिक, ऐतिहासिक सम्बन्धमा विस्थापन हुने र प्रकृतिको दोहन हुने डर व्यक्त गरिएको छ। यसै कारण स्थानीय सरोकारवालाले आन्दोलन गरिरहेका छन्।

नाटकको उद्देश्य भनेको मुक्कुम्लुङको महत्वलाई जनाउँदै यस आन्दोलनसँग ऐक्यवद्धता जनाउनु हो। यसलाई चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले यसप्रकार व्याख्या गरेका छन्, “मुक्कुम्लुङ साझा लिम्बुवान भूमि हो र लिम्बुवानीहरूको शिर पनि हो। यस भूमिको रैथाने समुदाय र प्रकृतिप्रति राज्यको दमन र विनास विरुद्धको आन्दोलन यो नाटक हो।”

नाटकका निर्देशक अनिल सुब्बा पनि यसलाई सिर्जनामार्फतको ऐक्यवद्धता र पहिचानको पक्षमा सशक्त आन्दोलनको रूपमा लिन्छन्। उनका अनुसार, “यो नाटक केवल मनोरञ्जनका लागि मात्र होइन, यो हाम्रो अस्तित्वको संरक्षणको लागि उठाइएको आवाज हो। हाम्रो भाषालाई, संस्कृतिलाई, र हाम्रो पहिचानलाई बुझ्नका लागि यो नाटक महत्त्वपूर्ण छ।”

नाटकका लेखकमध्ये गीलु रातोसले पनि यही मत राखेका छन्, "यो नाटक याक्थुङ समुदायको शिर र स्वाभिमानको संरक्षणको लागि गरिएको लेखन हो। राज्यको दमनले यस समुदायको अस्तित्वलाई संकटमा पुर्याएको छ, र यसलाई सबैको ध्यानमा ल्याउने उद्देश्य छ।"

कलाकार वेदना राई र प्रतिना राईले पनि नाटकसँग जोडिन पाउँदा आफू खुशी भएको र यसले मुक्कुम्लुङको मुद्दालाई गहिरो ज्ञान दिने विश्वास व्यक्त गरेका छन्। राईका अनुसार, "नाटकले मुक्कुम्लुङको धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वलाई उजागर गर्दै सबैलाई संवेदनशील बनाउनेछ।"

नाटकको लेखन र निर्देशन अनिल सुब्बाले गरेका छन्, र लेखनमा गीलु रातोस र बिष्णु मोक्तानको सहकार्य छ। नाटकमा प्रमुख कलाकारका रूपमा बिष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावति, शोभा लिम्बु, सौजन सेनेहाङ, मणि के. राई, भूमिका थारु, पवन कुमार गोले, अजय लामा, डेविड सुवेदी, संजीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीण मगर, अन्जना राई, नुमा राई, अमर बाबु बुढाथोकी, आकाश सुहाङ लिम्बु र इशा सिंजालीको अभिनय रहनेछ।

नाटकको कोरियोग्राफि मणि के. राईले गरेका छन्, भने गायन र वाद्यवादनको काम प्रवृत्ति राई, युकेश राई र आशिष माझीले गर्नेछन्।

प्रतिकृया दिनुहोस