काठमाडौं, १७ पुष : यही पुष २७ गते रिलिज हुने नेपाली फिल्म ‘भिलेन’ टिमले राजधानीमा पत्रकार सम्मेलन गरेको छ ।
अंग्रेजी नयाँ वर्ष तथा ढाका टोपी दिवसका अवसरमा कार्यक्रमको आयोजना गर्दै ‘भिलेन’ टिमले आफ्नो प्रचारप्रसारको काम तीव्र रुपमा अघि बढेको जनाएको छ । यद्दपि उक्त कार्यक्रममा फिल्मका भिलेन अर्थात् अभिनेता निखिल उप्रेती र नायिका निशा अधिकारी भने उपस्थित थिएनन् ।
आफ्नो कार्य व्यस्तताका कारण अभिनेता उप्रेती उपस्थित हुन नसकेको फिल्मका निर्देशक देवेन्द्र पाण्डेले बताए । ‘भिलेन टिमका सबै कलाकार एउटै परिवार हो र निखिलजी र अरु कलाकारहरुसँग हाम्रो कुनै मनमुटाव भएको छैन । निर्देशक पाण्डेले प्रस्ट पारे ।’
पूर्णतया एक्शन र प्रेमकथामा आधारित फिल्ममा सबैले राम्रो काम गरेको भन्दै दर्शकहरुले फिल्म हेर्नेमा आफू विश्वस्त रहेको निर्देशक पाण्डेले जीकिर गरे । फिल्मकी नायिका शिल्पा पोखरेलले यस फिल्मबाट दर्शकहरुले आफूलाई चरित्रमा विविधता भएकी अभिनेत्रीको रुपमा स्वीकार्ने बताइन् ।
फिल्म चल्छ कि चल्दैन भन्ने प्रश्नमा शिल्पाले भनिन्, ‘हामीले आफ्नो ठाउँबाट वेस्ट दिएका छौं र फिल्म चल्नका लागि मिडियाको पनि प्रमुख हात हुन्छ ।’ फिल्मका अर्का कलाकार कपिल खत्रीले सबै कलाकारहरुको सहयोगका कारण फिल्म सुटिङका क्रममा सहज अनुभव भएको बताए ।
कपिल खत्री र बल बहादुर श्रेष्ठले निर्माण गरेको फिल्मका छायाँकार मदा काश्यप घिमिरे र सौरभ लामा रहेका छन् । फिल्ममा लाल कुमार बराल, वसन्त सापकोटा र बबुल गिरीको संगीत रहेको छ ।
सोही अवसरमा भिलेन टिमले कार्यक्रममा उपस्थित पत्रकार तथा फिल्ममा संलग्नहरुलाई नेपाली ढाका टोपी पनि वितरण गरेको थियो ।



