कोशी प्रदेशको राजनीतिमा देखिएका परिदृश्यले माओवादी र एमालेमध्ये एउटा फेरि जिल्लिने अवस्था देखिन थालेको छ । काठमाडौंमा १० पुस २०७९ मा कांग्रेसबाट खोसेर माअोवादी केन्द्रलाई आफ्नो हातमा लिएको एमालेले अहिले कोशीका कांग्रेसको कोइराला समूहलाई लिएको छ ।
त्यतिबेला एमालेले माओावादीलाई एक महिनाभन्दा धेरै साथमा राख्न सकेन । अहिले कोशीमा पनि त्यस्तै देखिन थालेको छ । त्यतिबेला कांग्रेस निराश बनेको थियो सबै गुमाएको भनेर। अहिले कोशीमा माओवादी निराश बनेको छ, सबै गुमाएर ।
माओवादीले कोशीमा सभामुख गुमायो । सत्ता गुमायो । आलोपालो मुख्यमन्त्री पनि गुमायो । त्यसैले, अहिले सबैभन्दा निराश माओवादी देखिएको छ । तर, कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णयसँगै फेरि ढोक्सा थाप्ने नीति लिएकाे देखिएको छ ।
काठमाडौंमा सत्ता गबठन्धन जोगाउने निर्णय भएको र त्यसमा शेखर कोइरालाले हस्ताक्षर गरेका कारण माओवादी केन्द्र पनि सरकारमा आउने अनुमान गरिएको छ । तर, माओवादीलाई सत्तामा आउनका लागि या त एमाले बाहिरिनु पर्छ या सर्वदलीय सरकार बनाउने सहमति हुनुपर्छ ।
त्यसैले, अब एमाले सत्ता बाट बाहिरिने वा माओवादी सरकारमा नहुने स्थिति देखिएको छ । सर्वदलीय सरकार बन्ने संभावना कम भएका कारण एमाले र माओवादीसाथै सरकारमा हुने संभावना देखिदैन् ।
अहिले एमाले र माओवादी केन्द्रको तानातानमा मुख्यमन्त्री केदार कार्की परेका छन् । कोइराला समूहले अन्य प्रदेशमा पनि सरकार बनाउने वा ढाल्ने खेलमा सक्रिय हुने अवस्था आएमा भने एमालेसँगको डा. शेखर कोइराला समूहकाे सहकार्य दीर्घकालीन हुने र महागठबन्धन भत्किनेमात्र होइन, कांग्रेस विभाजनको अवस्थासम्म पुग्ने देखिन्छ ।



