(मानिसको सबैभन्दा ठूलो र राम्रो चिज केही हो भने त्यो हो मन । मन राम्रो भए सबै कुरा राम्रो हुन्छ, मन सफा छैन भने जे पनि नराम्रै देखिन्छ । हेराई र जीवन बुझाइले नै जीवनलाई कता लैजाने भन्ने मापन गर्न सकिन्छ । सडक पाइलट टंकमणि बस्याल यसमा केही बुझकी देखिन्छन् । नवलपरासी सुनवल १२ का ३४ वर्षे टंकमणि गाडी लाइनमा लागेकै १५ वर्ष भइसक्यो । उनी कहिले कण्डक्टरको भूमिकामा हुन्छन् त कहिले चालकको । उनी संधै गाडी चलाउँदैनन् । खाली समयमा उनको महत्वपूर्ण पाटो भनेको समाजसेवा हो । अझ चुनावका बेलामा त उनी निकै जोसिन्छन् । लु २ ख १६८६ मा रहेर जीवनको रथ गुडाउँदै आएका टंकमणिसंग सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिले लिएको कुराकानीको यो मुख्य अंश –सम्पादक)
० गाडी लाइनमा कहिलेदेखि हुनुहुन्छ ?
–भइसक्यो १५ वर्ष ।
० कसरी आउनु भयो त ?
–रहरै रहरमा आइयो । एसएलसीको परीक्षा दिएर बसेको थिएँ । ब्याकपेपर लाग्यो । त्यसपछि साथीभाइको संगतमा परेर रहरै रहरले यतै तान्यो । एकजना साथी यही लाइनमा थियो । उसैसंग घरदेखि बुटबल गएँ । गाउँका दाइ थिए माधव । हिमचिम बढ्यो । त्यसपछि सुनौली काठमाडौंमा निरन्तर पैसा उठाउने काम गर्न पाएँ ।
० कति समयसम्म ढोकामा बस्नु भयो ?
–ढोकामा त निकै वर्ष बसियो । अहिले पनि परेका बेलामा ढोकामै बसेर काम गर्छु । मैले ८ वर्ष त ढोकाकै भूमिका निभाएँ भन्दा हुन्छ । तर लामो रुटको गाडीमा खलासी भन्ने जस्तै हुँदैन । कन्डक्टर पैसा उठाउने हो । लोकल जस्तो हुँदैन । अनि हामीहरू बीचबीचमा रोकेर मान्छे पनि उठाउँदैनौं । त्यसैले राम्रै हुन्छ । गाडी कहिले डे चल्थ्यो । कहिले नाइट चल्थ्यो । मैले डे नाइट दुवैमा अनुभव लिएको छु । त्यसपछि गाडी पनि चलाउने र परेका खण्डमा ढोकामा पनि बस्ने । एउटा ठेक्का लिएर काम गरेपछि लामो रुटमा हुँदा दुई जनाले आलोपालो गरेर चलाउँछौं ।
० रमाइलो डे कि नाइट ?
–नाइट मज्जा आउँछ । रातिमा खुल्ला चलाउने हो । दिनमा कहिले मान्छेले बाटो काट्छन् कहिले साइकल आउँछ । हैरान हुन्छ । रातिमा यसको चिन्ता हुँदैन । गल्ती भएमात्र दुर्घटनामा परिने हो । आफू सचेत भए धेरै बच्न सकिन्छ । म अहिलेसम्म दुर्घटनामा परेको छैन ।
० कस्तो हुन्छ नि नाइटको सिस्टम ?
–यो त एक चलायो दुई दिन आराम ग¥यो । ठीकै छ भन्नुप¥यो ।
० के गर्ने त दुई दिन ?
–दुई दिन घरमै बसिन्छ । दुईदिनको खाली समयमा समाजसेवा नै गरिन्छ ।
० के रहेछ त ड्राइभरको जिन्दगी ?
–रिस्की हुन्छ । आफूले राम्ररी गाडी चलाए पनि अर्काले हान्दिन्छ । (एकछिन सोचेर) जिन्दगी त के भन्ने खोइ ? यस्तै छ चलिरहेकै छ । तर इज्जत अलि पाइँदैन । ट्राफिक प्रहरीले अलि हेप्छ । यात्रु पनि त्यस्तै हुन्छन् । एसी कोचमा ९० प्रतिशत राम्रा यात्रु चढ्छन् भने अर्को लोकलमा त ९० प्रतिशत यात्रु नराम्रा हुन्छन् । यो पनि राम्रो काम हो भन्ने बुझ्दैनन् । झगडामात्र गर्ने । एक दुई रुपैयाँमा कचकच हुन्छ ।
० गाडी चलाउन कत्तिको सजिलो ?
–ठीकै छ । तर, संकटकालमा निकै गा¥हो थियो । कताबाट कसले गोली हान्ने हो भन्ने टुङ्गो हुने थिएन । दुःख भने दिएनन् । माओवादी र सेनाको छुट्टाछुट्टै चेकिङ हुन्थ्यो । दुवैमा पास हुनुपर्ने । अरु बेला त कहिलेकाहीं यात्रुले अलि निहुँ खोज्ने हुन् ।
० भोलिको सोच के छ त ?
–कमाइ ठीकै छ । गुजारा चलिरहेकै छ । पाइयो भने एक पटक विदेश जानुपर्ला भन्ने छ । पेशा त खासै ठीक हैन । तर गर्नै पर्ने ।
० इज्जत नहुने कारण ?
–खोइ मैले पनि बुझ्न सकेको छैन । त्यसैले त एकपटक विदेश गएर आएर अनि ब्यापारतिर हात हालौं भन्ने छ ।
० बच्चाबच्चीलाई के बनाउने सोच छ ?
–दुई जना छन् । दुवै छोरा । सकुन्जेल पढाउने हो । पढ्न खोजेनन् भने विदेश पठाइहाल्ने हो । यो लाइनमा आउनै दिन्न ।
० राजनीति गर्न मन लागेन ?
–राजनीति त मलाई चुनावका बेलामा मात्र मन पर्छ । चुनाव खुब लाग्छ मलाई । काम छाडेरै चुनावमा हिंड्छु । स्थानीय तहको निर्वाचनमा चुनावको भ्यालु भयो तर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भ्यालु भएन । चुनावका बेलामा खुबै कुराहरू पूरा गर्छु भन्छन् त्यसपछि नाकमुख देखाउँदैनन् ।
० के गरे हुन्थ्यो नेताहरूले ?
–अहिले त हाम्रा लागि बाटो राम्रो बनाइदिए हुन्थ्यो । रोजगारी दिए हुन्थ्यो । कति नेपाली दिनदिनै विदेश जानु परेको छ । यही कलकारखाना खोलिदिए हुन्थ्यो । देशको प्रगति भएन । अब त प्रगति गरे हुन्थ्यो ।



