काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ् सेवा र सूचना सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। बैंकले गुणस्तरीय बैंकिङ् सेवा प्रवाह गरेबापत अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको हो।
यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थामध्ये एक बन्न सफल भएको छ। बैंकका अनुसार यो उपलब्धिले संस्थागत विश्वसनीयता, सेवा गुणस्तर र सूचना प्रविधि सुरक्षाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन संस्था “इन्टरसर्ट” का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
प्रमाणपत्र ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ् सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको क्षेत्रमा अझ प्रभावकारी ढंगले अघि बढ्ने बताए। उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रणालीलाई थप मजबुत बनाउँदै ग्राहकको विश्वासलाई केन्द्रमा राखेर काम गरिने स्पष्ट पारे।
गरिमा विकास बैंकले हाल देशभर रहेका १२६ शाखा कार्यालयमार्फत करिब ९ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले डिजिटल तथा भौतिक दुवै माध्यमबाट सरल, सुरक्षित र विश्वसनीय बैंकिङ् सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
यो प्रमाणपत्र प्राप्तिसँगै गरिमा विकास बैंकले नेपालको बैंकिङ् क्षेत्रमा गुणस्तर र सूचना सुरक्षालाई समान प्राथमिकतामा राख्ने संस्थाका रूपमा आफ्नो पहिचान अझ बलियो बनाएको छ।



