काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सरकार गठन भएको एक महिना नपुग्दै सत्ता भित्रको कम्पन सतहमा देखिन थालेको छ। १४ दिनमै श्रममन्त्री दीपककुमार साह बाहिरिए, २७ दिन पुग्दा गृहमन्त्री सुदन गुरुङ पनि पदबाट बाहिरिन बाध्य भए। अब प्रश्न सीधा छ-
कप्तान बलियो छ कि टिम नै कमजोर ?
शुरुमा ‘नयाँ अनुहार, स्वच्छ राजनीति’ को नारा बोकेर बनेको यो सरकार अहिले आफ्नै निर्णयको भारी बोकेको जस्तो देखिन्छ। मन्त्री चयनदेखि निर्णय प्रक्रियासम्म, सुरुवाती चरणमै कमजोरी देखिएको विश्लेषकहरू बताउँछन्। किनभने, सरकार गठन भएको केही दिनमै मन्त्रीहरू विवादमा तानिनु र क्रमशः बाहिरिनु कुनै सामान्य घटना होइन। यसले सीधा संकेत गर्छ- समस्या व्यक्तिमा मात्र होइन, चयन र संरचनामै छ।
अब खेलको दिशा दुईमध्ये एकतिर जान सक्छ- या त टिम पुनर्गठन गरेर खेल पल्टाउने, या विकेट झर्ने क्रम नै सरकारको पहिचान बन्ने।
गृहमन्त्री सुदन गुरुङको हकमा औपचारिक कारण ‘सेयर लगानी’ र ‘conflict of interest’ भनिएको छ। तर राजनीतिक वृत्तमा यो मात्र सतही कारण हो भन्ने चर्चा बाक्लिँदै गएको छ। नेपालजस्तो संवेदनशील भू-राजनीतिक अवस्थाको देशमा गृहमन्त्रीको भूमिकाले आन्तरिक मात्र होइन, बाह्य सन्तुलन पनि छोइरहेको हुन्छ।
यही सन्दर्भमा केही विश्लेषकहरू भन्छन्- गुरुङका गतिविधि र अभिव्यक्तिले केही शक्ति केन्द्र र छिमेकी राष्ट्रहरू असहज महसुस गर्न थालेका थिए।
यदि त्यो सत्य हो भने, उनको बहिर्गमन केवल नैतिक र प्रशासनिक निर्णय होइन- कूटनीतिक सन्तुलन मिलाउने प्रयास पनि हुन सक्छ।
नेपालको राजनीति सधैं दुई तहमा चल्छ- एक, देखिने सरकार दुई, अदृश्य शक्ति केन्द्र
बालेन शाह अहिले यही द्वन्द्वको बीचमा उभिएका छन्। एकातिर आफ्नै एजेन्डा अघि बढाउने दबाब, अर्कोतिर प्रणालीभित्रको प्रतिरोध। परिणाम-
टिमभित्रै ‘विकेट’ झर्ने क्रम निरन्तर ।
अर्कोतर्फ, यो सरकार आफ्नै समर्थक अपेक्षाबाट पनि दबाबमा छ। Gen Z पुस्ताले बोकेको पारदर्शिता र जवाफदेहिताको माग अहिले व्यवहारमा परीक्षण भइरहेको छ। यही नैतिक दबाबले मन्त्रीहरूलाई टिक्नै नसक्ने अवस्था बनाइरहेको छ।
अन्ततः तस्बिर स्पष्ट हुँदैछ- बालेन शाह व्यक्तिगत रूपमा बलियो कप्तान हुन सक्छन्, तर टिम असन्तुलित, अनुभवहीन र दबाबमा छ भने खेल जितिँदैन।
अब खेलको दिशा दुईमध्ये एकतिर जान सक्छ- या त टिम पुनर्गठन गरेर खेल पल्टाउने, या विकेट झर्ने क्रम नै सरकारको पहिचान बन्ने।



