भद्रपुर (झापा), ९ वैशाखः मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत २०८३ वैशाख ८ गते भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा ओखलढुङ्गाको पद्मा स्पोर्टिङ क्लबलाई ६–० गोलअन्तरले पराजित गर्दै एपीएफले सहज जित निकालेको हो । एपीएफको जितमा रश्मीकुमारी घिसिङले ह्याट्रिक पूरा गरिन् भने रेनुका नगरकोटी र अनिता केसीले एक–एक गोल गरिन् । खेलको २८औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । पहिलो हाफमा १–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै थप पाँच गोल गरेको थियो ।
दोस्रो हाफको ४१औँ मिनेटमा घिसिङले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको एक मिनेटपछि रेनुका नगरकोटीले गोल गर्दै अग्रता फराकिलो पारिन् । ५२औँ मिनेटमा घिसिङले ह्याट्रिक पूरा गरिन् भने ५४औँ मिनेटमा अनिता केसीले अर्को गोल थपिन् । ५६ औँ मिनेटमा घिसिङले व्यक्तिगत चौथो गोल गर्दै एपीएफलाई ६–० को सहज जित दिलाइन् ।
पद्मा स्पोर्टिङ क्लबले केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा सान्त्वना गोलबाट समेत वञ्चित रह्यो । खेलको ‘प्लेयर अफ द म्याच’ रश्मीकुमारी घिसिङ घोषित भइन् । उनले रु ११ हजार पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलमा एपीएफले सङ्कटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार हुने क्वाटरफाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
–––



