म्याग्दी, ७ वैशाख : बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माण गर्न थालिएको छ ।
समुदाय, दाता र सरकारी निकायको साझेदारीमा यहाँ रु एक करोडभन्दा बढी लगानीमा आश्रयस्थल, गौशाला, सभाहल, गोवर्धन मन्दिर, पदमार्गलगायत पूर्वाधार निर्माण भइरहेका हुन् ।
यसअघि सञ्चालन गरिएको गोवर्धन महायज्ञमा सङ्कलन भएको सहयोग रकम र बेनी नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणकार्य अन्तिम चरण रहेको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले जानकारी दिनुभयो ।
“गौशालामा रहेका रैथाने जातका गाईको चरन र आहराका लागि घाँसखेती गर्न तथा पूर्वाधार बनाउन ४० रोपनी जग्गासहित रु एक करोड २७ लाख ३१ हजार ३६७ सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “त्यसबाट गौशाला सुरु गरिएको छ । सभाहल र सन्तआश्रम ढलान भइसकेको छ भने मन्दिर निर्माण अन्तिम चरणमा पुुगेको छ ।”
स्थानीय दीपक मल्लले सबैभन्दा बढी १७ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । यहाँ श्रीकृष्णले गोवर्धन पर्वत उठाएको मूर्तिसहितको मन्दिरको संरचना तयार भएको छ भने ३८ फिट अग्लो तामाको छाना राखिएको मन्दिरमा पलास्टर, रङ्गरोगन, विद्युत् जडान र मूर्ति राख्न बाँकी छ ।
वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार रु ८५ लाख लागत अनुुमान गरिएको मन्दिर निर्माणका लागि हालसम्म दाताबाट प्राप्त भएको रु ७५ लाख खर्च भएको छ । बेनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु १५ लाखबाट नौ लाखमा सभाहल र सन्तआश्रमको भूइँ ढलान सकिएको बताउनुभयो । यस्तै, रु छ लाखमा भकुण्डे–गौस्वारा सडकको दोयडाडादेखि गौशाला जोड्ने एक सय ४० मिटर लामो पदमार्ग निर्माणको तयारी गरिएको छ । यहाँ एउटा आश्रयस्थल भवन निर्माण भइसकेको छ ।
बागलुुङको पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न अगुवाई गर्नुभएका मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको परिकल्पनाअनुसार यहाँ गौस्वारामा धार्मिक पूर्वाधार निर्माण गर्न थालिएको हो ।
समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको गौस्वाराको पृष्ठभूमिमा हिमशृङ्खला छन् । यहाँबाट परापूर्वकालमा ऋषीमुनिहरूको तपोभूमि पौलत्स्य, गलेश्वर, हम्पाल देखिन्छ भने म्याग्दी, पर्वत र बागलुङको ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ । यस्तै, धौलागिरि, गुर्जा, अन्नपूर्ण र माछापुच्छ«े हिमाल अवलोकन गर्न पाउनु यहाँको आकर्षण हो ।
महायज्ञ आयोजक समितिका सदस्य दिर्घप्रसाद रिजालले गौस्वारामा आयुर्वेद औषधीय हिसाबले महत्त्वपूर्ण स्थानीय रैथाने गाई संरक्षण गर्न गौशाला सञ्चालन गरी गहुँत र गोवरको उपयोग गर्ने योजना रहेको बताउनुभयो । यहाँ नजिकैको जङ्गलमा धेरै प्रकारका जडिबुटी पाइने भएकाले तिनको अनुसन्धान गरी प्रयोगमा ल्याउन अनुसन्धान केन्द्रका रूपमा काम गर्नेसमेत उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।
—



