🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अक्षय तृतीया र वर-पिपलको विवाह: धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय महत्त्व

वर पिप्पलौ विष्णुः ब्रह्मा विष्णु महेश्वरः। पत्रे पत्रे सुराः सर्वे कल्पवृक्ष नमोऽस्तु ते ॥

आज म सधैंभन्दा फरक विषयमा लेख्दैछु। कतिपय पाठकहरूलाई यो अनौठो लाग्न सक्छ, तर मलाई आज २०८३ वेशाख ७ गते धार्मिक दृष्टिकाेणले अति नै महत्वपूर्ण मानिने अक्षय तृतीया र लाेप हुँदै गएकाे संस्कृति वर-पिपलको विवाहबारे कलम चलाउन इच्छा जाग्याे। त्यसैले विभिन्न सामग्रीहरूको माध्यमबाट यो लेख तयार गरिएको हो।

हुनत विगतमा पनि अक्षय तृतीया पर्व आउने गरेकै थियो र हामीले मनाउँदै आएकै थियौँ, तर यस पटकको प्रसङ्ग अलि फरक छ। काठमाडौँ, गुह्येश्वरी मन्दिर नजिकै रहेको विनायक नगरमा निवासी ९४ वर्षीया आमा टंकमाया ढकालले करिब एक महिना अघिदेखि अक्षय तृतीयाको दिन वर-पिपलको विवाह गर्ने र सो कार्यक्रममा उपस्थित हुनका लागि टोलका सबैलाई आफैँ निम्तो गर्दै हिँड्नुभएको थाहा पाएको थिएँ।

विषय सामान्य नै लागिरहेको थियो। तर एक साँझ उहाँको घरपरिवारको तर्फबाट पनि “हाम्री आमाले वर-पिपलको विवाह गर्ने हुनुभएको छ, २०८३ वैशाख ७ गते सोमबार सपरिवार उपस्थित भइदिनुहोला” भनी निम्तो आयो। त्यसअघि टोलमा नयाँ वर्ष २०८३ मनाउने सिलसिलामा पनि यो प्रसङ्ग उठेको थियो। पटक-पटक चर्चा चलेको र आमन्त्रण गरेपछि मलाई यसको बारेमा थप कौतुहलता बढ्यो।

घरमा तुलसीको विवाह गरेको त देखेकै र सहभागी भएकै हो; पहिले पहाडमा रहँदा बेलाबखत वर-पिपलको विवाहको प्रसङ्ग सुनेको थिएँ, तर विवाह उत्सवमै सहभागी भएको थिइनँ। यसपटक वर-पिपलको विवाहमा सहभागी हुने अवसर मिल्यो।

यो विवाह समारोह गुह्येश्वरी मन्दिरको पारिपट्टि बागमती नदी किनारमा वर-पिपल रहेको स्थानमा गरिएको थियो। यो विवाह मानिसको विवाह जस्तै यज्ञ स्थापना गरी ब्राह्मणद्वारा विधिपूर्वक गरिएको थियो। वर र पिपललाई वस्त्र एवं रङ्गहरूले राम्ररी सजाइएको थियो। दुवै वृक्षलाई एक सूत्रले जोडिएको थियो; मानौँ त्यहाँ मानिसहरूको विवाह जस्तै लगनगाँठो कसिएको थियो। टोल-छिमेक र इष्टमित्रहरू सबैको बाक्लो उपस्थिति थियो। यस दिन त्यसै पनि गुह्येश्वरी मन्दिरमा दर्जनौँ विवाहहरू भइरहेका थिए। अक्षय तृतीयाको दिन कुनै साइत जुराउनु नै नपर्ने र शुभ कार्य गर्न मिल्ने भएकाले यति धेरै विवाहहरू भएका थिए। त्यसैमा यो वर-पिपलको विवाह पनि एक थियो।

वर-पिपलको विवाहका सन्दर्भमा विवाह गराइदिने आमा टंकमाया ढकालसँग कुराकानी गर्दा उहाँले आफ्ना अनुभवहरू सुनाउनुभयो। उहाँलाई केही वर्ष पहिले सपनामा एक योगी आएर ‘वर-पिपलको विवाह गराइदिनु’ भन्नुभएको रहेछ। त्यही सपना पूरा गर्न यो विवाह गराइदिएको पृष्ठभूमि उहाँले सुनाउनुभयो।

उहाँ ९४ वर्षको उमेरमा पनि यो कार्य गर्न आफैँ खटिरहनुभएको थियो र वर-पिपलको विवाह गराइदिन सकेकोमा अति नै प्रफुल्लित हुनुहुन्थ्यो। उहाँको ठूलो इच्छा पूरा भएको छ। वास्तवमा अक्षय तृतीया र वर-पिपलको विवाह नेपाली समाजका यस्ता मौलिक परम्परा हुन्, जसले धर्म, अध्यात्म र प्रकृतिलाई एकै सूत्रमा गाँसेका छन्। यी दुवै विषयको केही व्याख्या र ऐतिहासिक सन्दर्भहरूलाई यहाँ प्रस्तुत गरिएको छ:

१. अक्षय तृतीया: अटुट पुण्य र ऐतिहासिक सुरुवात

अक्षय तृतीया वैशाख शुक्ल तृतीयाका दिन मनाइने एक अत्यन्तै शुभ पर्व हो। ‘अक्षय’ शब्दको अर्थ नै ‘कहिल्यै नाश नहुने’ भन्ने हुन्छ। भविष्य पुराणका अनुसार यस दिन गरिने जुनसुकै दान, तप र हवनको फल अक्षय हुन्छ। पौराणिक इतिहासमा यस दिनको ठूलो महत्त्व छ; भनिन्छ, यसै दिनदेखि त्रेता युगको सुरुवात भएको थियो भने भगवान विष्णुका छैटौँ अवतार परशुरामको जन्म पनि यसै तिथिमा भएको थियो। महाभारतको कथा अनुसार, वनवासको समयमा पाण्डवहरूलाई सूर्यदेवले कहिल्यै नसकिने ‘अक्षय पात्र’ प्रदान गरेको र वेदव्यासले यसै दिन महाभारतको लेखन कार्य सुरु गरेको विश्वास गरिन्छ। साथै, यसै दिन सत्य युगको अन्त्य र त्रेता युगको प्रारम्भ भएको मानिन्छ भने प्रसिद्ध तीर्थस्थल बद्रीनाथको ढोकापनि आजैका दिन खोलिने गरिन्छ।शास्त्रीय रूपमा यसको महिमा यसरी वर्णन गरिएको छ:

यत्किञ्चिद् दीयते दानं स्वल्मपं वा यदि वा बहु। तत्सर्वमक्षयं याति तस्मादक्षयसंज्ञिता ॥

(अर्थ: जे-जति दान दिइन्छ, चाहे त्यो थोरै होस् वा धेरै, ती सबै कुराको फल कहिल्यै समाप्त हुँदैन। त्यसैकारण यसलाई ‘अक्षय’ भनिएको हो।)

वर्तमान समयमा पनि अक्षय तृतीयालाई ‘उत्तम साइत’ मानिन्छ, जहाँ कुनै पनि शुभ कार्यका लागि पञ्चाङ्ग हेरेर साइत जुराइरहनु पर्दैन। यस दिन गर्मीको प्रभाव बढ्ने हुनाले शरीरलाई शीतलता दिन जौको सातु र सर्वत दान गर्ने तथा खाने विशिष्ट चलन छ।

यस दिनलाई ‘घडा दान’ गर्ने दिनका रूपमा पनि चिनिन्छ, जहाँ पानीले भरिएको कलश दान गर्दा पितृहरू तृप्त हुने जनविश्वास छ। यस दिन मठ-मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरूले बोतलको पिउने पानी वितरण समेत गरेको देखिन्थ्यो। अहिलेको आधुनिक समाजमा पनि नयाँ घरको जग हाल्न, नयाँ व्यवसायको खाता सुरु गर्न र सुन-चाँदी किन्न मानिसहरू यसै दिनलाई सर्वोत्तम ठान्छन्।

२. वर-पिपलको विवाह: प्रकृति र संस्कृतिको मिलन

वर र पिपलको विवाह गराउनु नेपाली समाजको एक अद्भुत वातावरणीय र आध्यात्मिक अभ्यास हो। वर (Banyan) लाई भगवान शिव र पिपल (Peepal) लाई भगवान विष्णु वा लक्ष्मीको स्वरूप मानिन्छ। प्राचीन कालमा ऋषिमुनिहरूले वर-पिपलको फेदमा बसेर तपस्या गर्थे भने सिद्धार्थ गौतमले पिपलकै फेदमा बुद्धत्व प्राप्त गरेका थिए, जसलाई बोधिवृक्ष भनिन्छ।

नेपालको ऐतिहासिक सन्दर्भमा, पुराना राजमार्गहरू र गोरेटोहरूमा बटुवाहरूको थकान मेट्नका लागि चौतारी बनाउने र त्यहाँ वर-पिपल रोपेर विधिपूर्वक विवाह गरिदिने चलन सदियौँ पुरानो हो। यसलाई पितृ तर्पण र मोक्ष प्राप्तिको उत्तम उपाय मानिन्छ। पिपलको महिमा गाउँदै शास्त्रमा भनिएको छ:

मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे। अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः ॥

(अर्थ: जसको जरामा ब्रह्मा, काण्डमा विष्णु र टुप्पोमा शिवको वास छ, त्यस्ता वृक्षका राजा पिपललाई नमस्कार छ।)

त्यस्तै, वर र पिपलको संयुक्त स्वरूप र तिनको कल्पवृक्ष समान फलको बारेमा अर्को श्लोक प्रसिद्ध छ:

वर पिप्पलौ विष्णुः ब्रह्मा विष्णु महेश्वरः। पत्रे पत्रे सुराः सर्वे कल्पवृक्ष नमोऽस्तु ते ॥

यस श्लोकले प्रस्ट पार्छ कि वर र पिपल केवल वनस्पति मात्र होइनन्; यिनीहरू साक्षात् त्रिमूर्ति स्वरूप हुन्। यसका प्रत्येक पात-पातमा समस्त देवी-देवताहरू (सुरहरू) निवास गर्दछन्। त्यसैले यसलाई भक्तहरूको इच्छा पूरा गर्ने ‘कल्पवृक्ष’ मानेर पूजा गरिन्छ। हिन्दू शास्त्रले त यहाँसम्म भनेको छ कि जसले एउटा पिपल, एउटा निम, एउटा वर, दशवटा फूलका बोट, दुईवटा अनार, दुईवटा बिमिरा र पाँचवटा आँपका रूख रोप्छ, उसले मोक्ष प्राप्त गर्छ र कहिल्यै नरक जानु पर्दैन।

वर्तमान सन्दर्भमा यसलाई वातावरण संरक्षणको उत्कृष्ट नमुनाका रूपमा हेरिन्छ। वर र पिपल दुवैले चौबीसै घण्टा अक्सिजन उत्पादन गर्ने र यी रूखहरू सयौँ वर्षसम्म बाँच्ने हुनाले यिनको विवाह र रोपणले जैविक विविधता जोगाउन मद्दत पुर्‍याउँछ। आज पनि धेरैले आफ्नो पुर्खाको स्मृतिमा वा विशेष उत्सवमा वर-पिपल रोप्ने र विवाह गराइदिने गर्छन्, जसले हाम्रो परम्परालाई प्रकृतिसँग जोडेर राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *