विशेष महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित भएको दाबी गरे पनि नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनको प्रश्नले पार्टी साँच्चै पुस्तान्तरणतर्फ बढेको हो कि केवल नेतृत्वको अनुहार फेरेर पुरानै शक्ति–सम्झौता दोहोर्याइएको हो भन्ने मूल प्रश्न फेरि उठाइदिएको छ।
काठमाडाैं । नेपाली कांग्रेसभित्र ‘पुस्तान्तरण’को बहस केही महिनाअघि सबैभन्दा आकर्षक राजनीतिक नारा बनेको थियो। पुरानो पुस्ताको थकाइ, निर्णय प्रक्रियामा जकडिएको परम्परागत गुटबन्दी, युवापंक्तिमा बढ्दो अधैर्य, र देशव्यापी रूपमा देखिएको जेन–जी असन्तोषको लहर-यी सबैको संगमबाट कांग्रेसभित्र विशेष महाधिवेशनको बाटो खुलेको थियो।
त्यसै विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा आएको कार्यसमितिले आफूलाई परिवर्तनको प्रतिनिधि दाबी गर्यो। सार्वजनिक रिपोर्टअनुसार १४ जनवरी २०२६ मा सम्पन्न विशेष महाधिवेशनबाट थापा नेतृत्व स्थापित भएको थियो, यद्यपि देउवा पक्ष र शेखर कोइराला समूह त्यस प्रक्रियाबाट अलगै रहे र त्यसको वैधानिकतामाथि विवाद सर्वोच्चसम्म पुगेको हाल याे विवाद पनि सर्बाेच्चबाटै टुंगिएकाे छ ।
तर, आज आएर प्रश्न उल्टै त्यही ठाउँमा उभिएको छ-के कांग्रेसभित्रको पुस्तान्तरण विचारको थियो, कि केवल पदको ? नारा नयाँ थियो, तर शक्ति–सम्बन्ध पुरानै रहे भने त्यसलाई पुस्तान्तरण भन्न मिल्छ कि मिल्दैन ? यही प्रश्न अहिले संसदीय दलको नेता चयन प्रक्रियाले सबैभन्दा तीक्ष्ण रूपमा उठाइदिएको छ।
सार्वजनिक रूपमा आएको विवरणअनुसार कांग्रेसभित्र दलको नेताबारे सहमति बन्न सकेको छैन; गगन थापाले मोहन आचार्यतर्फ झुकाव देखाएको, विश्वप्रकाश शर्माले भीष्मराज आङ्दम्बेलाई समर्थन गरेको, र अर्जुननरसिंह केसीको दवावमूलक भूमिकाले प्रक्रिया थप पेचिलो बनेको उल्लेख भएको छ।
यहीँबाट कांग्रेसभित्रको ठूलो विरोधाभास सुरु हुन्छ। जब पार्टी नेतृत्वले पुस्तान्तरणको राजनीतिक वैधता खोज्छ, उसले स्वाभाविक रूपमा युवामुखी, भविष्य–मुखी, संस्थागत, वैचारिक र सार्वजनिक रूपमा बचाउन सकिने छनोट गर्नुपर्छ। तर, दलको नेता जस्तो रणनीतिक पदमा पुग्दा फेरि पार्टी पुराना प्रभाव, पुराना सन्तुलन, पुरानै शक्ति–सम्झौता र पुरानै संरक्षक–राजनीतिमा फर्किन खोज्यो भने त्यो पुस्तान्तरण होइन, “पुरानै घरको रङ रोगन” मात्र ठहर्नेछ।
पुस्तान्तरणको नारा कि पद व्यवस्थापनको कसरत ?
कांग्रेसभित्र अहिले देखिएको दृश्य हेर्दा पुस्तान्तरणको भाष्य र व्यवहारबीच गम्भीर दूरी देखिन्छ। एउटा पुस्ताले अर्को पुस्तालाई नेतृत्व सुम्पिनु मात्र पुस्तान्तरण होइन; निर्णय–शैली, राजनीतिक भाषा, सार्वजनिक उत्तरदायित्व, संगठन सञ्चालन, उम्मेदवार छनोट, र सत्तासँगको सम्बन्धको ढाँचा पनि बदलिनुपर्छ। तर अहिले दलको नेता चयनको बहसमा नामभन्दा बढी तिनको वरिपरिको शक्ति–सम्बन्ध, व्यावसायिक पहुँच, गुटीय समीकरण र संकट–व्यवस्थापनको हिसाब किताब चलिरहेको देखिन्छ।
यही कारणले गगन थापा र विश्वप्रकाश शर्माले उठाएको पुस्तान्तरणको नारा कतै व्यक्तिगत शक्ति–स्थापना र रणनीतिक पद कब्जाको माध्यम त बनेन भन्ने आशंका बलियो भएको छ। किनकि, युवाको नाममा बुबा र काका पुस्ताहरू नेतृत्वमा पुगेर फेरि निर्णयमा पुरानै मान्छे, पुरानै खाका, पुरानै संरचना र पुरानै ‘सुरक्षित’ अनुहार बोकिने हो भने जनताले त्यसलाई नेपाली कांग्रेस परिवर्तन होइन, राजनीतिक पुनःप्याकेजिङ भनेर बुझ्दैछन्।
कांग्रेसको वास्तविक संकट : वैधानिकता, एकता र विश्वसनीयता
कांग्रेस अहिले केवल संसदीय दलको नेता खोजिरहेको पार्टी होइन; यो आफैं आफ्नो वैधानिकता, एकता र विश्वसनीयताको त्रिकोणमा अड्किएको पार्टी हो। एकातिर विशेष महाधिवेशनबाट आएको नेतृत्व छ, अर्कातिर त्यसलाई औपचारिक र अन्तिम रूपमा स्वीकार नगर्ने पुरानो शक्ति–समूह छ, र तेस्रोतर्फ चुनावी परिणामले पार्टीलाई प्रमुख विपक्षीको भूमिकामा धकेलेको नयाँ यथार्थ छ।
यस्तो अवस्थामा संसदीय दलको नेता केवल संसदीय प्रक्रिया चलाउने व्यक्ति हुँदैन; ऊ पार्टीको सार्वजनिक अनुहार, विपक्षी राजनीतिको स्वर, सरकारमाथि प्रहार गर्ने निष्कलंक, विवादरहित, विश्वसनीय चेहरा, र आगामी स्थानीय निर्वाचनसम्म संगठनलाई बाँधेर राख्ने मनोवैज्ञानिक आधार पनि हुन्छ। त्यसैले यो छनोट केवल दलको नेता छनोट होइन, कांग्रेसले आफ्ना कार्यकर्ता र मतदातालाई के सन्देश दिन्छ भन्ने निर्णायक क्षण हो।
बालेन्द्र शाहपछिको नयाँ राष्ट्रिय मनोविज्ञान
नेपालको वर्तमान राजनीतिक परिवेश २०७९ को मनोविज्ञानमा छैन। मार्च २८, २०२६ मा बालेन्द्र शाह प्रधानमन्त्री बनेसँगै देशको राजनीतिक लय नै बदलिएको छ। सार्वजनिक रिपोर्टहरूमा उनको सरकारलाई ‘जेन–जी आकांक्षा’, सुशासन, भ्रष्टाचारविरुद्ध कठोरता, र परम्परागत दलविरुद्धको वैकल्पिक जनमूडको प्रतिनिधि भनेर चित्रित गरिएको छ।
यहीँ कांग्रेसको कठिनाइ सुरु हुन्छ। बालेन्द्र शाह नेतृत्वको नयाँ शासन–शैलीसँग टक्कर दिन कांग्रेसले केवल पुरानो संसदीय अनुभवको कार्ड खेल्दैमा टिक्न सक्दैन। उसलाई भाषिक रूपमा पनि नयाँ, नीतिगत रूपमा पनि चुस्त, नैतिक रूपमा पनि बचाउन सकिने, र पुस्तागत रूपमा पनि अर्थपूर्ण चेहरा चाहिन्छ। सरकारविरुद्ध कठोर प्रतिपक्ष उभ्याउन सक्ने तर आफैं विवादको बोझ नबोकेको नेता खोज्नु आज कांग्रेसको बाध्यता हो।
मोहन आचार्य विकल्प किन प्रश्नको घेरामा ?
युवा कांग्रेस, जेन-जी समूहले उठाएको मूल चिन्ता यहीँ जोडिन्छ-यदि दलको नेता बनाइने सम्भावित अनुहार ठूला ठेक्का, व्यवसायिक सम्बन्ध, आर्थिक प्रभाव वा सम्भावित स्वार्थ–संघर्षको छायाँबाट मुक्त देखिँदैन भने प्रमुख विपक्षी दलको नैतिक आक्रमण क्षमता सुरुदेखि नै कमजोर हुन्छ। प्रमुख विपक्षी दलको नेता संसदमा सरकारमाथि प्रहार गर्ने व्यक्ति मात्रै होइन, सत्ताको विकल्पका रूपमा उभिनुपर्ने सार्वजनिक साख भएको पद हो। त्यसैले कुनै पनि विवादास्पद आर्थिक पृष्ठभूमि बोकेको चेहराले तत्काल राजनीतिक क्षति बेहोर्न नसक्ला, तर दीर्घकालमा कांग्रेसको नैतिक आधार खियाउने जोखिम ठूलो हुन्छ।
कांग्रेस अहिले संक्रमणकालीन मनःस्थितिबाट गुज्रिरहेको छ। यस्तो बेला दलको नेता चयनले दुईमध्ये एक बाटो तय गर्छ—या त पार्टीले नयाँ युगको संकेत दिन्छ, या पुराना समीकरणको बन्दी बनेर आफ्नै नारा खण्डित गर्छ। यही अर्थमा संसदीय दलको नेता चयन कांग्रेसका लागि संगठनात्मक भन्दा बढी मनोवैज्ञानिक र सभ्यतागत निर्णय बनेको छ।
अर्जुननरसिंह केसी र भीष्मराज आङ्दम्बे :
सम्मानित नाम, तर समयको माग हाेइन ?
अर्जुननरसिंह केसी र भीष्मराज आङ्दम्बेजस्ता नेताहरू कांग्रेस परम्परा, त्याग, संसदीय अनुभव र संस्थागत स्मृतिका वाहक हुन सक्छन्। यसमा विवाद छैन। तर समस्या ‘सम्मान’ र ‘उपयुक्तता’ छुट्याउन नसक्नुमा हो। कुनै नेता सम्मानित हुनु र समयको सबैभन्दा उपयुक्त संसदीय चेहरा हुनु एउटै कुरा होइन।
आज कांग्रेसलाई चाहिएको नेता अतीतको प्रमाणपत्र बोकेर आउनेभन्दा बढी भविष्यको भाषा बोल्न सक्ने व्यक्ति हो। पार्टीभित्र बृद्ध नेताहरूको भूमिका मार्गदर्शक, सल्लाहकार, संस्थागत स्मृति–संरक्षक र सन्तुलनकर्ता हुन सक्छ; तर दलको नेता जस्तो फ्रन्टलाइन पदमा पार्टीले फेरि पुरानै प्रतीकहरू अगाडि सारिरहने हो भने त्यसले कांग्रेसभित्र युवापुस्ताको हतोत्साह बढाउँछ। त्यसमाथि पुस्तान्तरणको नारा बोकेर सत्तासमीप पुगेको नेतृत्व आफैं यस्तो समझौताको संरक्षक देखियो भने त्यसको राजनीतिक क्षति दोब्बर हुन्छ।
जेन–जीको ‘भावना’ समेट्ने नाम किन योगेश गौचन थकाली ?
यहीँ आएर योगेश गौचन थकालीको नाम केवल एक सांसदको नाम भएर होइन, एउटा राजनीतिक संकेतका रूपमा उठ्छ। सार्वजनिक निर्वाचन विवरणअनुसार उनी मुस्ताङ–१ बाट २०७९ र २०८२-दुवै संघीय निर्वाचनमा विजयी भएका सांसद हुन्। २०८२ को निर्वाचनमा उनले ३,३०७ मत ल्याएर जितेका थिए; उनी नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य, महाधिवेशन प्रतिनिधि, र स्नातकोत्तर तहसम्म अध्ययन गरेका अपेक्षाकृत युवा नेता हुन्। उनको जन्ममिति २०५० वैशाख २७ र उमेर ३२ वर्ष उल्लेख छ।
दोस्रोपटक प्रत्यक्ष चुनाव जित्नु आफैंमा सानो कुरा होइन, झन् मुस्ताङजस्तो भूराजनीतिक, सांस्कृतिक, सामरिक र विकासीय दृष्टिले संवेदनशील जिल्लाबाट। मुस्ताङ आज केवल हिमाली जिल्ला होइन; अन्तर्राष्ट्रिय रुचि, बहुमूल्य खनिजको चर्चा, सीमाक्षेत्रीय संवेदनशीलता, पर्यटन, भू–अर्थनीति र सम्पदा विवादका कारण चर्चाको केन्द्र बनेको भूभाग हो। यस्तो जिल्लाबाट प्रत्यक्ष जनमत लिएर आएको युवा सांसदको राजनीतिक तौल पार्टीभित्र प्रतीकात्मक मात्र होइन, रणनीतिक पनि हुन्छ।
योगेश गौचन थकालीको पक्षमा सबैभन्दा बलियो तर्क के हो भने उनी पुस्तान्तरणलाई भाषण होइन, संरचनात्मक अर्थ दिन सक्ने नाम हुन सक्छन्। उनी गुटीय इतिहासको भारी बोकेका नेता होइनन्, न त पुरानो शक्ति–केन्द्रका पूर्ण उत्पादनझैं देखिन्छन्। उनको चेहरा कांग्रेसका परम्परागत कार्यकर्तालाई पूर्णतः अपरिचित पनि छैन, र नयाँ पुस्तालाई अस्वीकार्य पनि छैन। अर्थात् उनी “continuity” र “change” बीचको एउटा सन्तुलित सेतु बन्न सक्ने सम्भावना बोकेका युवा सांसद र नेता हुन्-योगेश गौचन थकाली।
किन यही समय कांग्रेसले साहस देखाउनुपर्छ ?
कांग्रेसको अहिलेको सबैभन्दा ठूलो समस्या पराजय मात्र होइन, पराजयपछि पार्टीले आफैंलाई कसरी परिभाषित गर्छ भन्ने हो। यदि उसले प्रमुख विपक्षीको भूमिकामा बसेर पनि नयाँ राजनीतिक संवेदना बुझ्न सक्दैन भने स्थानीय तहको निर्वाचनसम्म पुग्दा कार्यकर्ता थकाइ, निराशा र पलायनको सामना गर्नु पर्नेछ। जेनजीकाे भावना समेटेर कांग्रेसले निर्णय गरेन भने कार्यकर्ता र मध्यस्तरका नेताहरूलाई स्थानीय निर्वाचनसम्म थामेर राख्नु “फलामको चिउरा” बन्न सक्छ।
त्यसैले कांग्रेसले अब संगठन बचाउने, युवा पंक्तिलाई आश्वस्त गर्ने, बालेन्द्र शाह नेतृत्वको सरकारसँग वैचारिक तथा राजनीतिक फ्रिक्वेन्सीमा बहस गर्न सक्ने, र संसदमा आधुनिक प्रतिपक्षको भाषा बोल्न सक्ने नेता रोज्नुपर्छ। यो गणितको चुनाव होइन, सन्देशको चुनाव हो।
योगेश गौचन थकालीजस्तो तुलनात्मक रूपमा युवा, प्रत्यक्ष निर्वाचित, भौगोलिक रूपमा रणनीतिक क्षेत्रबाट आएको, संगठनसँग जोडिएको र भावी नेतृत्वका रूपमा विकसित गर्न सकिने व्यक्तिलाई दलको नेता बनाउनु कांग्रेसका लागि केवल व्यक्तिचयन हुने छैन; यो पार्टीले आफ्नै नाराप्रति इमान राख्यो कि राखेन भन्ने सार्वजनिक परीक्षण हुनेछ।
अन्तिम प्रश्न : कांग्रेस नारा बचाउँछ कि अनुहार मात्रै ?
आजको मूल प्रश्न सरल छ-विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफू उठाएको पुस्तान्तरणको नारा व्यवहारमा प्रमाणित गर्छ कि गर्दैन ? यदि फेरि पुरानै नाम, पुरानै शक्ति-सन्तुलन, पुरानै संरक्षकहरूकै काँधमा दलको नेता थमाइयो भने कांग्रेसले आफ्नै राजनीतिक भाष्य आफैं खारेज गरेको ठहरिनेछ।
संसदीय दलको नेता चयन कांग्रेसका लागि अहिले केवल एक पदपूर्ति होइन-यो पार्टीको भविष्यको एक्स-रे हो। त्यस एक्स-रेमा पुरानै हड्डी देखिने कि नयाँ रक्तसंचार, अबको केही दिनले त्यसको उत्तर दिनेछ।



