नेपालगन्ज, ६ वैशाख : बाँकेको खजुरामा आज सम्पन्न भएको एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जितेको छ ।
खजुरा–४ डी गाउँस्थित रङ्गशालामा भएको फाइनल खेलमा जष्ट जोनले जेविएम क्लब लखनउ, भारतलाई ४–० गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । जष्ट जोनका लागि कलव कोनले दुई गोल गरे ।
यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे । प्रतियोगितामा जष्ट जोनका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दी म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दी पीस घोषित भए ।
यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्वाधिक गोलकर्ता बने । उपाधिसँगै जष्ट जोनले रु सात लाख तथा उपविजेता जेविएमले रु चार लाख प्राप्त गरे । गत चैत ३० गतेदेखि सुरु भएको सो प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । –––



