धरान (सुनसरी), ६ वैशााखः प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत २०८३ वैशाख ५ गते शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
खेलको पाँचौँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारूले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने प्रताप सिंह राईले ७८औँ मिनेटमा थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
सातदोबाटोका तर्फबाट सकल रेग्मीले ४७औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । वैशाख ५ गतेकाे खेलको ‘प्लेयर अफ दी म्याच’ प्लानिङ ब्वाइजका फागुराम थारू घोषित भए । उनलाई नगद रु १० हजार प्रदान गरिएको कार्यक्रम संयोजक अनुरोध थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल भाेलि वैशाख ७ गते हुनेछ । विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
–––



