काठमाडौँ । नेपाली सेनाको रणनीतिक मस्तिष्क उत्पादन गर्ने थलो मानिने शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम औपचारिक रूपमा सुरु भएको छ। २०८३ वैशाख ४ गते आयोजित उद्घाटन कार्यक्रममा बलाधिकृत रथी प्रदीपजंग के.सी.ले तालिमको शुभारम्भ गरेका हुन्।

उद्घाटन मन्तव्य दिँदै रथी के.सी.ले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा चुनौतीलाई गहिरो विश्लेषण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै तालिमको मूल उद्देश्य भएको स्पष्ट पारे। उनले शिक्षार्थी अधिकृतहरूलाई अनुभव आदान–प्रदानमार्फत व्यवहारिक योजना तयार गरी कार्यान्वयन गर्न सक्षम बन्नुपर्नेमा जोड दिए।
यो तालिम केवल सैनिक अनुशासनको अभ्यास नभई रणनीतिक सोच, निर्णय क्षमता र नेतृत्व विकासको प्रयोगशाला जस्तै रहेको सैन्य वृत्तको बुझाइ छ। विशेषतः बदलिँदो भू–राजनीतिक समीकरण, क्षेत्रीय शक्ति सन्तुलन र आन्तरिक सुरक्षाका नयाँ आयामलाई समेट्दै अधिकृतहरूलाई ‘कमाण्ड–लेभल थिङ्किङ’मा तयार पार्ने उद्देश्य राखिएको छ।
तालिममा नेपाली सेनाका ४ जना महिला अधिकृतसहित ७९ जना अधिकृत सहभागी छन्। यसका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ जना गरी ३ जना अधिकृतको सहभागिता रहेको छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि मित्रराष्ट्र चीनका २ जना तथा अमेरिका, बेलायत, बङ्गलादेश, भारत, केन्या, मालदिभ्स, नाइजेरिया र पाकिस्तानका १/१ जना गरी १० जना विदेशी अधिकृत सहभागी भएका छन्। यसरी कुल ९२ जना शिक्षार्थी अधिकृत तालिममा समावेश भएका छन्।
वि.सं. २०४९ साल पौष १४ गते स्थापना भएको उक्त कलेजले हालसम्म १,५०७ जना अधिकृत उत्पादन गरिसकेको छ। जसमा नेपाली सेनाका १,३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ तथा विभिन्न मित्रराष्ट्रका १३२ जना अधिकृत रहेका छन्।
कार्यक्रममा रथीवृन्द, सुरक्षा निकायका उच्च अधिकारी, कलेजका पूर्व शिक्षाध्यक्ष, प्राध्यापक, विभिन्न देशका सैनिक सहचारी तथा शिक्षार्थी अधिकृतका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो।
विश्लेषण : ‘सैनिक कक्षा’बाट रणनीतिक नेतृत्वतर्फ
शिवपुरीको यो कलेज केवल तालिम केन्द्र मात्र होइन, नेपालका भावी सैन्य रणनीतिकारहरू तयार पार्ने ‘थिङ्क–ट्यांक’को रूपमा विकसित हुँदै गएको छ। यहाँबाट निस्कने अधिकृतहरूले युद्ध मैदान मात्र होइन, नीति निर्माण र राष्ट्रिय सुरक्षाको ठूलो चित्रमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको छ।



