गण्डकी, १ वैशाख : नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँवर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँवर्ष मनाउन पोखरा आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् ।
लेकसाइड क्षेत्री पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ । मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । मिति २०८२ चैत २९ गते आइतबारदेखि सुरु भएको महोत्सव आज मधयरातसम्म चल्नेछ । आयोजक होटल सङ्घ पोखरामा अध्यक्ष लक्ष्मण सुवेदीले २१औँ संस्करणको महोत्सव आयोजना भइरहेको बताउनुभयो ।
तीन दिनसम्म दसौँ हजार पर्यटकले महोत्सव अवलोकन गर्ने उहाँको भनाइ छ । नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा फेवा महोत्सव स्थापित भइरहेको अध्यक्ष सुवेदीले बताउनुभयो । महोत्सवमा संस्कृति संरक्षण, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको उहाँको भनाइ छ । लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना भइरहेको हो । ‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनीलगायत सडकमै राखिएको छ ।
सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । पर्यटकीय याम पनि चलिरहेकाले यतिबेला पोखरामा विदेशी पर्यटकहरूको पनि चहलपहल बढेको छ । महोत्सवस्थलमा नेपाली पञ्चेबाजा र गीतसङ्गीतमा विदेशीहरू पनि नाच्दै, रमाउँदै गरेका देखिन्छन् । विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रूपमा स्थापित भएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस्ता मेलामहोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने बताउनुभयो । उहाँले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरूको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राख्नुभयो । पोखरामा हुने यस्ता गतिविधिले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने, आर्थिक अवसर सिर्जना हुने विश्वास लिइएको छ ।
नयाँ वर्षका दिन फेवातालमा रहेको ताल बाराही मन्दिरमा पनि भक्तजन र पर्यटकको भीड लागेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा पहारीले बताउनुभयो । “नयाँ वर्षमा देवी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुन् र वर्षभरि कुनै दुःखकष्ट नपर्ने जनविश्वास रहेको छ”, उहाँले भन्नुभयो, “आज बिहान ६ः०० बजेदेखि नै ताल बाराहीमा भक्तजनको घुइँचो लागेको छ ।” —




