काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष २०८२ चैत २६ गते औपचारिक सिफारिस गरेको छ ।

रास्वपाका सभापति रवि लामिछानेद्वारा हस्ताक्षरित पत्रमा मन्त्री साहले पदको दुरुपयोग गरेको आरोप लगाइएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनअनुसार उनले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा एक व्यक्तिलाई नियमन गरेको र यसले पार्टीको छवि, आदर्श र मर्यादामा आँच पुगेको उल्लेख गरिएको छ ।
पत्रमा २०८२ चैत २५ गते आयोगबाट प्राप्त विवरणका आधारमा आवश्यक कारबाहीको सिफारिस गरिएको जनाइएको छ । साथै, पार्टी विधानको धारा २५(४)(क) अनुसार पदको दुरुपयोग गरेको ठहर भएमा ‘राइट टु रिकोल’ मार्फत जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने प्रावधान रहेको पनि उल्लेख छ ।
रास्वपाले यस विषयलाई गम्भीर रूपमा लिँदै मन्त्री साहलाई जिम्मेवारीबाट हटाउनुपर्ने संकेत गरेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत यसबारे सचेत गराउन सिफारिस गरिएको छ । यस घटनाले सत्तारूढ दलभित्रै अनुशासन र नैतिकताको प्रश्न फेरि उठाएको छ ।




