• शुक्रबार-कार्तिक-२-२०८१

गैरजिम्मेवार मुख्यसचिव अर्याल असफल सिद्ध 

 

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले २०८१ असोज १२ र १३ गते परेको अबिरल वर्षातपछिको बाढी, डुबान र पहिरो परेका पीडितको मर्मलाई खासै महत्व नदिएको भन्दै उनको आलोचना चुलिएको छ । मुलुकले बेहोरेको यस्तो असाधारण स्थिति र विपत्तिमा परेका पीडित नागरिकलाई सरकारी संयन्त्रसँग समन्वय गरी युद्धस्तरमा परिचालन गर्ने दायित्व पनि मुख्यसचिव अर्यालकै भएको बताइन्छ । मातहतका सुरक्षा निकाय र कर्मचारी संयन्त्रलाई परिचालन गर्दै उद्धार, उपचार र राहतमा खटाउनुपर्नेमा उनी चुकेको भन्दै उनको कार्यशैलीको आलोचना हुँदै आएको छ ।

 

विपत्तको बखत उनी गृह जिल्ला स्याङ्जामा स्वागत सम्मान कार्यक्रममा रमाउँदै गर्दा खोज, उद्धार, उपचार र राहत वितरणमा समन्वय गर्ने नेतृत्व बेखबर हुँदा उद्धारमा सिधा असर परेको प्रधानमन्त्री केपी ओली बढी आलोच्य हुनु परेको थियो । यो गम्भीर विषय प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यस्था तथा सुशासन समिति बैठकमा सांसदहरुले मुख्यसचिव अर्यालको चर्को आलोचना गरेका थिए । बाढी, पहिरो र डुवानमा परी २ सय ४४ जनाले अकालमा ज्यान गुमाउनुका साथै ५ दर्जन भन्दा बढीको स्थिति अझै अज्ञात रहेको सुरक्षा निकाय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरसमेत मुलुकमा अचानक बिपत्ति आइलाग्दा विदेश भ्रमणमा व्यस्त रहेका थिए ।


अविरल वर्षापछि नदी र खोलाहरुमा कल्पना गरेभन्दा बाहिरको बाढी आएपछि नदी किनार र करिडोरमा बसोवास गरेका नागरिकहरु बिचल्लीमा परेका थिए । उनीहरुको उद्धार समयमा हुन त परै जावोस् ४÷५ घण्टा याचना गर्दा पनि उद्धार हुन सकेन । जसले गर्दा वर्तमान सरकार नै निकै आलोचित हुन परेको थियो । जसमा मुख्यसचिव अर्यालको कार्यशैली मुख्य जिम्मेवार रहेको बताइन्छ । मुलुकमा ठूलो विपत्ति आइलागेपछि तुरुन्त काठमाडौं फर्किएर समन्वय गरी सुरक्षाकर्मीसहित हेलिकोप्टर परिचालन गरी उद्धार गर्न नसक्दा ठूलो जन–धनको क्षति हुन गएको बताइएको छ ।


त्यति मात्र होइन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भिजिबिलिटी कम भएको भन्दै नेपाली सेना र निजी हेलिकप्टर कम्पनीहरूलाई उद्धार उडानमा अनुमति नदिएको समाचारहरु पनि बाहिर आएका छन् । यस्तो अवस्थामा सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखको आपतकालीन बैठक बोलाएर प्राकृतिक विपदबाट तत्काल कसरी नागरिकहरूलाई जोगाउने भन्ने दायित्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको हो । तर, प्रधानमन्त्री ओली अमेरिकाम रहेका कारण तत्काल फर्किनसक्ने अवस्था थिएन ।


त्यसकारण विपदमा परेकाहरूको खोज उद्धार, उपचार र राहत उपलब्ध गराउने, विपदमा परिचालन हुने सुरक्षाकर्मीहरूलाई स्रोत–साधन र उपकरणले उपलव्ध गराएर परिचालन गर्ने जिम्मेवारी मुख्यसचिव अर्याल र प्रधानमन्त्री कार्यालयको थियो । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका उपप्रधान एवम् शहरी मन्त्री प्रकाशमान सिंहको पनि समन्वयमा निकै कमजोरी देखिए । असहज स्थिति उत्पन्न हुँदा यस्ता विषयमा सम्वन्धित मन्त्रालयका मन्त्री र सचिवहरु गहन छलफल गरी निर्णय गर्नुपर्ने समयमा मुख्यसचिव अर्याल जिल्लामा सम्मान खाएर रमाएर बस्नु भनेको जिम्मेवारी र संवेदनहीन भएको दावी कर्मचारी स्रोतले गरेको छ । (साँघु साप्ताहिक, २०८१ असोज २२–२८)

प्रतिकृया दिनुहोस