• मंगलबार-असोज-१-२०८१

वरिष्ठलाई पन्छाएर कनिष्ठलाई डीजी : उपप्रधानमन्त्री सिंहविरुद्ध चर्कियो असन्तुष्टि

 

काठमाडौँ । शहरी विकास मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै गएको २०८१ भदौ १२ गते बुधवार शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक परिवर्तन गरेको छ । उपप्रधान तथा शहरी बिकास मन्त्री सिंहले महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री सिंहले विभागको आधा दर्जन सिनियर सहचिवहरुलाई पन्छाएर आठौं नम्वरका मचाकाजी महर्जनलाई करोडौंको कमिशनको खेती हुने महानिर्देशकको जिम्मेवारीमा खटाइएको छ । जसले गर्दा मन्त्रालयका वरिष्ठ सहसचिवहरुले असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।


मन्त्रालयले बिभागको नेतृत्वमा रहेका महानिर्देशक कुमार प्रसाद घिमिरेलाई भने भवन प्रबिधि तथा अनुसन्धान तालिम केन्द्रमा सरुवा गरेको छ । विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रहेका महर्जनलाई महानिर्देशको जिम्मेवारी दिंदा वरिष्ठ र मर्यादाको कुनै ख्याल नगरिएको भन्दै मन्त्री सिंहको आलोचना भएको छ । आधा दर्जन भन्दा बढी सिनियर सहसचिवहरूलाई पन्छाएर कनिष्ठ महर्जनलाई मन्त्री सिंहले महानिर्देशकको जिम्मेवारी दिएको भन्दै कर्मचारीहरुले भने आश्चर्य प्रकट गरेका छन् ।


महानिर्देशक महर्जनको जोडबल भन्दा पनि मन्त्री सिंहले आफूअनुकूलका सहसचिवलाई महानिर्देशकमा खटाएको बुझिएको छ । त्यति मात्र होइन मन्त्री सिंहले अर्बौंको ठेक्का पट्टा र कारोडौं कमिशन प्राप्त हुने विभागमा निर्माण व्यवसायीहरुको सेटि¨ र चाहना अनुसार नै विभागको नेतृत्व परिवर्तन गरेको स्रोतले बताएको छ । खासगरी मन्त्री सिंहले  निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायत समूहरुको जोडबलमा नै सेटि¨ मिलाएर सहसचिव महर्जनलाई विभागको उपमहानिर्देशकको जिम्मेवारीबाट नेतृत्वमा लैजान बाध्य बनाएको स्रोतले दावी गरेको छ ।


महर्जनले उपमहानिर्देशकसहित विशेष भवन आयोजना निर्देशक रहँदा बहुचर्चित र ढिलासुस्तीमा नाम कमाएको संसद भवन, भैंसे पार्टीको मन्त्री निवास, प्रदेश प्रमुख निवासलगायत विशिष्ट व्यक्तिहरूको आवास निर्माणमा प्रसंशा र आलोचना दुबै पाएका थिए । मन्त्रालयले भदौ १२ गते बुधवार गरेको सरुवाअनुसार अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजना निर्देशकमा भने नारायण भण्डारीलाई खटाइएको छ । समितिको जिम्मेवारीमा रहेका सहसचिव रविन्द्र बोहरालाई विभागको उपमहानिर्देशकसहित आवास महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


उपमहानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव प्रकीर्ण तुलाधरलाई विभागमै निरन्तरता दिइएको छ । भवन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका उनको जिम्मेवारी तोकिएको छैन । मन्त्री सिंहले केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव कोषनाथ अधिकारीलाई इकाईसँगै विभागको उपमहानिर्देशकमा खटाइएको छ ।


तर, उनी आगामी २०८१ असोज पहिलो हप्ता उमेरहदका कारण सेवा निवृत्त हुने तयारीमा छन् । विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका नारायण प्रसाद भण्डारीलाई भने भवन प्रविधि तालिम केन्द्रमा खटाइएको छ । तालिम केन्द्रका प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश ठाकुरलाई विशेष भवनको आयोजना प्रमुखमा खटाइएको छ । मन्त्री सिंहले मन्त्रालयमा एकसे एक नेपाली काँग्रेसनिकट सहसचिव रहेतापनि जाति विशेषलाई प्राथमिकता राखेर असन्तुलित रुपमा विभागको नेतृत्वमा खटाइएकोमा कर्मचारीहरुले आश्चर्य प्रकट गरेका छन् । (साँघु साप्ताहिक, २०८१ भदौ १७) 
 

प्रतिकृया दिनुहोस