चितवन, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताएका छन ।
प्रचण्डले भने, “सबैले आ–आफ्नो ठाउँबाट मिहेनत गरेर विकास निर्माण र समृद्धिको दृष्टिले चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ ।”
भरतपुर महानगरपालिका पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा आजदेखि शुरु भएको शैक्षिक, भौतिक तथा आर्थिक विकासका लागि सञ्चालित धनधान्यान्चल एवं विराट नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन ।
जिल्लामा नारायणी, राप्ती, रिउ जस्ता महत्वपूर्ण नदी रहेको तथा यहाँका जनताको मनोबल उच्च रहेको भन्दै अध्यक्ष प्रचण्डले विकास निर्माण र समृद्धिका काममा सबैले दिल खोलेर अगाडि बढ्नुपर्ने बताए । जिल्लामा सडक कालोपत्रेसँगै तटबन्ध सहितको चक्रपथ निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढिसकेको भन्दै उनले तल्लो तहबाट निगरानी राख्न आग्रह गरे ।
गत निर्वाचनको समयमा सडकको धुलोमा हिड्नु परेको चर्चा गर्दै उनले आगामी निर्वाचनसम्म यो समस्या भोग्नु नपर्ने बताए । आफू चितवन क्षेत्र नं ३ को सांसद मात्रै नभएर देशको पूर्वप्रधानमन्त्री, पार्टीको अध्यक्ष, संविधान निर्माण, निर्वाचन प्रक्रिया र सिङ्गो देशको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भएकाले देशभर नै विकास र समृद्धि ल्याउन लागि परेको बताए । सो विद्यालय निर्माणमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने भन्दै उनले सबैले साथ र सहयोग गर्न आग्रह गरे ।
नेकपाका महासचिव विष्णु पौडेलले चितवनका जनताले आफ्नो प्रतिनिधिको महत्व बुझे पुग्ने बताउँदै उहाँले पानी, सडक, चक्रपथ लगायतका विकास निर्माणको चिन्ताबाट माथि उठेर केन्द्रबाट आएको बजेटको सही सदुपयोग गर्न आग्रह गरे । पाँच वर्षमा चितवन देशकै नमूना जिल्ला बन्ने महासचिव पौडेलले बताए ।
महायज्ञ आयोजक समितिका संयोजक नारायणप्रसाद आचार्य, बलराम सापकोटा, चिरञ्जीवि पोखरेल, पण्डित बालयोगेश्वर महाराज, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपाने, वडाअध्यक्ष चित्रसेन अधिकारी लगायतले विद्यालयको विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए । पुस ९ गतेसम्म चल्ने सो महायज्ञबाट रु पाँच करोड सङ्कलन गर्ने आयोजकले लक्ष्य लिएको छ ।



