गोर्खा शाह बंशको सर्बप्रथम राजा द्रब्य शाहलाई वि.सं. १६१६ मा लिगलिग कोटको राजा बनाइ सोही वर्ष लिग लिगकोट राज्यले गोर्खा नाम गरेको राज्य समेत स्थापना गर्न काजी गणेश पाँडेलगायतका भारदारहरुको ठुलो हात छ । काजी गणेश पाँडे ब्राम्हण हुन् । पछि उनले बेजातीय श्रीमती ल्याइतेबाट जन्मेका सन्तानहरु क्षेत्री पाँडे बने । तिनै सन्तानका क्रमिकता मूलकाजी कालु पाँडे अर्थात् बंशिधर पाँडे हुन् । मूल काजी बंशिधर अर्थात् कालु पाण्डेका एक छोरी चित्रावती र तीन छोराहरु काजी बंश राज, काजी रणसुर र मूलकाजी दामोदर पाँडे थिए ।
चित्रावतिको विवाह बडामहाराज पृथ्वीनारायण शाह आफैले केटी मागी प्रधानसेनापति काजी शिवराम सिंह बस्न्यातका माहिला छोरा प्रधानसेनापति काजी केहर सिंह बस्न्यातसँग गराइ दिएका थिए । ईतिहास क्रुर छ । काजी बंश राज पाँडे र मूलकाजी दामोदर पाँडे दुबैलाई नेपाल दरबारको आदेशबाट कटाइयो अर्थात् मृत्युदण्ड दिलाइयो । कालु पाँडेका माहिला छोरा काजी रणसुर पाँडे लडाईमा मारिए ।
ईतिहासले यी रणसुरलाई पछाडि पारेको छ । किनकि पाँडे बंशको ईतिहास लेख्ने सबैले यिनलाई खास प्राथमिकतामा राखेको पाइन्न । यिनलाई वि.सं. १८२६ को भक्तपुरको विजय युद्धमा सरदार पद दिएर लड्न पठाइएको थियो । यिनका भाइ दामोदर पाँडे वि.सं. १८३०–३१ सम्म पनि सरदार नै रहेका थिए । काजी रणसुर एक लडाकु सिपाही थिए । आफ्ना पिता मूलकाजी कालु पाण्डे कीर्तिपुरको पहिलो लडाईंमा मारिएपछि बडामहाराज स्वयम्ले कालु पाण्डेका सन्तानलाई हुर्काउने, जागिर लगाउने अनि विवाह गर्ने काम गरेका थिए ।
उस बखतको प्रचलन अनुसार काजी सरदारलगायतका सन्तानहरुले पिताको योगदानको कदर स्वरुप सेनाको ठुलो सानो पदमा पजनी पाएपछि ती नयाँ सैनिकहरुले आफ्नै पिता, दाजु र आफन्तको मातहतमा केही बर्ष लडाईं भिडाइ गर्नु पर्दथ्यो । अर्थात् आफ्ना अभिभावक योद्धाहरुकै रेखदेखमा नयाँ सैनिकले तालिम लिने, युद्धकला सिक्ने काम गर्थे । अर्थात् लडाईंको लागि काबिल बन्थे । उस बखत एउटा विश्वासिलो काजीले आफ्ना नजिकका नाता कुटुम्बहरुलाई मातहतका कमान्डर नियुक्ति गर्थे राजा वा अन्य आधिकारिक अंगमार्फत । यो कार्यबाट लडाईंको बेलामा अर्थात् दुःखको समयमा धोका हुँदैनथियो । यो संसारभर चलेको संस्कार थियो । यो संस्कारलाई मूल्याङ्कन गर्दा काजी रणसुर पाँडे उनकै पिता कालु पाँडे र दाजु बंशराज पाँडेकै मातहतमा तालिम प्राप्त थिए भने उनले दुधकोसी पूर्वको एकीकरण युद्धहरु पछि नै वि.सं. १८२९ तिर काजी पद पाइसकेका थिए । त्यसपछि मात्र दामोदर पाँडे काजी हुँदै मूलकाजी बने ।
रणसुरको जन्म १८०१ साल बैशाखमा भएको थियो । उनले पिता कालु पाँडे कै समयमा बडामहाराजलाई भनसुन गरेर १४ वर्षको उमेरमा सेनामा पजनी पाए । उस बखतको १२ वर्ष उँभो र ८० बर्ष उधोका पुरुषहरु सेनामा काम गर्न योग्य ठानिने प्रचलन अनुसार यिनले पनि १४ बर्ष लाग्ना साथ सेनामा जागिर पाए र कान्तिपुर र भक्तपुरमाथिको एकीकरण हमलामा यि सरदार भैसकेका थिए । त्यसभन्दा अगाडि रणसुरले मकवानपुरको विजय हमला, मुगल शक्ति मिर कासिमको फौज विरुद्धको हमला, क्याप्टेन जर्ज किनलकले नेतृत्व गरेको अंङ्गेज फौज विरुद्धको सिन्धुलीको लडाईं, आदि लडाईं लडिसकेका थिए । वि.सं. १८२८ पुष ५ गते सतहु राज्यको सतहु कोट नजिक भएको युद्धमा रणसुर उनका भिनाजु काजी प्रधान सेनापति केहर सिंह बस्न्यातको नेतृत्वमा लडाईं लडे । यिनका दाजु बंशराजले पनि यही लडाईं लडेका थिए ।
करिब ५०० नेपाली सेना सहित काजी केहर सिंह बस्न्यातले यो युद्धमा वीरगति पाए भने बंशराज र रणसुर दुबै जना सतहु लगायत चौबिसे फौजको जंगी कैदी बने । पछि चौबिसे फौजले छाडेपछि काठमाडौं फर्के र बडामहाराजको आदेश अनुसार दुधकोसी पूर्वको एकीकरणमा आफ्ना छोराहरु सरदार कनकसिंह पाँडे र सरदार राम गोपाल पाँडे पनि साथमा लिएर खट्टिए । प्रधानसेनापति अभिमान सिंह बस्न्यातको कमान्डमा काजी रणसुर पाँडे, सरदार दामोदर पाँडे, सरदार राम कृष्ण कुँवर लगायत दुधकोसी पूर्वको लडाईंमा खट्टिएका थिए ।
खोटाङको हलेसी गढीलगायतको युद्धपछि नेपाली सेना दुई भागमा बाँडिएर एउटा टोली चिसन्खु कोट हुँदै दिङ्ला पुग्यो भने अर्को टोली काजी रणसुर पाँडेको नेतृत्वमा खोटाङ, सिमपानी, पानधारे भञ्ज्याङ, टक्सार, दिङ्ला, सतिघाट, तुम्लिङ्टार, खराङ हुँदै चैनपुर पुग्यो । चिसंखु कोटबाट आउने फौजको नेतृत्व अभिमान सिंह बस्न्यातले गरेका थिए । यी दुबै टोलीको भेट दिङ्लामा भयो । दिङ्ला सैनिक, आर्थिक, राजनैतिक, रणनैतिक र शैक्षिक महत्वबाट पूर्वको बलियो केन्द्र भएकोले काजी रणसुरलाई दिङ्लाको नियन्त्रन गर्न, त्यस क्षेत्रमा न्याय निसाफ दिन र त्यसभन्दा पूर्व तर्फको सैनिक बन्दोबस्तीमा सहयोग गर्न करिब १३ महिना जति उनलाई दिङ्लामा राखियो ।
चौदण्डीका सेन राजाका प्रशासक र सेना बस्ने यो अन्तिम केन्द्र थियो । किन कि यहाँ भन्दा तलको अरुण नदी पूर्व सिक्किम थियो । यो दिङ्लामा नेपाली सेनाको एउटा टुकुडी राखी यहाँको कमान्डर सुवेदार राम गोपाल पाँडे बसे । यो काममा राम गोपाल २५–२६ महिना यताकै प्रशासक भई बसे । यिनको विवाह पनि यतै तिरका बस्नेत परिवारसँग भयो । यिनका सन्तान मध्ये कोही भोजपुरको टक्सारमा पनि बसोवास गरेका थिए । साथै उनका पिता काजी रणसुर, काका सरदार दामोदर पाँडे, काजी अभिमान सिंह बस्न्यात, सर्दार आश खत्री, सर्दार रामकृष्ण कुँवरहरु चैनपुर, ईलाम, चौदन्डी, विजयपुर क्षेत्रकै लडाईंहरु र बन्दोबस्तीमा खट्टिन्छन् ।
चैनपुरमा सिक्किमका सेनालाई हराएपछि अभिमान सिंह बस्न्यातले ईलामकोट अर्थात् हालको गढी थुम्कामा सिक्किमेसँग विं सं. १८३१ असोज १३ गते सन्धि गरी टिस्टा नदीसम्म नेपालको सिमाना बनाउछन् । यो सन्धि गराउने कामको कूटनैतिक भूमिकामा काजी रण सिंह (बांग्या) बस्न्यातको ठुलो भूमिका थियो । त्यसपछि काजी दामोदर पाँडेलाई टिस्टा नदी छेउको सिक्किममा पठाइन्छ । उनले त्यहाँ करिब १ बर्ष मुकाम बनाइ न्याय निसाफको ब्यवस्था गरेका थिए । यो स्थानलाई हाल “न्याय बराम” नाम दिएर दामोदर पाण्डेको सम्झना गरिन्छ ।
काजी रणसुरका सन्तान मध्ये उनका छोराहरु सरदार कनक सिंह, सरदार राम गोपाल, सुबेदार शम्सेर सिंह र सुबेदार सवजित पाँडे हुन । ती मध्ये महिला छोरा राम गोपाल पाँडेका सन्तानहरुमा हाल भोजपुर जिल्लामा बस्ने जगन पाँडे, वीरध्वज, हस्त बहादुर, दल बहादुर, तिलक बहादुर, राम बहादुर लगायत हुन् । यो बंशका थुप्रै सन्तानहरु मध्ये राम बहादुरको तिन छोराहरु र एक छोरी मध्ये पूर्व राष्ट्रपति विद्या देवी पाँडे भण्डारी पनि हुन् । साथै तनहुँ निवासी नेपाली सेना प्यारा तालिम शिक्षालयका मानार्थ उप सेनानी पदम बहादुर पाँडे, उपरथी तारा ध्वज पाँडेलगायत हाल चितवनमा बस्ने भैरवनाथ गणका हुद्धा दिनेस पाण्डे र कृष्ण ध्वज पाण्डेलगायत हुन् । काजी रणसुर पाँडेले नेपाल एकीकरणको लडाईमा ठुलो योगदान दिएका थिए । राजा रण बहादुर शाहको नायब राजकुमार बहादुर शाहको पालामा वि.सं. १८४५ मा भएको पहिलो नेपाल भोट युद्धमा उनको समेत नेतृत्व प्रशंसनीय रहेको थियो ।
वि. सं. १८४९ को नेपाल चीन युद्ध नेपालको लागि अफापसिद्ध हुन गयो । नेपालले तिब्बतलाई पहिलो र दोस्रो युद्धमा हराएकै हो । दोस्रो युद्धमा विजय हासिल गरी आधा फौज तिब्बतमा र आधा फौज नेपाल फर्केको अवस्थामा एक्कासी १६ हजार चिनिया सेना नेपालविरुद्ध र तिब्बत राज्यको समर्थनमा लड्न आयो । यता तिब्बतको १० हजार सेना पनि नेपालविरुद्धको युद्धमा मिसियो । यो लडाईंमा चीनले नेपाललाई पछि हटाउदै र धेरै नेपाली सेनाको क्षति पार्दै नेपालतर्फ बढ्यो ।
यही सिलसिलामा केरुङ क्षेत्रको कुकुरघाटमा चिनिया सेना विरुद्ध काजी रणसुर पाँडेको नेतृत्वमा सरदार शत्रुभञ्जन मल्ल, सुबेदार तुलाराम पाडे , सुबेदार उद्धब खवास लगायतले २ कम्पनी फौज लिएर लडें । पाक्सिङटारमा ठुलो लडाईं भयो । यसमा काजी रणसुरलगायत २० जना जति नेपाली सेनाले वि सं. १९४९ असार १० गते वीरगति पाए । (लेखक : डा. बस्न्यात नेपाली सेनाका सहायक रथी अप्रा हुन् ।) (साँघु साप्ताहिक, २०८१ भदौ ३)



