काठमाडौं । नेकपा एमालेकोतर्फबाट भूमि व्यवस्था तथा सहकारी मन्त्री नियुक्त भएका बलराम अधिकारी मन्त्रालयमा निरीह बन्दै गएको कर्मचारीहरुको गुनासो छ । मन्त्रालयको हरेक ठूला निर्णय र कर्मचारीको सरुवामा पनि मन्त्री अधिकारी भन्दा सचिव गोर्कणमणि दुवाडी र जग्गा व्यवसायीहरुको दवदवा बढ्दै गएको गुनासो कर्मचारीले गर्दै आएका छन् । हुन पनि ०८० फागुनमा सरकारको समीकरण फेरवदल भएपछि नेपाल सरकार ३१ जना सचिव परिवर्तन भइसकेका छन् । तर, भूमि सचिव दुवाडीले भने अन्यत्र कतै सरुवा हुनुपरेको छैन ।
कर्मचारी स्रोत भन्छ, मालपोत र नापी कार्यालयहरुमा उपसचिवस्तरका प्रमुख खटाउँदा मन्त्री अधिकारीले भेउ नै पाउने गरेका छैनन् । हरेक सरुवामा बिचौलियाको माग र सेटिङ्ग अनुसार नै काम फत्ते हुने गरेको स्रोतको दावी रहेको छ । यसअघि मन्त्री रहेकी रञ्जिता चौधरीलाई पनि बिचौलियाहरुले घुसको बलमा आफ्नो काबूमा लिएर आफ्नो स्वार्थ पूरा गरेका थिए ।
घिल्लो साता मात्रै काठमाडौं उपत्यकालगायत केही बाहिरी जिल्लाहरुमा नयाँ प्रमुख अधिकृतहरुको खटनपटन मन्त्रालयले गरेको छ । यी निर्णयहरुमा पनि मन्त्री अधिकारीको भन्दा पनि सचिव दुवाडी र बिचौलियाहरुको बढी हालीमुहाली चलेको कर्मचारीहरु बताउँछन् । कार्यालय प्रमुखहरुको खटनपटन गर्दा बिचौलियाहरु नै हावी हुँदा लेनदेन खेल चलेको आशंका गरिएको छ । सचिव दुवाडीको मनोकांक्षा पूरा नगरेका कारण कतिपय सहसचिवहरुले मन्त्रालयबाट बाहिरिनु परेको गुनासो पीडितहरुले गरेका छन् । अवकाशको नजिक रहेका मालपोत तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक विदुर खनाललगायत तीनजना सहचिवहरु मन्त्रालयबाट आउट गरिएका छन् ।
महानिर्देशक रहेका खनाल र सहसचिवहरु कुमार दाहाल र ज्ञानदास सुवेदी मन्त्रालयबाट आउट हुन पुगेको स्रोतले दावी गरेको छ । सहसचिव खनाललाई विभागबाट मात्र नभएर मन्त्रालयबाहिर युवा तथा खेलकुदमा सरुवा गरिएको छ । विभागको नेतृत्वमा भने मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारीमा रहेका कृष्णप्रसाद सापकोटालाई खटाइएको छ ।
सहसचिव सापकोटाले सम्हाल्दै आएको महाशाखा प्रमुखको जिम्मेवारी भने मदन कोइरालाले पाएका छन् । उनी केही हप्ता अघि स्वास्थ्य मन्त्रालयबाट सरुवा भएर मन्त्रालयमा भित्रिएका थिए । उनलाई निजामती सेवा प्रशासनमा काविल, उत्कृष्ट कार्यसम्पादन र क्षमतावान सहसचिवका रुपमा हेरिने गरिएको छ । मन्त्रालयमा कार्यरत सहसचिवद्वय कुमार दाहाल नेपाल ट्रष्टको कार्यालय र सुवेदी भने बन तथा वातावरण मन्त्रालयमा लखेटिन पुगेका छन ।
यी दुई सहसचिवको ठाउँमा श्रीराम ठाकुर र शिव रेग्मी भित्रिएका छन् । मन्त्रालयबाट बाहिरिएका सहसचिव दाहालले सचिव दुवाडीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको कर्मचारीहरु बताउछन् । यही कारण सचिव दुवाडीले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग भनसुन गरेर उनलाई ट्रष्टको कार्यालयमा खेदेको मन्त्रालय कर्मचारीहरु चर्चा गर्दछन् । (साँघु साप्ताहिक, २०८१ असार १०)



