काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज चार खेल हुँदै छन् । आज नेपालले विहान ५; १५ बजेदेखि नै दक्षिण अफ्रिकासँग खेल्दै छ ।
समूह 'डी' अन्तर्गतको यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुँदैछ । दक्षिण अफ्रिकाले यस विश्वकपमा लागातर तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ भने नेपालको २ खेलमा एक अंक रहेको छ । नेपाललाई सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
त्यस्तै आज दोस्रो खेल समूह 'सी' अन्तर्गत न्यूजील्याण्ड र युगाण्डाबीच हुँदैछ । ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ :१५ बजेदेखि सुरु हुँदै छ । समूह 'सी' बाट न्यूजील्याण्ड र युगाण्डा दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन ।
त्यस्तै आज तेस्रो खेल समूह 'ए' अन्तर्गतको भारत र क्यानडावीच हुँदैछ । फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा समूह 'ए' बाट भारत तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित सुपर आठमा पुगिसकेको छ । त्यस्तै क्यानडाले भने अहिलेसम्म ३ खेलमा एक जित हासिल गर्दै २ अंक हासिल गरेको छ । क्यानडाले आजको खेल जितेमा सुपर आठको दौडमा रहने छ ।
त्यसैगरी आज चौथो खेल समूह 'बी' अन्तर्गत इङल्याण्ड र नामिबियाबीच हुनेछ । यस विश्वकपमा इङल्याण्डले अहिलेसम्म ३ खेलमा ३ अंक हासिल गरेको छ र सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ । इङल्याण्डले यो खेल जितेर हाल दोस्रो स्थानमा रहेको स्कटल्याण्ड अस्ट्रेलियासँग पराजित भएमा मात्र सुपर आठमा पुग्ने सम्भावना रहन्छ । त्यसपछि पनि रनरेटको हिसाब हुने छ । त्यस्तै नामिबिया भने अहिलेसम्म ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ र सुपर आठको दौडबाट बाहिरिएको छ ।



