काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणका नाममा भएका धेरै अनियमितताहरू गर्भमै छन् । यसबारेको सत्य–तथ्य ढिलो–चाडो सतहमा आउला नै । तर अहिले भने आयोजना निर्माणका लागि खरिद गरिएको दर्जनौं बोरा सिमेन्ट हराएको विषयले हल्लीखल्ली मच्चिएको छ ।
आयोजना निर्माणका लागि खरिद गरिएको ३ सय ४० बोरा सिमेन्ट हराएको हो । आयोजनाको सिमेन्ट चोर्ने काममा कसको संलग्नता थियो ? भन्ने नखुले पनि निजी पसलमा भेटिएको जानकारी स्रोतले दिएको छ । गुप्त रुपमा आयोजनाको सिमेन्ट गायब भएपछि खानेपानी मन्त्रालय र आयोजनामाथि यसबारे छानबिन गर्न दबाब परेको छ । तर मन्त्रालय र आयोजना दुवैले अहिलेसम्म यसमा कुनै तदारुकता नदेखाएको कर्मचारीहरूको गुनासो छ ।
आयोजनाको ३ सय ४० बोरा सिमेन्ट निजी पसलमा बेचेको विषयमा निजी स्वकीय अधिकृत विजयदेव भट्टराईलेगत असोज ७ गते विज्ञप्ति सार्वजनिक गरेका थिए । तर यो विज्ञप्ति दोषी पहिल्याएर कारबाही गर्नभन्दा पनि ढिसमिस गर्ने आशयका साथ आएको धेरैको बुझाइ छ । कमाउ धन्दामा मन्त्री मगरका स्वकीय सचिवालयका सदस्यहरू ज्यान छाडेर लागेकाले सिमेन्ट काण्डका दोषी उम्काउन स्वकीय सचिव बिकाउ हुने त होइन भन्ने चिन्ता पनि मन्त्रालय र आयोजनातिर उत्तिकै व्याप्त छ ।
मन्त्रालय र आयोजनाले सिमेन्ट चोरी प्रकरणमा आ“खा चिम्लिएपछि केही सचेत कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेको खबर छ । सिमेन्ट चोरीबारे छानबिन गर्न माग गर्दै गत असोज ७ गते ६१ नम्बर चलानी रहेको पत्र दर्ता भएको र त्यसबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ । तर, अहिलेसम्म यसबारे कुनै निर्णय भने भइनसकेको बताइएको छ ।
यसैबीच, एकीकृत सभ्यता बागमती सफाइ आयोजनामा खुलेको ठेक्कामा समेत मन्त्री मगरका स्वकीय सचिवहरूले अनावश्यक दबाब दिएको गुनासो प्राप्त भएको छ । इएमआरसी नामक ठेकदार कम्पनीस“ग मन्त्री मगरका सचिवालयका विजयदेव भट्टराईलगायतले सोही कार्यालयका प्रमुख आशिष घिमिरे जो खानेपानी मन्त्रालयका नेकपा निकटका कर्मचारी हुन्लाई ठेक्का पार्न दबाब दिएको बुझिएको छ ।
यसैमहिना दोस्रो विवाह गरेका भट्टराईको रवाफिलो विवाह पनि मन्त्रालयमा चर्चाको विषय बनेको छ । रोचक त के छ भने मुलुकी संहिता अनुसार कारबाहीको भागिदार हुने भट्टराईले तामझामका साथ इन्द्रेणी फुडल्याण्डमा दिएको पार्टीको शोभा बढाउन स्वयं नेकपाका अध्यक्ष प्रचण्ड नै सहभागी भएका थिए । उनले यही विवाहका लागि रकम असुलेको खासखुस पनि खानेपानी मन्त्रालयका विभागिय प्रमुखहरूबीच चलेको छ । (साँघु साप्ताहिक कात्तिक १९)



