काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्दै उनले कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गरेको बताए । लामो रस्साकस्सीपछि सदनमा बोल्न पाएका लामिछाने प्रतिपक्षी दलप्रति आक्रमक देखिए ।
उनले भने, ‘संसदीय छानबिन समितिबाट म कहिल्यै डराएको थिइँन । मूल कुरा कस्तो थिति नजिर बसाउने भन्ने थियो, हो रहेछ । लागेको थियो संसदीय व्यवस्थाको लागि दशकौं वर्ष लडेको नेपाली कांग्रेस कागजमा मात्र होइन आचरणमा पनि लोकतान्त्रिक छ, उसले कुरा सुन्न सक्छ । तर सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गत दुुई महिना यो संसदले देखियो । नेपाली कांग्रेसबारेको मेरो भ्रम टुटेकोमा मलाई खेद छ । मलाई निरन्तर पेलियो राति-राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने दिउँसो-दिउँसो सदनमा उफ्रिने रुटिन देख्यौं ।’
उनले टेलिभिजनमा हुँदादेखि राजनीतिसम्म नै आफू तारो भएको गुनासो गर्दै लोकतान्त्रिक दलकै निसानामा आफू रहेको जिकिर गरे । उनले भने, ‘टेलिभिजनमा हुँदा सबैको तारो भए । राजनीतिमा हुँदा पनि सबैको तारो भइरहेको छु । सारा मिडियाको पनि तारो बनिरहेको छु । लोकतान्त्रिक शक्ति हुँदा हुँदै लोकतान्त्रिक दलकै निसानामा छु । मलाई साथीहरु भन्नुहुन्छ मिडिया मिलाउनुहोस्, म भन्छु मिलाउँदिन, जनताका लागि विद्यालय बनाउन आएको हुँ नमिलेका संविधानका धाराहरु मिलाउन आएको हुँ । अनि अनुसन्धान गर्दा गर्दै रोकिएका फाइलहरु खोल्न आएको हुँ म मिडिया मिलाउन आएको होइन, सक्दिन, मिलाउदिन ।’
उनले प्रतिपक्षीप्रति आक्रामक हुँदै विगतका विभिन्न काण्डमा धेरै राजनीतिज्ञहरु मुछिएको दृष्टान्त दिए । व्यक्ति केन्द्रित भएर संसदीय छानबिन समिति बनाउँदा गलत नजिर बस्ने दाबी उनले गरे ।
गृहमन्त्री लामिछानेले गरे आफू निर्दोष रहेको दाबी
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन् ।
दुई महिनापछि संसदमा बोल्न पाएका लामिछानेले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु ।
‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाममा राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौं । राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौं,’ उनले भने ।
उनले भावुक भनाइहरु राख्दै आफू सधैं तारो बनिरहेको बताए ।
‘राजनीतिक अन्तर्य बुझ्न सकिनँ’ : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेले आफूमाथि अन्याय भएपछि महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नका जवाफ दिँदै लामिछानेले सहकारीको नामै तोकेर आफ्नो नाम सूचना मागेको त्यसको राजनीतिक अन्तर्यबारे थाहा नभएको टिप्पणी गरे ।
उनले भने, ‘सभामुख महोदय, आफूमाथि अन्याय हुँदा, मेरो बारेमा सूचना माग्न काँही न काँही जानैपर्ने थियो । व्यक्तिका रुपमा सूचना माग्नका लागि मैले महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेँ । मेरा बारेमा धेरै समाचारहरु आए । सहकारीको नामै तोकेर नाम आएपछि मेरोबारे सूचना मागेको हुँ । मैले त्यसभित्रको राजनीतिक अन्तर्य बुझ्न सकिनँ ।’
सहकारीको रकम अपचलनमा आफूविरुद्ध लगातार समाचार आइरहँदा कतै प्रहरीमा उजुरी वा मुद्दा परे नपरेको बुझ्न महान्यायाधिवक्ताबाहेकको निकाय आफूले नदेखेको उनले बताए ।
गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राईले गरेको फोहोर आफूले नसोहोर्ने समेत भनाइ उनले राखे । ‘विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको कुनै पनि ऋण लिने प्रक्रियामा मेरो कुनै संलग्नता छैन । जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन,’ उनको भनाइ थियो ।



