काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अचाक्ली निकै बढेको गुनासाहरु बाहिर आएका छन् । उनले नापी र भूमि सुधार तथा अभिलेख विभाग र मालपोत कार्यालयका कर्मचारी सरूवा र पदस्थापनमा मन्त्री बलराम अधिकारीको सोझोपनको फाइदा उठाउँदै एकलौटी निर्णयमार्फत गरेको गुनासो मन्त्रालयमा कार्यरत कर्मचारीले गरेका छन् । यस अघिका मन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई जसरी नै सचिवले मन्त्री अधिकारीलाई पनि गुमराहमा पार्दै आएको कर्मचारीहरु बताउछन् ।
सचिव दुवाडीले प्रशासन महाशाखामा कार्यरत सहसचिव कृष्णप्रसाद सापकोटासँगको मिलेमतोमा मालदार र आकर्षक कार्यालयहरूमा कर्मचारीको खटाउँदा भान्जा आनन्द बुर्लाकोटीमार्फत ‘शुभलाभ’को हासिल गर्ने गरेको चर्चा सिंहदरवार परिसरमा चल्ने गरेको छ । निवर्तमान मन्त्री श्रेष्ठको कार्यकालमा कर्मचारी सरुवा गर्दा लेनदेनको लत बसेका सचिव दुवाडीले नयाँ मन्त्री अधिकारीले मन्त्रालय नेतृत्व गर्दा पनि हट्न नसकेको कर्मचारी स्रोतले जानकारी दिएको छ ।
सचिव दवाडीले काठमाडौं उपत्यकाभित्र र बाहिरका भूमि व्यवस्था तथा मालपोत कार्यालयहरूमा एक दजर्न उपसचिवहरु पदास्थापन गरिसकेका छन् । मन्त्री अधिकारीले दुई जना कर्मचारी सरूवा गर्न नाम टिपाए भने सचिव दुवाडीले थप पाँच जना आफ्ना मान्छे घुसाएर काज सरूवा र सरूवा गरी निजी सचिव सर्भेयर भान्जा आन्नद बुर्लाकोटीमार्फत ‘अतिरिक्त खेती’ गर्दै आएको स्रोतले बताएको छ ।
प्रशासन महाशाखा प्रमुख सहसचिव सापकोटा र सचिव दुवाडीको हिमचिम निकै बाक्लो रहेको स्रोतले जानकारी दिएको छ । सचिव दुवाडी र सहसचिव सापकोटाले नै संरक्षण गरेका केही भ्रष्ट प्रवृत्ति भएकाहरुले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुर खनाललाई गएको २०८१ बैशाख १२ गते २ बजे बबरमहलस्थित कार्यकक्षमै कालोमोसो दलेका थिए । दुई–तीन जनाको समूहमा रहेकाहरूले दुव्र्यवहार गरेका थिए ।
महानिर्देशक खनाललाई दुव्र्यवहार, अपमान र कालोमोसो दल्न विभागमा कार्यरत केही उपसचिव र मन्त्रालयका कर्मचारीको योजना बमोजिम नै यस्तो हर्कत गरेको चर्चा छ । महानिर्देशक खनाललाई उक्त हर्कत र कालोमोसो दलेको विषयमा नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक बहादुर राउतले २०८१ बैशाख १३ गते विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भ्रत्र्सनासमेत गरेका छन् ।
साथै, दोषीउपर कडा कारवाहीको मागसमेत उनले गरेका छन । खनाललाई महानिर्देशकबाट हटाएर महाशाखा प्रमुख सापकोटाले विभागमा जान खोजेको बुझिएको छ । त्यसकै लागि सचिव दुवाडी र सापकोटा निकटका कर्मचारीको उक्साहटमा नै महानिर्देशक खनालमाथि त्यस्तो हर्कत गरिएको हुनसक्ने आशंका स्रोतले गरेको छ । सरकारको समीकरणमा आएको फेरबदलसँगै अधिकांश मन्त्रालयको सचिवहरुको हेरफेर भइसकेको छ । तर, पनि दुवाडीको एकवर्ष भन्दा बढी समयदेखि कतै सरुवा नहुनुको कारण उनमा त्यस्तो जादु के रहेछ भनेर मन्त्रालयका कर्मचारीहरुले प्रश्न तेस्र्याउदै आएका छन् । (साँघु साप्ताहिक, २०८१ वैशाख २४)



