• मंगलबार-बैशाख-१८-२०८१

एकसय तेइस वर्ष अघि कृष्ण प्रसाद लाकौलद्वारा हस्त लिखित “गीता सार”को समीक्षा


    पाल्पा साहित्य समाज, तानसेनद्वारा आयोजित कृष्ण प्रसाद लाकौलद्वारा लिखित “तीर्थ यात्रा दैनिकी” र “गीता सार ”बि.सं. १९३७ र  बि स १९६७ -६८ तिर लिखित )   एकसय तेइस वर्ष अघिकाे पुस्तक विमोचन  कार्यक्रम ३ वैशाख २०८१ पाल्पा उद्योग बाणिज्य संघको परिसरमा सम्पन्न भयो I सो पुस्तकका प्रकाशक बनमाली प्रसाद लाकौल, रुप किशोर लाकौल, शरद किशोर लाकौल  र भारत किशोर  लाकौल रहेका छन्, कूल १०८ पृष्ठको मूल्य १५०। राखिएको छ र पनि बढी निशुल्क बाँडिएको  देखिन्छ I  


 छिमेकी मुलुकको  समकालीनको विचार गर्दा हिन्दी चलचित्रको  पृथिबी राज कपुरको बुवाको समयको समकालीनको बेलाको लेखाई हो कि भन्ने आभाष हुन्छ I पाल्पाली अग्रज साहित्यकार तथा  धर्म भीरु सुब्बा स्व. कृष्णप्रसाद लाकौलद्वारा  हस्तलिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गीतासार’  जस्तोको तस्तै, त्यस्तो टिपोट , र समसामयिक सन्दर्भमा सजिलै पढ्न सकिने गरि, र   अवलोकनहरु  कृतिको रुपमा लोकार्पणसँगै विमर्श समेत गरिएको छ । हालै पाल्पा साहित्य समाजले आफ्नो ३१औं स्थापना दिवसको अवसरमा उक्त कृतिको लोकार्पणसँगै विमर्श गरेको हाे ।

 

 आफू सरकारी जागिरमा रहँदा  समेत  पनि धर्मप्रतिको आस्था, निष्ठा र समर्पण भाव  उनीमा रहेको अर्पण, तर्पण र समर्पण भावले प्रष्ट पारेको छ I यस अर्थमा कृष्ण प्रसादको अध्यात्म  सम्बन्धी  लेखन  उनको मात्र जीवनीको लेखन होइन अपितु त्यस कालखण्ड कै आध्यात्मिक जीवनीको प्रतिबिम्ब हो भन्नुमा अत्युक्ति नहोला I  


 लाकौलले वि.सं.१९३७ र १९६७–१९६८ सालतिर लेखेका विषयहरुको पाण्डुुलिपीहरु कृतिका रुपमा प्रकाशनमा ल्याइएको छ । उक्त कृतिको समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, संरक्षक राजेन्द्र गोपाल सिंह, सल्लाहकार चित्रवलीराम सुवाल, प्रकाशक/कृतिकारका सन्ततिहरू वनमाली लाकौल, रूप किशोर लाकौल, भारत किशोर लाकौल, समीक्षकहरू विजय सागर ,विश्वराज पौड्याल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । 

 

सो ऐतिहसिक कृतिको लोकार्पण गर्दै समाजका संरक्षक तथा अतिथि राजेन्द्र गोपाल सिंहले लेखक लाकौल एक असाधारण प्रतिभाशाली धार्मिक व्यक्तित्व, अद्भूत दूरदर्शी र नवीनतम् चिन्तक रहेको बताए ।  उनले भने ‘तत्कालीन समयमा शिक्षाको विकास र विस्तार नभएको अवस्थामा  पनि नेवार परिवारमा जन्मिएर तीर्थयात्रा दैनिकी, गीतासार, तारोपनिषद् जस्ता कृतिहरु लेख्नु चानचुने कुरा होइन, यसलाई अद्भूत र आश्चर्यजनक उपलब्धि नै मान्नुपर्छ ।’ संरक्षक  सिंहले पाल्पाको साहित्यिक इतिहासमा पाल्पालीका निम्ति प्रकाशित कृति ऐतिहासिक मात्र नभई समग्र नेपाली साहित्यमै भावी पुस्ताका लागि प्रेरणाको स्रोत समेत रहने विश्वास व्यक्त गरे ।


    कार्यक्रममा समीक्षकहरू विजय सागरले तीर्थयात्रा दैनिकी र विश्वराज पौड्यालले गीतासारका बारेमा समीक्षा गरेका थिए । सोही अवसरमा कृतिकार कृष्णप्रसाद लाकौलका नाति, अक्षर पुरूष पुस्तक पढ्ने दलान (धवल पुस्तकालय)का संस्थापक अम्बिका प्रसाद लाकौलका सुपुत्र वनमाली लाकौलले. १ लाख  र  रूपकिशोर लाकौलले ५५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना समेत गरिदिएका छन् ।  समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, वनमाली लाकौलको स्वागत, रूपकिशोर लाकौलको धन्यवाद, समाजका सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।


समीक्षा


    पुस्तक “गीता सार” मा भूमिका शंकर मान सिंहले,  प्राक्कथन पुस्कर अथक रेग्मीले, शुभकामना  राजेन्द्र गोपाल सिंह, शुभारम्भ लीलामणि पौडेलले र प्रकाशकीय बनमाली प्रसाद लाकौलले लेखेका छन् I साथै, मूल पाठको  हस्तलिखित पाण्डुलिपीको छायाँ चित्र  समेत समावेश हुनु यस पुस्तकको मूल विशेषता र ऐतिहाशिक महत्व राख्ने दस्तावेज हो I  


 साथै त्यसैलाई आधार मानि गीता सार मूल पाठको उतार समेत राखिएको छ, जसबाट यो पढ्न सकिने छ भने शुभारम्भले त्यसको मूल  कुरालाई संक्षेपमा  राख्ने प्रष्ट प्रयास गरिएको भए पनि प्रत्येक प्याराको उल्लेख  छैन I


    प्राक्कथनमा  पुस्कर अथक रेग्मी लेख्छन “वि.सं १९६७ श्रावण शुक्ल पञ्चमीका दिनदेखि लेखनारम्भ गरी वि. सं १९६८ आषाढ कृष्ण अष्टमीको दिन समापन गरिएको गीतासारको पाण्डुलिपीको अग्रभागमा यी कुरा लेखिएका छन् I  उल्लेखित कथनबाट यो प्रमाणित हुन्छ कि कृष्ण प्रसाद लाकौलले एक वर्षसम्म स्वाध्ययन गरेर अठार अध्याय गीताको सार संस्कृत सहित नेपाली लोक भाषामा अनुवाद गरेका थिए ।

 

उनको गीतासार अध्ययन गर्दा यो स्पष्ट हुन आउँछ कि नेवार परिवारमा जन्मी मातृभाषा नेपाल भएतापनि संस्कृत र खस (नेपाली ) भाषामा राम्रो दखल राखेर वेद, पुराण, व्याकरणको समेत ज्ञान भएका संभ्रान्त विद्वान व्यक्तित्वको रुपमा कृष्ण प्रसाद लाकौल प्रतिष्ठापित थिए ।  


 पुस्तकमा शुभकामना दिंदै राजेन्द्र गोपाल सिंह लेख्छन्  गौंडाकालीन पाल्पामा नेपाली भाषामा साहित्यको सिर्जना गरी सामाजिक चेतना जगाउँदै साहित्यिक जागरणको विजारोपण गर्ने स्व.कृष्ण प्रसाद लाकौलका सुपुत्र स्व.अम्बिका प्रसाद लाकौलले राणाकालमा पुस्तक पढ्ने दलान (धवल पुस्तकालय) खोली पाल्पामा शैक्षिक, राजनैतिक एवं साहित्यिक जागरण ल्याएका थिए र लाकौल प्रेसको समेत स्थापना गरी मुद्रण साहित्यको विकास गरेका थिए ।


 सो पुस्तकमा लीलामणि शर्मा लेख्छन,”यज्ञ, दान, तप, कर्मलाई शास्त्रविधि अनुरूप अंग उपांग सहित निष्काम (कर्मफल) भावसित  अनुष्ठान गर्ने व्यक्ति मनिषि व्यक्ति वा योगीले सत्यम् शिवम् सुन्दरम् ज्ञान परिपाक सुन्दर सत्यकर्म गरेपछि विषययोग सबै निवृत्ति भई कर्मबन्धनमा पर्दैन, परममोक्ष प्राप्त गर्दछ मनी श्लोक ९३ देखि १०४ सम्म भनिएको छ । इतिश्री कृष्णार्जुन संवादे गीतासारस्ये. सुवा कृष्णप्रसाद भाषाकृत श्लोक सार्थ समाप्तम् ।


“ याद्रिशं पुस्तकं दृष्ट्वा तद्रिशं लिखित्मया ।।
यदि शुद्धोवाशुद्धो वा ममदोषो नदीयते ।। १ ।।


जस्तो श्लोक थियो तस्तै लेखि दिञा, आफ्ना मति अनुसार अर्थ गरि दिञा, शुद्ध अशुद्ध जो भया तापनि क्षमा गर्नुपर्छ दोष नलागोस् परमेश्वर यो प्रार्थना छ फेरि वारंवार नमस्कार पनि गर्दछ भनी ‘गीतासार’ समाप्त गरिएको छ । तत्पश्चात पुनः श्रीगणेशाय नमः ।। ॐ नमः परमात्मन्यै ।। बाट सुरु गरी कृष्ण प्रसाद लाकौललाई गीता अध्ययन पश्चात लागेका मननीय सार संक्षेपहरु प्रस्तुत गरिएका छन् ।


  कृतिको अन्त्यतिर गीतासारको अतिरिक्त गरुड पुराण र नीतिश्लोकको उदाहरण सहित “इति भयो क्या भयो काव्यशास्त्र विनोदेनः कालो कच्छति धीमतां वेसनेसु मूर्खानां निद्रया कलहोपि वा शुभमङ्गलमस्तु” भनी कृति समाप्त गरिएको छ ।


    उनी भन्छन्,” निष्कर्षमा भन्नुपर्दा कृतिभित्र श्रीमदभागवत् गीतासार खिचिएको छ । रामायण, महाभारत योग, वेद, संस्कृत  व्याकरणको अध्ययन, ज्ञान समेत राखी तात्कालीन समयमा लेखक कृष्ण प्रसाद लाकौलद्वारा तयार पारिएको कृति वर्तमान साहित्यको क्षेत्रमा नीतिपरक धार्मिक साहित्यको रुपमा रहनेछ । धर्म संस्कृति, पुराण, नैतिकता सत्य, साहित्य र शिक्षासँग सरोकार राख्ने सबैका लागि कृति उपयोगी रहेको छ । यो संसार सनातन धर्ममै अडिएको छ र गीतासारमा श्री विष्णुलाई सनातन मानिएको छ ।


 सुब्बा कृष्ण प्रसाद लाकौलले आज भन्दा  करिब  सवा  सय वर्ष अगाडि लेखेको “गीताको सार  भाषा सहित” ले पनि तत्कालीन अवस्थामा समेत अध्यात्म , धर्म र दर्शनप्रतिको उनको भावलाई झल्काउदछ   I  संस्कृतमा उनको प्रखरता उनी आफैले लेखेको हस्तलिपीबाट समेत प्रष्ट हुन्छ I  त्यसमा पनि सूचना र संचारको अभाव रहेको त्यो कठिन परिस्थितिमा समेत त्यस किसिमको सिर्जना हुनु नेपालीको लागि र खास  गरि पाल्पाली र लाकौल परिवारको लागि ठुलो गौरव र सम्मानको अनुभूति भएको छ  I

 
 आफू सरकारी जागिरमा रहँदा  समेत  पनि धर्मप्रतिको आस्था, निष्ठा र समर्पण भाव  उनीमा रहेको अर्पण, तर्पण र समर्पण भावले प्रष्ट पारेको छ I यस अर्थमा कृष्ण प्रसादको अध्यात्म  सम्बन्धी  लेखन  उनको मात्र जीवनीको लेखन होइन अपितु त्यस कालखण्ड कै आध्यात्मिक जीवनीको प्रतिबिम्ब हो भन्नुमा अत्युक्ति नहोला I  


    हुन त गीता सम्बन्धमा हाल निकै सामग्रीहरु उपलब्ध  छन् तर  यो उपनिषद् , गीताका विभिन्न स्रोतबाट उधृत गरि आफ्नै शैलीमा ब्याख्या गरेको यो नौलो कृति हुनु पर्दछ I यसबाट पाठकहरुमा नवीन सोचको जन्म भै प्रकृति र परमात्मातर्फको सम्मानमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ I  


    प्रस्तुत कृतिमा लेखकले ६१ हरफ (अनुच्छेद) मा क्रमश :  श्री कृष्ण १, श्री अनंत २,  श्री वामन ३, श्री पुरुषोत्तम ४, श्री वासुदेव ५, श्री ऋषिकेष ६, श्री माधव ७, श्री मदुसूदन ८, श्री दामोदार ९, श्री पद्मनाभ १०, श्री केशव ११, श्री गरुडध्वज १२, श्री गोविन्द १३, श्री अच्यूत १४, श्री अनंत १५, श्री अपराजित १६, श्री अध्वंक्ष १७, श्री जगद्धी १८, श्री खड्गस्थी १९, श्री त्रैलोकेश २०, श्री जगद्वंदे २१, श्री कृष्णवर्ण २२, श्री त्रिविक्रम २३, श्री नारायण २४, श्री चतुर्वाहु २५, श्री शङ्खचक्र २६, श्री गदापद्मधर २७, श्री पीताश्वर २८, श्री वनमाला विभूषित २९,श्री हे कृष्ण ३०, श्री हे रमानाथ ३१, श्री व्रजनाथ ३२, श्री हे आर्तिनाश ३३, श्री हे पद्ममुद्धर ३४, श्री हे गोपाल ३५,श्री हे गोकुलनाथ ३६, श्री हे गोपीनाथ ३७, श्री लल्लभ ३८, श्री पुण्डारीकाक्ष ३९, श्री व्रह्मन्न देवाय ४०,श्री वच्छाङ्ग ४१, श्री कौस्तुवधर ४२,  श्री वेणुकाधर ४३,  श्री पति ४४,  श्री लक्ष्मीपति ४५, श्री विन्दावन विहारी ४६, श्री तुलसीप्रिय ४७, श्री रङ्गनाथ ४८, श्री वलराम ४९, श्री वसुदेवसूत ५०, श्री यशोदाकिशोर ५१, श्री राधारमण ५२, श्री रुक्मीनिपति ५३, श्री मदनगोपाल ५४,  श्री वैकुण्ठनाथ ५५,  श्री यदुपति ५६, श्री कृष्ण ५७, श्री हरिहर ५८, र अन्य बिबिध मा लेखेका छन् I


   प्रत्येक हरफ पहिले संस्कृतिकाे श्लोक र अस्यार्थ लेखेका छन् I सरसरी हेर्दा कुनै ध्यान विन्दु उपनिषद् को श्लोक ९- १५ मा निम्न श्लोक लेखिएको देखिन्छ I इन्टरनेटमा उपलब्ध गीता सार सम्बन्धी सामग्री हेर्दा ठ्याक्कै मिल्ने र उदृत गरिएको देखिंदैन I  यो शास्त्र कस्तो भने सम्पूर्ण गीताको रसले परिपूर्ण भएको हुनाले गीतासार भनेको  हो यस्मा सकल शास्त्र चारै वेदको रस जो व्रह्मज्ञान हुनाले अति पवित्र छ भनिएको छ I


 यो विष्णुको महात्माले युक्त भएको अति उत्तम पाँचौ वेद रुप भारत अठार पर्व अठार उपपर्वको सर्वस्त भएको साक्षात् विष्णुका मुखारविन्ददेखि निकाल्याको, वेदव्यास मुनिवाट अठारै पुराण नौ व्याकर्ण निर्मथन गरि बनाएको चार वेद सरिको हुनाले जसलाई पंचम् वेद भन्दछ तेस्तो भारथ शास्त्रबाट तयार गरिएको त्यस्तो अनुपम महाभारत निर्मथन गरि वनेको गीताको पनि सार जो मुःख्य पदार्थ झिकेर श्री कृष्ण भगवानवाट अर्जुनका मुखमा हवन गरि दिएको यो पढोस् वा सुनोस् त्यो मनुष्य व्रह्मज्ञानको झिल्का परि उत्तम गतिमा प्राप्त होला  भनेर समेत लेखेका छन् ।


 “धर्मको रूपमा बृहत् दियोले मुक्तिको मार्ग देखाउँछ आफ्नो धर्मको दियो लिएर मोक्षको बाटोमा चढ यो ब्रह्म विद्याको सुपनिषदमा योगशास्त्रको सार हो, सानो ज्ञानी सुब्बा  कृष्णको कृपाले पूरा भएको'' लेखेका छन् ।

 

संवत् १९६७ साल श्रावण शुल्का पाँचौँ दिन बुधबार लिखित ६८ वर्ष आषाढ कृष्ण आठौँ दिन हरि ओम तत्सत् परब्रह्म परमात्मा श्रीहरिहर श्री स्वेष्टप्रयाणमस्तु भनि लेखक सुब्बा कृष्ण प्रसादले गीता सार जस्तो महत्वपूर्ण लेखनीको अन्त्य गरेका छन् ।


 यो सामग्री  ऐतिहासिक सामग्री हुनेछ I व्यक्ति भनेको विचार हो र त्यसबाटनै  नै बाँकी  समाज  लाभान्वित हुन्छ I  विचार, चिन्तन र अध्यात्म र संस्कृत भाषामा रहेको  निपूर्णता तर्फको झुकाव भएको व्यक्तिको कृतिले समाजलाई प्रेरणा प्रदान गर्दछ I

 

प्रतिकृया दिनुहोस