पेरिस, २८ चैत । इस्लामिक स्टेट समुहको सम्भावित हमला हुन सक्ने भन्दै फ्रान्स र स्पेनको फुटबलको सुरक्षा बढाइएको छ ।
फ्रान्स र स्पेनले मंगलबार र बुधबार राति म्याड्रिड र पेरिसमा हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनल अघि सुरक्षा बढाएका हुन । शीर्ष सरकारी अधिकारीहरूले इस्लामिक स्टेट (आईएस) को खतरा कायमै रहेको भन्दै सुरक्षा सतर्कता बढाइएको जनाएका छन् ।
‘पेरिस क्षेत्रमा हुने खेलको सन्दर्भमा प्रहरी प्रमुखले सुरक्षालाई निकै मजबुत बनाएको छ,’ फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले ओलम्पिक खेलको सुरक्षामा आयोजित पत्रकार सम्मेलनमा भने ।
‘हामीले अन्य चीजहरू मध्ये आईएस विशेष गरी स्टेडियमहरूलाई लक्षित गर्ने सूचना पाएका छौं तर यो नयाँ कुरा भने होइन्,’ उनले अगाडि भने । इस्लामिक स्टेटले यस हप्ताको च्याम्पियन्स लिग खेलका लागि चार स्थानमा निशाना बनाउने धम्की दिएको सार्बजनिक भएको थियो ।
जसअनुसार पेरिसको पार्क डेस प्रिन्सेस र म्याड्रिडमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले क्रमशः म्यान्चेस्टर सिटी र बोरुसिया डर्टमुन्डसँग सामना गर्ने दुई खेलहरू बढी संवेदनशिल मानिएका छन ।
‘स्पेनी पुलिसले दुई खेलको लागि राजधानीमा सुरक्षा बढाउन २ हजार अतिरिक्त अधिकारीहरू तैनाथ गर्नेछन्,’ सरकारका प्रवक्ता पिलर एलेग्रियाले मंगलबार पत्रकारहरूलाई भने । उनका अनुसार आतंकवाद अलर्ट लेभल ५ को स्केलमा ४ मा बढाइएको बताइन् ।
इस्लामिक स्टेटले हालै मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो, जसमा कम्तिमा १ सय ४३ जनाको मृत्यु भएको छ ।



