हामीले विमानमा यात्रा गर्दा सिटहरु खाली रहेको पनि देख्न सक्छौं । सिटहरु खाली देखेर हामीले विमानमा यात्रुहरुको अभाव भएको वा विमानले यात्रु नपाएको कल्पना पनि गर्न सक्छौं । विमानमा सिट खाली हुँदाहुँदै पनि आकस्मिक रुपमा जान चाहेका यात्रुलाई पनि सिट दिइएको हुँदैन, किन ? भन्ने सोचाई पनि हामीलाई आउन सक्दछ । केही यात्रुहरुले विमानको भाडा बढाउनका लागि सिटहरु खाली राखिएको भनेर समेत आशंका गरेका हुन्छन् । यस्तो हुनु अन्य कुनै कारण नभई विमान कम्पनीले जानीबुझी खाली राखेको सिटहरु हो । वास्तवमा विमान यात्रामा तौल÷भार सन्तुलनका लागि केही सिटहरु खाली छोडिएको हुन्छ र हुनसक्छ । बढ्दो तापक्रम, भौगोलिक समस्या तथा रन वे को लम्बाई जस्ता विविध कारणलाई मध्यनजर गर्दै विमानमा भार व्यवस्थापन गरिएको हुन्छ ।
विशेषगरी पोखरा उडान गर्ने अधिकांश विमानहरुमा सिट खाली राखिएको देख्न सकिन्छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार केही प्राविधिक कारणले सिटहरु रिजर्भ राखिएको हुन्छ । यसको प्रमुख कारण भनेको उडान र अवतरणका क्रममा विमानस्थलको तापक्रममा भरपर्नु हो ।
उडान र अवतरणका क्रममा विमानस्थलको तापक्रम उच्च रहेको अवस्थामा विमानको कार्यक्षमता घट्दै जाने भएका कारण नै विमानमा तौल/भार घटाइएको हुन्छ । गर्मीको मौसममा यो सामान्य अवस्था हो । तापक्रम बढेपछि हावाको चाप पनि फरक पर्न जान्छ । त्यसैले विमानमा सिट खाली राख्नुका विविध कारणहरु छन् ।
बुद्ध एयरले विमान यात्रको सुरक्षाका लागि भार व्यवस्थापनलगायतका विविध एवं सूक्ष्म पक्षहरुमा विशेष ध्यान दिएको छ । बुद्ध एयरका उच्च सीपयुक्त प्राविधिकले विमानमा भार व्यवस्थापनको सूक्ष्म रुपमा काम गर्दै आएका छन् । बुद्ध एयरले यात्रा र यात्रुको सुरक्षामा सदैव प्रतिबद्ध रहेको बताएको छ । (साँघु साप्ताहिक, २०८० माघ ८)



