मधुमेह स्वास्थ्यका लागि एउटा गम्भीर समस्या हो । यो समस्याको निराकरण गर्न नसकिए पनि नियन्त्रण सम्भव छ । मधुमेहका बिरामीले विशेषगरी खानपानमा सतर्क हुन जरुरी छ । मधुमेहका बिरामीले खानपान गर्दा विशेष यी कुरामा ध्यान दिनुपर्दछ ।
–मधुमेहका बिरामी हाइड्रेड रहनुपर्दछ । गर्मी होस् वा जाडो शरीरमा पानीको आपूर्ति राम्रो मात्रामा हुनुपर्दछ । यसले शरीरमा राम्रो काम गर्नुका साथसाथै अनुहारमा पनि चमक ल्याउँछ । पानी पिउनाले रगतमा हुने चिनीको मात्राको उतारचढावलाई सन्तुलित बनाउन सकिन्छ ।
–मधुमेहका समस्या भएकाहरुले नास्तामा प्रोटिन तथा फाइबरयुक्त भोजनहरु समावेश गर्नुपर्दछ । नास्तामा सकेसम्म कार्बाेहाइड्रेटयुक्त भोजन समावेश गर्नुहुँदैन ।
–मधुमेहका बिरामी क्याफिनको सेवनबाट टाढै रहनुपर्दछ । क्याफिनले टाइप २ मधुमेह पीडितहरुमा इन्सुलिन सेन्सिटिभिटी कम गर्दछ र ब्लड सुगरको मात्रा बढ्ने खतरा हुन्छ ।
– बिहानको नास्तामा मधुमेहका बिरामीले चिनी समावेश भएको भोजन सेवनबाट बच्नुपर्दछ । यसले रगतमा चिनीको मात्रा अचानक बढाउन सक्दछ र स्वास्थ्य तत्काल खराब हुन सक्दछ ।
– बिहानको नास्ता स्वस्थ हुनुपर्दछ । स्वस्थ खानपानले रगतमा चिनीको नियन्त्रण गर्नुका साथसाथै इन्सुलिन उत्पादनमा मद्दत गर्दछ । साथसाथै सन्तुलित भोजनले टाइप २ मधुमेहको खतरा पनि कम गर्दछ । (साँघु साप्ताहिक, २०८० माघ १)



