🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाटन विमानस्थल : जहाज आउँदैनन्, करोडौंका संरचना प्रयोगविहीन

बैतडी । बैतडीको पाटन विमानस्थलमा जहाज आउन छाडेको दुई वर्ष भयो । विमानस्थल पूर्वाधार सम्पन्न नभएको होइन । यात्रु अभावका कारण वायुसेवा कम्पनीहरुले यहाँ उडान गर्न नमानेका हुन् ।

समिट एयरले प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको थियो । उक्त कम्पनीको जहाजले २०७८ चैत १० गते यहाँ अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै जहाज आएको छैन ।

यात्रु पर्याप्त नभएका कारण कम्पनीले यहाँको उडान गर्न छाडेको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए ।  

‘यात्रु अभावका कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो छ, त्यसले   यात्रु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना एकदमै न्यून छ,’ उनले भने ।

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा प्रति यात्रु ३ हजार ७ सय रुपैयाँमा उडान हुने गरेको थियो । पछिल्लो समय भने भाडा बढेर ५ हजार पुगेको थियो ।  

जहाज नआउँदा राज्यको लगानी खेर जानुका साथै त्यससँग जोडिएका पर्यटन र व्यापार–व्यवसायमा नकारात्मक असर परेको स्थानीयवासी दिनेश जोशी बताउँछन् । ‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ,’ उनले भने, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

पाटन विमानस्थलमा उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयबासी निराश छन् । 

 
तीन वर्षअघि ११ करोड रूपैयाँ खर्च गरेर २० मिटर चौडा र ५ सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र र करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माण गरिएको थियो ।

विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका बासिन्दाले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीय नरेन्द्र विष्टको भनाइ छ ।  

नियमित उडान नहुने र भाडा पनि महँगो भएकाले यात्रुलाई समस्या त छँदै थियो, जहाज नै आउन बन्द हुनुले झन् मर्का परेको छ । भाडा समायोजन गरी नियमित उडान गर्नुपर्ने स्थानीय जयराज जोशीले बताउँछन् ।

उडान बन्द भएपछि अहिले धावनमार्गमा धावनमार्गमा घाँस उम्रन थालेको छ । विमानस्थलका घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन् ।

द्वन्द्वका बेला संरचना आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द थियो ।

२६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी सोही महिनाको ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु भएको थियो ।

विमानस्थल सञ्चालन नहुँदा राज्यको लगानी त खेर गएकै छ, अभर परेका बिरामीलाई जिल्ला बाहिरका अस्पताल पुग्न झन गाह्रो भएको छ ।

हवाई सेवा नियमित गराउन नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको पाटनका नगर प्रमुख गौरीसिंह रावलले बताए ।

नरेश जोशी