काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले नै वर्तमान सरकारले जनताको भावनाअनुरुप काम नगरेकोमा चर्को आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुग्दै गर्दा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका शीर्ष नेताहरूले नै सरकारको काम र प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि पोखिरहेका छन् ।
सभापति शेरबहादुर देउवाले भने पछिल्लो समय सरकारका विषयमा खासै टिप्पणी गर्दैनन् । उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरूङ आफैँ सरकारमा छन् । तर त्यसबाहेक पार्टीका पदाधिकारी र शीर्ष नेताहरूले सरकारको कामप्रति चित्त बुझाएका छैनन् ।
केही दिनयता प्रधानमन्त्री दाहालले गरेका भाषणमा सरकारले धेरै राम्रा कामहरू गरेको, तर समाजमा नकारात्मक सोच बढी फैलिएका कारण नदेखिएको दाबी छ । तर कांग्रेस महामन्त्री गगन थापाले भने प्रधानमन्त्रीको एक वर्षे कार्यकाललाई १० अंक मात्रै दिन सकिने बताउँदै आएका छन् ।
पार्टीका संस्थापन इत्तर समूहका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा नेताहरू प्रदीप पौडेल, नैनसिंह महर लगायतले निरन्तर सरकारका काम चित्तबुझ्दो नभएको भन्दै आएका छन् । प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैली चित्तबुझ्दो नभएको र परिणाम समेत दिन नसकेको उनीहरूको निष्कर्ष छ ।
हाल देशैभरि पार्टीका सम्मेलन गरिरहेको कांग्रेसका जिल्ला र प्रदेशका ठूलठूला सभा र सम्मेलनहरूमा नेताहरूले सरकारको आलोचना गरेका छन् । शनिबार काठमाडौंमा भएको कांग्रेस बागमती प्रदेशको सम्मेलनमा पनि नेताहरूले त्यस्तै आक्रोस पोखे ।
संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्ने बाहनामा महत्वपूर्ण कानूनहरू नै बनाउन नचाहेको नेताहरूको आरोप छ । यतिसम्म कि दुई महिनाभित्र त्यस्ता महत्वपूर्ण कानूनहरू पास गरेर प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेराउ गर्ने कांग्रेसको चेतावनी छ ।
सभापति देउवाले बेलैमा सम्बोधन गरेर बाहिरिएपछि बोलेका पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल लगायतले सरकारको चर्को आलोचना गरे भने कांग्रेस उपसभापति एवम् कानूनमन्त्री धनराज गुरुङ र प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशसरण महतले सरकारको बचाउ गरे ।
महामन्त्री शर्माले प्रधानमन्त्री र मन्त्रीहरू पार्टीका कार्यक्रम र भाषणमा मात्रै सीमित भएको बताए । ‘प्रधानमन्त्री र मन्त्रीजीहरू भाषण गरेर हिडेर मात्रै भएन । पार्टी कार्यालय र सभाहरूमा चर्को भाषण गरेरमात्रै केही हुदैन,’ शर्माले अघि भने, ‘तपाईहरू जहाँ हुनुपर्ने हो, त्यहाँ भइदिनुस् । मन्त्रालयमा बसेर काम गर्नुस् । देशमा समस्या छ, समाधान गर्ने ठाउँहरू तपाईहरू हुनुहुन्छ । तपाईहरू नै मञ्चमा उभिएर देश संकटमा छ भनेको सुहाउँदैन ।’
उनले अहिले कांग्रेस पूर्णरुपमा सरकारमा नभएको, र कांग्रेसका केही प्रतिनिधिहरू मात्रै सरकारमा सहभागी भएको दाबी गरे । ‘अहिले कांग्रेस सरकारमा छ । तर यो सरकार कांग्रेसको होइन । हाम्रो पार्टीका केही साथीहरू प्रतिनिधिकारुपमा मात्रै सरकारमा सहभागी हुनुभएको हो,’ उनले भने, ‘सिंगो पार्टी सरकारमा गएको होइन, सरकारले गरेका गलत कामको भारी कांग्रेसलाई बोकाउन मिल्दैन ।’
नेता कोइरालाले त प्रधानमन्त्री दाहालले काम गर्न नसकेको, अब पनि नसच्चिए कुर्सी छोड्नुपर्ने भन्दै आएका छन् । ‘सरकारले ठीक ढंगले काम गर्न सकेको छैन । सरकार सच्चिन जरुरी छ । यदि नसच्चिने हो भने प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्छ, अर्को सरकारले ठीक ढंगले काम गर्छ,’ कोइरालाको भनाइ छ ।
उनले सरकारले कानून बनाएर प्रदेशलाई अधिकार दिने विषयमा कञ्जुस्याँई गरेको आरोप लगाए । प्रदेशलाई तत्काल कानून बनाएर अधिकार नदिए कांग्रेसले फागुनमा हुने महासमिति बैठकबाट निर्णय गरेर सिंहदरबार घेर्ने उनको उद्घोष छ ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सरकारको चर्को आलोचना गरे । ‘प्रधानमन्त्री र मन्त्रीहरू देश ठीकठाक चलिरहेको छ भनेर भाषण गर्दै हिड्नुहुन्छ । वास्तवमा यसको कुनै अर्थ छैन,’ उनले भने, ‘देश ठीक ठाक चलिरहेको छैन । यदि त्यस्तो भएको भए तपाईहरूले ठीकठाक भन्नुपर्ने थिएन, जनता आफैँले भनिहाल्थे ।’
उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पनि काम गर्न नसकेको आरोप लगाए । ‘मन्त्रीजीहरू यहाँ आएर हामीलाई अफ्ठ्यारो छ भनेर सुनाउनुपर्दैन, मन्त्रालयमा बसेर काम गर्नुंस् । मलाई फोन गरेर यस्ता यस्ता राम्रा कामहरू गरेको छु भन्नुस् । म तपाईको प्रशंसा गरेर देश डुल्छु । जनतालाई सुनाउँछु । तर अहिलेसम्म पनि मैले कसैको प्रशंसा गर्न पाएको छैन ।’
पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सरकारले कानूनहरू बनाउन ढिला गर्दा समस्या उत्पन्न भएको बताए । ‘सरकारले पहिल्यै बनाइसक्नुपर्ने कानूनहरू अहिलेसम्म पनि बनेका छैनन् । त्यहीकारण प्रदेशले अधिकार पाएको छैन,’ उनले भने, ‘जतिसक्दो छिटो प्रदेशको अधिकारसम्बन्धी कानूनहरू निर्माण हुनु आवश्यक छ ।’
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा मंगलबार जनताका नाममा सम्बोधन गर्दैछन् । केही दिनयता प्रधानमन्त्री दाहालले गरेका भाषणमा सरकारले धेरै राम्रा कामहरू गरेको, तर समाजमा नकारात्मक सोच बढी फैलिएका कारण नदेखिएको दाबी छ ।
तर कांग्रेस महामन्त्री गगन थापाले भने प्रधानमन्त्रीको एक वर्षे कार्यकाललाई १० अंक मात्रै दिन सकिने बताउँदै आएका छन् । ‘यो सरकारले काम गर्न सकेन । प्रधानमन्त्रीले नतिजा दिन सक्नुभएको छैन,’ थापाले केही दिनअघि एक कार्यक्रममा भनेका थिए, ‘म १०० पूर्णांङ्कमा प्रधानमन्त्रीको एक वर्षे कायकाललाई मूल्यांकन गर्दा १० अंक मात्रै दिन्छु ।’
नेता कोइरालाले त प्रधानमन्त्री दाहालले काम गर्न नसकेको, अब पनि नसच्चिए कुर्सी छोड्नुपर्ने भन्दै आएका छन् । ‘सरकारले ठीक ढंगले काम गर्न सकेको छैन । सरकार सच्चिन जरुरी छ । यदि नसच्चिने हो भने प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्छ, अर्को सरकारले ठीक ढंगले काम गर्छ,’ कोइरालाको भनाइ छ । प्रधानमन्त्री दाहाल ०७९ को पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । तर कांग्रेसबाट भने १७ चैतमा मात्रै मन्त्रीहरू सरकारमा सहभागी भएका थिए ।



