काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता काठमाडौं रेजर्स प्लेअफमा प्रवेश गरेको छ ।
शनिबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो । काठमाडौंका लागि पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको काठमाडौंले प्ले अफमा स्थान बनाउँदा हारका बाबजुद ललितपुर पनि प्ले अफमा पुगेको छ । ललितपुर, झापा, र बुटवलको समान १०÷१० अंक भएपनि हेड टु हेडमा ललितपुर अघि रह्यो ।
पोखरा थन्डर्स १४ अंकसहित लिगको शीर्षस्थान तथा धनगढी १३ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाउन सफल भइसकेका छन् ।



