विराटनगर, मंसिर १९ गते । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका ८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पशुपंक्षी मुद्दामा जिल्ला अदालत झापाको मिति २०७८।०९।२२ गतेको फैसलाले ४ महिना ११ दिन कैद भई फरार रहेका दमक- ३ का ३६ वर्षीय खगेन्द्र दुलाल, सोही मुद्दामा मिति २०७९।१२।३० गतेको फैसलाले जनही ११ महिना १० दिन कैद फैसला भई फरार रहेको अर्जुनधारा- ७ का ३० बर्षीय बिर बहादुर दनुवार र अर्जुनधारा- ५ का २१ बर्षीय भोटे भन्ने इमोन तामाङ्लाई पक्राउ गरेको हो ।
त्यसैगरी डाँका मुद्दामा मोरङ जिल्ला अदालतको २०७९।०१ ।०४ गतेको फैसलाले कैद २ महिना ६ दिन र नगद ३ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका केरावारी- ६ का २१ वर्षीय रोजिस राई, कुटपिट अंगभंग मुद्दामा २०७८।०९।२० गतेको फैसलाले नगद १० हजार रुपैयाँ, कैद ७ दिन भएका २३ वर्षीय विकास मुकारुम राई र जाल साझी घोषित मुद्दामा मिति २०७८।०९।१४ गतेको फैसलाले नगद ५ हजार रुपैयाँ जरिवाना भएका ५२ बर्षीय मदन अर्याललाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा नगद ६ हजार ५ सय जरिवाना र २ महिना ७ दिन कैंद तोकिएका कटहरी गाउँपालिका- १ का २८ बर्षीय करण श्रेष्ठ र सार्वजनिक मुद्दामा १८ सय रुपैयाँ जरिवाना तोकिएका ४५ बर्षीय भुपाल यादवलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाईएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जानकारी दिएकाे छ ।



