धरतीमा स्वर्ग कहाँ छ ? यो प्रश्नको जवाफमा उहिले नै एकजना युवा पत्रकारले रोचक जवाफ दिएका थिए । उनको जवाफ थियो, ‘धरतीको स्वर्ग कहाँ छ भन्ने मलाई थाहा छैन, कहाँ थियो भन्ने चाहिं मलाई थाहा छ ।’ यति भनेर उनले ठाउँ खुट्याउँदै भने, ‘धरतीको स्वर्ग काठमाडौं उपत्यका थियो ।’ साँचै हो, काठमाडौं उपत्यका स्वर्ग नै थियो । अहिले कंक्रिटको जंगल बनेको छ । एकछिनका लागि काठमाडौं उपत्यका कंक्रिटको जंगलरहित बनेको कल्पना गरौं ।
जताततै स्वच्छ बग्ने नदी, हरियो मैदान, जंगल नै जंगल, वरिपरि पहाड । अहँ, साँच्चै सुन्दर थियो यो काठमाडौं उपत्यका । उपत्यकाको माटो नै मल थियो । बुढापाकाहरू भन्थे, उपत्यकामा खेती गर्दा कुनै मल हाल्न पर्दैनथ्यो, यहाँको माटो नै मल थियो ।
त्यसै सांग्रिला भनेका होइनन् काठमाडौंलाई । काठमाडौंको प्राकृतिक स्वरुपलाई पनि बिर्सौं, सय वर्ष अघिको काठमाडौंको कल्पना गरौं । यसका लागि कल्पना पनि गर्न पर्दैन । सय वर्ष अघि काठमाडौं कस्तो थियो भन्ने प्रशस्त फोटो देख्न पाइन्छ । कलात्मक घरहरू, हरियो खेत, जताततै पवित्र र सुन्दर मन्दिरहरू । स्वर्ग नै थियो काठमाडौं । यो स्वर्गलाई नर्क बनाउने काम थालियो ००७ सालबाट ।
राणा शासन खत्तम भएर प्रजातन्त्र आयो । युग परिवर्तन भयो । नेपालमा नयाँ राजनीतिक व्यवस्था मात्र प्रवेश भएन, उपभोक्तावादी संस्कृतिले दह्रो खुट्टा टेक्यो । विज्ञान र प्रविधि ह्वात्तै बढ्यो, काठमाडौं पस्यो । काठमाडौंले प्राचीन स्वरुप गुमाउन थाल्यो । प्राचीन स्वरुप गुमाउँदै काठमाडौंले कस्तो स्वरुप धारण ग¥यो ? यो प्रश्नको जवाफ आज हाम्रा सामु छ ।
विश्वमा सबैभन्दा अव्यवस्थित सहर बनेको छ काठमाडौं । विश्वमा सर्वाधिक प्रदूषित मध्येको सहर मध्येको बनेको छ काठमाडौं । धत्, यो काठमाडौंको भौतिक स्वरुप मात्र नभएर आत्मिक स्वरुप पनि ध्वस्त भएको छ । काठमाडौं भनेको स्वार्थ, भ्रष्टाचार, अनाचार, दुराचार, निर्ममता र पापको सहर भएको छ । देवीदेवताको काठमाडौं उपत्यकालाई अपराधीहरूले ध्वस्त बनाएका छन् ।
काठमाडौं भित्रबाट पनि ध्वस्त भयो, बाहिरबाट पनि ध्वस्त भयो । कुनै युग थियो, काठमाडौं प्रवेश गर्दा धुपदीप र नैवेद्यको सुगन्ध आउँथ्यो, अहिले फोहोर गनाउँछ । काठमाडौं प्रवेश गर्दा फूल बर्सन्थ्यो, अहिले धुलो वर्र्षन्छ । सांस्कृति जात्रापर्वको थलो थियो काठमाडौं उपत्यका, अहिले राजनीतिक षडयन्त्रको केन्द्र बनेको छ । कठै काठमाडौं, काठमाडौंको विजोग भनिसाध्य छैन ।
यसको विजोग कति छ भन्ने हालै विम्स्टेक सम्मेलनका बेला देखियो । धरतीको स्वर्ग काठमाडौंको सुन्दरता विदेशीलाई देखाउन समेत नसक्ने हालतमा पुगेको छ । विम्स्टेकमा सहभागी हुन आएका विदेशी सरकार प्रमुख र राष्टाध्यक्षहरूलाई रिट्रिट गराउन पाँच तारे होटलको कम्पाउण्ड छान्नुप¥यो । यस्तो सम्मेलनका सहभागीहरूलाई आफ्नो देशको सुन्दरतम् ठाउँमा लगेर रिट्रिट दिइन्छ तर त्यसो गर्ने औकात समेत काठमाडौंको रहेन । किनभने हिलोले ढपक्क ढाकेको सडक पार गरेर पाहुनाहरूलाई टाढा लैजान नसकिने भयो रे ।
काठमाडौं भनेको ठाउँ मात्र होइन, प्रतीक समेत हो । देशको अव्यवस्थाको प्रतीक हो काठमाडौं । शासन सत्ताको विकृति र नालायकीको प्रतीक हो काठमाडौं । देशको शासन कस्तो छ भनेर प्रश्न सोधियो भने सिर्फ एक वाक्यमा जवाफ दिन सकिन्छ । जवाफ हो, ‘देशको शासन काठमाडौं जस्तो छ ।’



