काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य दिपेश खत्रीले एनआरएनएको जारी महाधिवेशन र निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन् ।
२०८० कार्तिक १ गते बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कुन एनआरएनए वैधानिक हो भन्ने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले अहिलेको निर्वाचन रोकिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘परराष्ट्र मन्त्रालयले यो चुनाव रोकिदेओस् । किनकी यहाँ बिचमा धेरै चिज गलत भएको रहेछ । दुईवटा एनआरएनए हुनुहुँदैन भनेर प्रधानमन्त्रीले चार महिनाअघि नै भन्नुभएको रहेछ । त्यो भएन ।’
परराष्ट्र मन्त्रालयले पनि यस विषयलाई गम्भीरताको साथ लिएर निर्वाचन रोक्नुपर्ने उनको भनाइ छ । एनआरएनएको अहिलेको महाधिवेशनमा उम्मेदवार बनेकाहरुले हामी मिलिसक्यौं, विवाद छैन भनेर प्रधानमन्त्रीलाई समेत ढाँटेको उनको आरोप छ ।



