काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतम आफ्नै उपसचिवका अगाडि निरीहजस्तै देखिएका छन् । ट्रेडमार्क शाखाका निर्देशक तथा उपसचिव मनोज रेग्मी, अनुमति शाखाका निर्देशक हरि पँगेनीले महानिर्देशक गौतमलाई गुमराहमा राख्दै आएका छन् । उनीहरुको इशारामा मात्रै विभागमा काम हुने गरेको भुक्तभोगीहरुको आरोप छ ।
कानुन शाखाका उपसचवि दीपक घिमिरेले पनि गौतमलाई साथ लिन सफल भएका छन् । कानून शाखाले ट्रेडमार्कका उजुरी लिने र इजलास तोक्ने काम गर्दै आएको छ । उक्त उजुरीहरुमाथि महानिर्देशक गौतमले निर्णय दिने गर्दछन् । घिमिरेले सेटिङका मुद्दा मात्रै छानिछानी पेशीमा चढाउने गरेको र त्यसैलाई महानिर्देशक गौतमले आदेश दिने गरेका छन् । शाखामा सयौं मुद्दा हुँदाहुँदै पनि छानिछानी पेशी चढाउने र निर्णय गर्ने गरेको आरोप छ । सेटिङका मुद्दालाई मात्रै प्राथमिकता दिन गरेका गौतमले स्वार्थ नजोडिएका मुद्दालाई पेशीमै राख्ने गरेका छैनन् ।
आर्थिक चलखेलका आधारमा गौतम र घिमिरेले मुद्दा पेशीमा चढाउँदै छिनोफानो गर्दै आएको आरोप छ । स्रोतका अनुसार, कतिपय उजुरीमा तोकादेशकै भरमा अन्तरिम आदेश दिने गरिएको छ । पेशीमा मुद्दा चढाउने, एकतर्फी बहस भएको आदेशमा लेख्ने र अन्तरकालीन आदेश दिनेसम्मका काम भएका कारण मुद्दामा चरम विकृति देखिएको स्रोतको दावी छ । ट्रेडमार्कसम्बन्धी मुद्दाका सेटिङमा घिमिरे र गौतमको राम्रै मिलीभगत रहेको र सो गुटसँग नजोडिएकाहरुको मुद्दाको पेशी नै नचढ्ने र चढाए पनि अनेक बहानामा सार्ने गरिएको छ ।
त्यसैगरी केही दिनअघि मात्रै घरेलु शाखाको १५ करोडसम्मको उद्योग दर्ता गर्ने अधिकार खोसेर अनुमति शाखाका पँगेनीलाई महानिर्देशक गौतमले दिलाएका छन् । घरेलु शाखालाई दुई करोड पुँजी भएका उद्योग दर्ता गर्ने अधिकार दिएर सो भन्दा माथिका अधिकार पँगेनीलाई दिनुले त्यहाँ राम्रै सेटिङ भएको स्पष्ट देखिन्छ ।
त्यसैगरी ट्रेडमार्क शाखाका निर्देशक मनोज रेग्मीले विभागभित्रका महत्वपूर्ण कामको सेटिङ मिलाउने गरेको आरोप छ । उद्योगमन्त्री रमेश रिजालका निजी सचिव मातृका आचार्यको निगाहमा विभाग पुगेका रेग्मीले महानिर्देशक हैसियत देखाउँदा सेवाग्राही मर्कामा परेको गुनासो छ । (साँघु साप्ताहिक, २०८० असोज १५)



